
११ जेठ, विराटनगर । झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । तीमध्ये ३३ जना सीमावर्ती क्षेत्र झापाको कचनकवल गाउँपालिकाका हुन् । प्रदेश १ मा संक्रमितको संख्या ८७ छ ।
संक्रमितको यात्रा विवरण अध्ययन गर्दा अधिकांश भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेकाहरु छन् ।
झापा दुईजना संक्रमितबाहेक अन्य सबै संक्रमितहरु सीमा नाका बन्द हुँदा चोर बाटो हुँदै नेपाल प्रवेश गरेकाहरु हुन् । कचनकवल गाउँपालिका भारतबाट आएका २२३ मध्ये ३३ जनालाई कोरोना देखिएको थियो ।
मोरङमा संक्रमण पुष्टि भएका ४ जनाकै ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ । रतुवामाई नगरपालिकाका २ जना भारतबाट आएका हुन् । विराटनगर–६ कि महिला चोरबाटो हुँदै नेपाल प्रवेश गरेकी हुन् । विराटनगर १५ का सरसफाइ कर्मचारी भने भारत ओहोरदोहोर गरिरहने व्यक्ति रहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् ।
सुनसरीका एकजना संक्रमित २९ वैशाखमा दिल्लीबाट हिडेरै आएका थिए । उदयपुरको भुल्केमा पनि संक्रमणको स्रोत भारतबाटै आएका युवक भएको प्रदेश सरकारको निश्कर्ष छ ।
‘नाका बन्द छ । तर भारतीय सुरक्षाकर्मीेले नेपालीलाई पठाइदिन्छन्’ कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलम भन्छन् ‘नाकाबाटै ल्याएर हामी क्वारेन्टाइनमा राख्छौं ।’ उनी खुला सीमा भएका कारण भारतबाट आउनेहरुलाई रोक्न नसकिएको बताउँछन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली चोरबाटो हुँदै आउनेहरुबाट जोखिम बढेको बताउँछन् । ‘नाकामा पूर्ण कडाई गर्नुपर्छ’ उनी भन्छन् ‘चोरबाटोबाट आउँदा जोखिम हुन्छ, अब लिगल बाटोबाट भित्र्याएर क्वारेन्टाइनमा राख्नुपर्छ ।’
धनकुटाको स्रोत खुलेन
धनकुटाका संक्रमितको भने कोरोना संक्रमणको स्रोत खुलेको छैन । यहाँ पहिलो पटक ४ जेठमा नर्समा कोरोना देखिएको थियो । त्यसपछि परीक्षण गर्दा अन्य पाँच जनामा कोरोना देखिएको थियो ।
धनकुटा जिल्लाअस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्मा सेवाग्राहीबाट कोरोना सरेको हुनसक्ने बताउँछन् । ‘विज्ञ टोलीले अनुसन्धान गरिरहेको छ’ उनी भन्छन् ‘अहिले नै स्रोत खुलेको छैन ।’
स्वास्थ्यकर्मी नै संक्रमित भेटिएपछि बन्द भएको जिल्ला अस्पताल एक सातापछि आइतबारबाट सञ्चालन भएको छ । धनकुटा अस्पतालका स्वास्थ्यकर्मी हाल क्वारेन्टाइनमा छन् । यहाँ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गएको चिकित्सक टोलीले स्वास्थ्य सेवा दिन थालेको छ ।
एक हजार आठ सय भित्रिए
नाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि लुकेर भित्रिने क्रम रोकिएको छैन । भारतमा रेलसेवा सुरु भएसँगै एक हजार आठ सय ५६ जना प्रवेश गरेको प्रहरीको तथ्याङ्क छ । खुला सीमा भएका कारण प्रहरीको आँखा छलेर छिर्ने क्रम पनि रोकिएको छैन ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमन तिम्सिनाका अनुसार प्रदेश १ का चार जिल्लामा जेठमा मात्र भारतबाट एक हजार ८ सय ५६ जना भित्रिएका छन् । तीमध्ये ७१८ जना होल्डिङ एरियामा छन् । अन्यलाई भने क्वारेन्टाइनमा पठाइएको छ ।
नाकाबाट लुकिछिपी छिरे पनि गाउँमा आइपुगेपछि भने प्रहरीलाई जानकारी आउने इलाका प्रहरी कार्यालय रंगेली मोरङका इञ्चार्ज प्रहरी निरीक्षक लेखनाथ दाहल बताउँछन् । ‘लुकिछिपी भित्रिएकाहरु घर पुगे गाउँबाट जानकारी आइहाल्छ’ उनी भन्छन् ‘ट्राभल हिस्ट्री हेरेर क्वारेन्टाइनमा राख्छौं ।’
प्रतिक्रिया 4