Comments Add Comment

रंगभेदविरुद्ध अमेरिकाभर प्रदर्शन, २५ भन्दा बढी सहरमा कर्फ्यु

१८ जेठ, काठमाडौं । प्रहरी अधिकारीबाट कालाजातिका एक व्यक्ति मारिएपछि शुरु भएको आन्दोलन अहिले अमेरिकाभर फैलिएको छ । मिनिसोटाको मिनेपोलिसमा भएको यो घटनापछि अहिले अमेरिकाका कम्तीमा ३० सहरमा आन्दोलन भड्किएको छ ।

आइतबार बिहानैदेखि यी सहरमा आन्दोलन भइरहेको छ । आन्दोलनका कारण अमेरिकाका १६ राज्यको २५ भन्दा बढी सहरमा कफ्र्यु घोषणा गरिएको छ ।

कर्फ्यु घोषणा गरिए पनि प्रदर्शनकारीले भने कर्फ्यु उल्लंघन गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनको क्रममा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्ने, पसल तोडफोड गर्ने, प्रहरीको गाडी आगजनी गर्नेजस्ता गतिविधि गरेका छन् ।

कर्फ्युको उल्लंघन गरी आन्दोलनमा उत्रिएका ७० जनालाई एटलान्टा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । अमेरिकाको सेटलमा शनिबार प्रदर्शन गर्ने २७ जना पक्राउ परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई शान्त रहन आग्रह गरेका छन् ।

मिनेपोलिसमा भएको उक्त घटनामा एक प्रहरी अधिकारीले जर्ज फ्लोयड नामका ४६ वर्षीय व्यक्तिको गर्धनमा लामो समयसम्म घुँडाले थिचेका थिए । जसको कारण सास फेर्न नसकी उनको मृत्यु भएको थियो । समाचारमा बताइएअनुसार फ्लोयडले एउटा पसलमा २० डलरको नक्कली नोटको कारोबार गरेका थिए।

उक्त नोट नक्कली भएको थाहा पाएपछि व्यापारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी उक्त स्थानमा आएपछि फ्लोयडलाई प्रहरीले भ्यानमा राख्न खोज्दा उनी भुइँमा आफैँ सुतेको प्रहरीको दाबी छ । त्यसपछिको कारबाहीमा प्रहरी अधिकारीले उनको गर्धनमा थिचेका थिए । घटनास्थलमा रहेका अन्य तीन प्रहरी र फ्लोयडले ती प्रहरी अधिकारीलाई छाड्नको लागि अनुरोध गरेका थिए । तर, उनले मानेनन् ।

अहिले अमेरिकामा भइरहेको प्रदर्शनको क्रममा प्रदर्शनकारीले घटनास्थलमा उपस्थित सबैलाई मुद्धा चलाइनुपर्ने माग राखेका छन् । अहिले फ्लोयडको गर्धनमा थिच्ने डेरेक चौभिनलाई हत्याको आरोपमा मुद्दा चलाइएको छ । सोमबार उनलाई अदालतमा उपस्थित गराइनेछ ।

राष्ट्रपति ट्रम्पले मिनेपोलिसमा अहिले भड्किएको आन्दोलन नियन्त्रण गर्न नसकेको भन्दै मिनेपोलिसका मेयरको आलोचना पनि गरेका छन् । उनले आफूहरु हिंसा नभई न्यायको खोजीमा लाग्नुपर्ने भन्दै अहिले भड्किएको आन्दोलनको पनि विरोध गरेका छन् ।

स्रोत : बीबीसी, सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment