Comments Add Comment

मेसीसहित ६ खेलाडीको भविष्य मात्र बार्सिलोनामा सुनिश्चित !

११ जेठ,  काठमाडौं । स्पेनको बार्सिलोना फुटबल क्लब विश्वमै चर्चित छ । यसको घरेलु मैदान नोउक्याम्पमा गएर खेल्नु धेरै खेलाडीको सपना हुन्छ । अहिले विश्वभर महामारीको रुपमा रहेको कोभिड- १९ ले गर्दा खेलकुद गतिविधि प्रभावित भइरहँदा स्पेनको ला लिगा स्थगित छ ।

कोरोना महामारीका कारण क्लबहरुको अवस्था पनि कमजोर छ । क्लबको आर्थिक अवस्थाको कारण अहिले टिमको पहिलो रोजाइका  धेरै खेलाडीहरु आउने समरमा बिक्रीमा रहने स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

अहिले नै कुन खेलाडीको भविष्य कस्तो हुने भन्नबारे यकीन भएको छैन तर क्लबका खेलाडीहरुले दिएको प्रतिक्रियाले यसबारेमा चर्चा बढेको छ ।

पछिल्लो पटक क्लेमेन्ट लेङलेटले पनि यसबारे बोलेका छन् । ‘फुटबलरको रुपमा भविष्य कस्तो हुन्छ कसैलाई थाहा छैन तर मलाई आशा छ म अर्को सिजन बार्सिलोनामा हुनेछु’ फ्रेन्च खेलाडी लेङलेटले आरएमसीसंग भनेका छन् ।

उनले यस सिजन बार्सिलोनाका लागि २९ खेल खेलेका छन् । तर यदि समरमा उपयुक्त अफर आए उनी पनि क्लब छाड्न सक्नेछन् ।

मार्काका अनुसार अहिले क्लबका कप्तान लिओनल मेसीसहित गोलकिपर मार्क टेर स्टेगन, डिफेण्डर जेरार्ड पिके अनि  एन्टोइन ग्रिजमन, फ्रेन्की डे जोङ र अन्स फाती मात्र अर्को सिजन बार्सिलोनामा रहने छन् ।

बार्सिलोनाले ल्याउन चाहेका खेलाडीहरु लाउटारो मार्टिनेज र मिरालेम पिजानिकलाई खरिद गर्नका लागि क्लबका जुनसुकै खेलाडी पनि ट्रान्सफर लिस्टमा रहन सक्ने मार्काले जनाएको छ ।

पछिल्लो समय मिडपिल्डर इभान राकिटिकले पनि आफू पनि क्लबमा रहन चाहेको बताएका थिए ।

सिनियर खेलाडीहरु राटिकिकसंग अर्टुरो भिडाल अनि जुनियर खेलाडी  जिन क्लेर टोडिबो,  ओसमान डेम्बेले, माउसा वेग र जुनियर फिर्पोलगायत खेलाडीहरु बिक्रीको लागि रहेको जनाइएको छ ।

हाल जर्मन क्लब साल्काबाट लोनमा खेलिरहेका तोडिबोले अर्को सिजन आफू साल्कामै रहन सक्ने बताएका थिए ।

उता अर्टुरो भिदालले भने आफू बार्सिलोनामा सेटल भएको र खुशी रहेको बताएका थिए ।

अब बार्सिलोनाका कुन खेलाडीको भविष्य के हुने भन्ने आउने दिनमै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment