
११ जेठ, पोखरा । गण्डकी प्रदेशसभामा बजेट अधिवेशनको पहिलो बैठकमा नेपाल भारत सीमा विवादले स्थान पाएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण सामाजिक दुरी कायम गर्न पोखरा सभागृहमा बजेट अधिवेशन बोलाइएको थियो । पहिलो दिन बोल्ने नेताहरूले अबको बजेट कोरोना केन्द्रित ल्याउनुपर्नेदेखि सीमा विवाद समाधान गर्नुपर्नेसम्मका कुरा उठाएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भारतले त्यति धेरै सडक खनिसक्दा पनि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाइन भनेर बस्नु हास्यास्पद भएको बताए । नेपाली भूमि बचाउनु अहिले चुनौतीपूर्ण भएको उनको भनाइ थियो ।
समाजवादी पार्टीका हरिशरण आचार्यले ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे’ भन्ने अवस्था आइरहेको बताए । सरकारले जुनसुकै ढंगबाट भए पनि नेपाली भूमि फिर्ता गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले नेपाली भूमि रक्षाका लागि लाग्न सरकारलाई आग्रह गरे ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको बजेट कोभिड-१९ विशेष हुने बताउँदै सरकारले त्यसका लागि गरेका काम र सीमा विवादसम्बन्धी विषयलाई जोड दिएका छन् । सीमा विवादमा अहिलेसम्म कसैले नगरेको आँट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको उनले जिकिर गरे ।
भारतले आफ्नो स्वार्थ पूरा नहुँदा सधैं नेपालमाथि कहिले नाकाबन्दी त कहिले हेपाहा प्रवृत्ति देखाउँदा अहिलेसम्म कुनै प्रधानमन्त्रीले बोल्न नसकेको तर केपी ओलीले मात्र त्यो हिम्मत गरेको मुख्यमन्त्रीको भनाइ थियो । यस्तो छ, गुरुङले दिएको जवाफः
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, प्रजा परिषद्को स्थापना कालदेखि नै नेपाल र भारतकोबीचमा असमान सन्धि छ । भारतले हामीलाई अन्याय गरेको छ, अतिक्रमण गरेको छ, हेपेको छ भन्ने कुरा उठ्दै आएको हो । प्रतिपक्षमा हुँदा सडकको नारा र सत्तामा हुँदा चुनावी नारा बन्दै आएको छ अहिलेसम्म ।
ल्याण्डलक मुलुकले पाउनुपर्ने ट्रेण्ड एण्ड ट्रान्जेक्सनका लागि अर्को मुलुकसँग पनि हुन सक्छ भनेर बोल्न हामीले आँटै गरेनौं । चीनसँग सम्झौता गर्यौं भने भारत रिसाउँछ भनेर चुप लागेर बस्यौं । कम्युनिस्टको नारा लगाउनेले गरेन, कांग्रेसलाई त हामीले इतिहासदेखि भन्दै आएका छौं । राप्रपा पनि अहिले राष्ट्रवादी पार्टी भन्छ, त्यसले पनि गरेको केही होइन । सत्य त यही हो नि ।
जुनबेला केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो अघिल्लो पटक, भारतले नाकाबन्दी लगायो । बारम्बारको नाकाबन्दी हामीले कहिल्यै हेक्का गरेका छौं ? २०२८ सालमा म ६ कि ७ कक्षामा पढ्थें । हाम्रो हेडसरले भन्नुहुन्थ्यो– भारतले नाकाबन्दी लगायो बाबु । त्यो बेला नाकाबन्दी भनेको के हो थाहै थिएन । नुन तेल आउन नदिने रे भनियो । त्यो नुन तेल आउन नदिनुको कारण के रहेछ ? ०२६ सालमा कीर्तिनिधि बिष्टले राजा महेन्द्रसँग भने, ‘महाराज एउटा काम गर्छु म।’
नेपालमा जावलाखेलमा भएको हेडक्वार्टर र उत्तरी सिमानामा भएको भारतीय चेक पोस्टहरू सबै हटाउँछु । महेन्द्रले भने, सक्छन् ? उनले गरेर त हेरम महाराज भने । उसले त्यो भनेको के थियो भने राजा महाराजा पनि इन्डियाको कंग्रेस सरकारसँग केही न केही कुरा लेनदेन चाहन्थे । पहिलो पटक कीर्तिनिधि बिष्टले हटाए । त्यो बेला नहटाएको एउटा रहेछ कालापानीको नाका ।
१९६२ को चाइना र भारतको लडाइँपछि राजा महेन्द्रले गर्दा नहटाएको कालापानीको चेकपोस्ट रहेछ । त्यो त्रिदेशीय बोर्डर थियो। सैनिक चेकपोस्टहरू हटाएको रिसमा २०२८ सालमा भारतले नाकाबन्दी लगायो ।
०४५ सालमा राजीव गान्धी र वीरेन्द्रको कुरा मिलेन । हामीहरू सात कम्युनिस्ट दलको बाम मोर्चा र कांग्रेस पञ्चायतलाई लडाउने लडाइँमा थियो । त्यहीबेला वीरेन्द्रसँग कुरा मिलेन । हामीलाई स्वादै पर्यो, भारतले साथ दिएका कारण निरकुंश पञ्चायत फाल्न सक्यौं । चाक्सीबारीमा भारतीय नेताहरू आएर भाषण गरेका होइनन् ? त्योचाहिँ राजा महेन्द्रलाई देखाउन राजीव गान्धीले खेलेको कार्ड थियो । हाम्रो सार्वभौम हिसाबले हेर्ने हो भने नेपालको पोलिटिक्समा भारतीयलाई सिधै प्रवेश गराएको विषय हो, यो । तर, राजीव गान्धी र वीरेन्द्रको कुरा नमिल्दा ०४५ सालको नाकाबन्दी भयो ।
इन्डियाले भनेको नमान्नेबित्तिकै उसको स्वार्थमा नलागेर अडिनेबित्तिकै, थोरै भए पनि माटो, देश, भूगोलको माया मानेर केही न केही गर्नेबित्तिकै नाकाबन्दीको लाटो जहिले पनि लगाउन खोज्यो ।
२०७२ सालमा नाकाबन्दी किन लगाएको ? के हामी सबैलाई थाहा छैन । तराईंले चाहिँ इन्डियाले जे भन्यो त्यही संविधान बनाउनुपर्ने या तराईका पार्टीलाई इन्डियाले डिक्टेक गरिएको थियो । तराईंका पार्टी नमिलेसम्म, सहमति नभएसम्म संविधान नबनाउने भन्ने कुरा होइन ? त्यतिखेर ठूला दलहरूले यो कुरालाई नमानीकन संविधान बनाउने कुरा ठूलो थियो । ८५ प्रतिशत सांसदको समर्थनमा संविधान बन्यो । ए ! हामीले भनेको नमान्ने भनेर नाकाबन्दी लगाएको होइन भारतले ?
त्यो नाकाबन्दीको सामना गर्यौं हामीले । पछि उसैले स्वीकार गरेर खोल्नुपर्यो । यो भूमिका किन बाँध्नु परेको भने आज पनि सायद केपी ओली भाग्यमानी छन् । बाँचेर आए । सायद आज हराएको सिमाना हाम्रो नेपालमा ल्याउन रहेछ, त्यो अवसर उहाँलाई मिल्यो ।
नेपालमा अहिलेसम्म कतिजना प्रधानमन्त्री भा’छन् । भीमसेन थापाभन्दा पछाडि गन्नुस् त ३८/३९ जना पुगिसके । गिरिजाप्रसाद कति पटक प्रधानमन्त्री भए ? शेरबहादुर देउवा कति पटक भए ? सूर्यबहादुर थापा, मनमोहन, प्रचण्ड, माधवकुमार, झलनाथ, बाबुराम प्रधानमन्त्री भए । हामीसँग हिसाबकिताब छ नि । तर, बिरालोको घाँटीमा घण्टी झुण्ड्याउन त माननीय केपी शर्मा ओली नै हो नि । यो कसैले लुकाएर लुकाउन मिल्छ र ? आफूले केही नगर्ने अरूले गर्दाचाहिँ कुरो काट्नेचाहिँ हुँदैन ।
नेपालका सपूत हुन्, केपी ओली । मेरो पार्टीको अध्यक्ष भनेर भनेको होइन । अहिले नेपाल सरकारको प्रधानमन्त्री भएर पनि भनेको होइन। इतिहासले बोलेको कुरा के हो, सत्य तथ्यचाहिँ के हो भन्ने बोलेको हुँ । इतिहासको यो जटिल अवस्थामा उहाँले आँट गर्नुभयो । भारतसँग उहाँले पौंठेजोरी खेल्ने हिम्मत गर्नुभयो । ठूला देशबाट जहिले पनि प्रताडित भएर, च्यापिएर बस्नुपर्या छ । हाम्रोजस्तो मुलकलाई मात्र होइन, यो डक्टिन त भुटानलाई पनि काम लाग्छ । सानो फुच्चे माल्दिभ्स वा बंगलादेशलाई पनि काम लाग्ने कुरा हो ।
हिजोदेखि राजा महेन्द्रले चलाउन दिएको, सबैले दिँदादिँदा भारतले मिचमाच गर्यो । हाम्रा कुनैपनि सरकारले बोल्ने हिम्मत गरेन । हाम्रो त नक्सामै राख्न छाडियो । उसैले भनेको मानेको भए ०४७ को संविधानमा पनि आउँदैन’थ्यो । ०७२ सालको संविधान पनि आउँदैन’थ्यो । हिजो हामी त्यो ठाउँतिर नपुग्या हो नि । त्यो ठाउँमा पुगेर हामीले भनेको भए पनि उसले हाम्रो कुरा सुन्थ्यो होला त नाकाबन्दी लगाउन छाडेर ? उसले हामीलाई बेलाबेला हेप्न छाडेको छ र ? त्यसकारण अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सय ३५ वर्गकिलोमिटर महाकाली, लिपुलेक लिम्पियाधुराको जग्गा हाम्रै हो भनेर हिम्मत गर्नुभएको छ।
लडाइँ त अझै लामो छ तर कूटनीतिक लडाइँ सुरु भएको छ, अब । राष्ट्रिय लडाइँ सुरु भयो । नेपालको इतिहासमै पहिलो पटक कालापानीबाट सेना हटाउनुपर्छ भन्नेदेखि आजसम्म सबै दल एक ठाउँमा आएका छन् ।
आफ्नो माटो बचाउन, सार्वभौमिक अखण्डताका लागि, स्वाधीनता र स्वतन्त्रताका लागि कोही कम्युनिस्ट, कोही कांग्रेस, कोही राप्रपा वा कोही समाजवादी नभनी सबै नेपाली बन्यौं । हाम्रो अभूतपूर्ण एकता कायम भएको छ, यसपालि । हिजो नाकाबन्दीका बेला पनि यस्तै एकता थियो । यो कायम राखौं । गण्डकी प्रदेश सभाबाट कुनैदिन सरकारको कामको स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुपर्छ ।
हामी चाहिँ ठूलाठूला राष्ट्रियताको कुरा गर्ने, देशभक्तिका कुराकानी गर्ने चुनावमा तर जंगबहादुर जति पनि देशभक्ति हुन नसक्ने । जंगबहादुर त दैवी शक्तिमा भरपर्ने प्रधानमन्त्री हुन् । विदेशी शक्तिमा भरपर्ने प्रधानमन्त्री हुन्। धेरै कुराले उनीचाहिँ नाजायज थिए होला, निरंकुश, तानाशाह थिए होला । तर, स्मरण गरौं न एकचोटि कम्पनी सरकारको बेलामा लखनउ बिद्रोह भयो । नेपालबाट १० हजार सेना गए । श्री ३ महाराज जंगबहादुरले पठाए ।
सेना पठाइदिएर लखनउ बिद्रोह सफल भएबापत अंग्रेज सरकारले भन्यो, ‘तँ के लिन चाहन्छस् ।’ मैले पढेको जंगबहादुर धेरै असर्फी लिन चाहन्थे । तर, अंग्रेजले थोरै असर्फी दिने भए । अरू के माग्छस् भन्दा सुगौली सन्धिमा गुमेको मेरो नयाँ मुलुक फिर्ता गर भन्यो । आजको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जंगबहादुरले फिर्ता गरेको बुझ्नुपर्छ हामीले । आफ्नै स्वार्थका लागि होस् तर ४ वटा नयाँ मुलुक त फिर्ता ल्याए नि । नयाँ मुलुक फिर्ता गराउने जंगबहादुर राष्ट्रवादी कि आजका नाराका हामी राष्ट्रवादी ?
अनि आज जंगे पिल्लर किन भनेको ? जंगबहादुरले गाडेको पिल्लर भएर जंगे पिल्लर भनिएको होला नि । होइन भने माधव पिल्लर भन्नुपर्ने, गिरिजा पिल्लर, महेन्द्र पिल्लर भन्नुपर्ने । हाम्रो सीमा बाँध्ने काम त कम्तीमा तिनको पालामा भएको रहेछ । अंग्रेजका ठूलो दलाल थिए उनी । तर, त्यो हुँदा पनि त्यति काम त गरेछन् नि उनले ।
इतिहासले जंगबहादुरलाई सम्झने माटोको सवालमा, कीर्तिनिधिलाई सम्झने स्वाधीनताको सवालमा, इतिहासले त्यसै प्रकारले केपी ओलीलाई सम्झनुपर्छ । यही सरकारलाई सम्झनुपर्छ ।
तस्वीरः युनिश गुरुङ/अनलाइनखबर
प्रतिक्रिया 4