Comments Add Comment

निर्जला एकादशी व्रतको रोचक कथा

हिन्दु पद्धतीमा एकादशी व्रत सबैभन्दा बढी प्रचलित व्रत मानिन्छ । वर्षमा चौबिस एकादशी आउँछ । यद्यपि सबै एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ ।

निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष भनिएको छ । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न मात्र होइन पानी सेवन गर्नु समेत बर्जित छ । त्यसैले त यसलाई निर्जला एकादशी भनिएको हो ।

के छ विधी ?

इच्छुक पुरुष वा महिला जो कोहीले यो व्रत लिन सक्छन् । शारीरिक समस्या भएकाहरु वा औषधि सेवन गरिरहेका, रोगी, सुत्केरी, गर्भवती वा बुढाबुढी बाहेकले निर्जला एकानशी व्रत बस्नु उपयुक्त हुन्छ । व्रत अवधीभर अन्न वा पानी सेवन गर्नु हुँदैन । विहान नुहाई–धुवाई गरेपछि शुद्ध भएर व्रत सुरु गर्नुपर्छ । व्रतमा पूजाआजा खासगरी भगवान विष्णको आरधाना गर्ने धार्मिक प्रचलन छ । जलपान निषेध भएपनि फलहार र दुध सेवन गर्न भने सकिन्छ । यस दिन पूजाआजा गर्दै दान दिएमा लाभ मिल्ने धार्मिक विश्वास छ ।

निर्जला एकादशी व्रत कथा

निर्जला एकादशी व्रतको पौराणिक महत्व र व्याख्या पनि कम रोचक छैन । जब सर्वज्ञ वेदव्यासले पान्डवका चार पुरुषार्थः धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराएका थिए । युधिष्ठिरले भने, ‘जनार्दन ज्येष्ठ मासको शुक्लपक्षमा जुन एकादशी पर्छ, कृपाय त्यसको वर्णन गर्नुहोस् ।’

भगवान श्रीकृष्णले भने, ‘हे राजन यसको वर्णन परम धर्मात्मा सत्यवती नन्दन व्यासजीले गर्नुहुन्छ । किनभने यी सम्पूर्ण शास्को तत्वज्ञान र वेद वेदांगमा पारंगत विद्वान उनै हुन् ।’

तब व्यासजीले भने, ‘कृष्ण पक्ष र शुक्ल पक्ष दुबै पक्षको एकादशीमा अन्न बर्जित छ । द्वादशीको दिन स्नान गरेर पवित्र भइसकेपछि फूलले भगवान केशवको पूजा गर्नुपर्छ । फेरी नित्य कर्म समाप्त गरेपछि ब्राम्हाणलाई भोजन गराई अन्तमा स्वयम्ले भोजन ग्रहण गर्नुपर्छ ।’

यो कुरा सुनेपछि भीमसेन बोले, ‘परम बुद्धिमान पितामह, मेरो उत्तम कुरा सुन्नुहोस् । राजा युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव, यी कसैले पनि एकादशीको कहिल्यै भोजन गर्दैनन् । साथजै मलाई पनि उनीहरुले भोजन नगर्नका लागि अनुरोध गर्छन् । तर, म भोक सहनै सक्दिन ।’

भीमसेनको कुरा सुनेर व्यासजीले भन्छन्, ‘यदि तिमीले नरकलाई दुषित सम्झन्छौं र स्वर्गलोकको प्राप्तिको अभिष्ट राख्छौं भने दुबै पक्षको एकादशीको दिन भोजन गर्नु उचित हुँदैन ।’

भीमसेनले भने, ‘महाबुद्धिमान पितामह, म तपाईंको सामुन्ने सत्य भन्छु । म त एक पटक भोजन गरेर पनि व्रत गर्न सक्दिन । तब उपवास गरेर म कसरी रहन सक्छु ? मेरो पेटमा वृक नामका अग्नि सधै प्रज्वलित रहन्छ । जब म धेरै खान्छु, तब मात्र यो शान्त रहन्छ । त्यसैले महामुनि, म पुरा वर्षभर केवल एक मात्र उपवास गर्न सक्छु । यस्तो कुन व्रत हुनसक्छ ? जसले कल्याण हुन्छ । म उक्त व्रतको यथोचित रुपमा पालना गर्छु ।’

व्यासजी भन्छन्, ‘भीम, ज्येष्ठ मासमा सूर्य वृष राशिमा होस् वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसमा यत्नपूर्वक निर्जल व्रत गर । केवल कुल्ला वा अचमन गर्नका लागि मुखमा पानी हाल्न सक्छौं । त्यसबाहेक कुनैपनि प्रकारको जल मुखमा हाल्न उचित हुँदैन । अन्यथा व्रत भंग मानिन्छ ।’

एकादशीको सूर्योदयदेखि लिएर अर्को दिनको सूर्योदयसम्म मानिसले जल त्याग गर्नुपर्छ । त्यस अनुसार द्वादशीको प्रभातकालमा स्नान गरेर ब्राम्हाणलाई विधिपूर्वक जल वा सुवर्ण दान गर्नुपर्छ । यस प्रकार सबै कार्य पुरा गरेर जितेन्द्रिय पुरुष ब्राम्हाणका साथ भोजन गर्न सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment