Comments Add Comment

रौतहटमा कोरोना संक्रमित बढ्दै, परीक्षणको दायरा घट्दै

१९ जेठ, रौतहट । रौतहटमा सोमबार कोभिड १९ (कोरोना) का १८ नयाँ संक्रमित थपिएका छन् । रौतहटको परोहा नगरपालिकाको क्वारेन्टिनमा रहेका १४ र यमुनामाई गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा संक्रमितको सँख्या २३३ पुगेको छ ।

रौतहटका १८ स्थानीय तह मध्ये गुजरा, चन्द्रपुर र फतुवा विजयपुरबाहेक अन्य १५ स्थानीय तहमा संक्रमित फेला परिसकेका छन् । रौतहटमा सबै भन्दा बढी राजपुर नगरपालिकामा ८३ जना संक्रमण पुष्टि भइसकेको छ भने इशनाथ नगरपालिकामा ६८ संक्रमित भेटिएका छन् । संक्रमण पुष्टि भएका सबै भारतबाट आएकाहरु छन् ।

इशनाथका १५ भन्दा बढी क्वारेन्टाइनमा १ हजार ८ सय भन्दा बढी व्यक्तिहरु बसेका छन् भने रौतहटको राजपुरको १९ क्वारेन्टिनमा ३ हजार ५ सय भन्दा बढी व्यक्ति छन् ।
रौतहटका विभिन्न क्वारेन्टिनमा ८ हजार ५९ व्यक्ति छन् । त्यसैगरी रौतहटमै निर्माण गरिएको आाइसोलेसनहरुमा २०२ जना छन् ।

पछिल्लो समय रौतहटमा संक्रमितको सँख्या निकै बढेको छ । संक्रमणको दर बढी रहँदा स्वाब परीक्षणको काम भने सुस्त छ । स्वाब संकलनका लागि आवश्यक भीटीएम नहुँदा परीक्षणको कामले गति लिन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

शनिबार र आइतबार गरी पाँच/पाँच सयका दरले एक हजार किट आएको जिल्ला जनस्वास्थ्यले जनाएको छ । संक्रमणको दर उच्च रहेकोले परीक्षणको दायरा ठूलो बनाउन र तीव्र रुपमा स्वाब संकलन कार्य अगाडि बढाउन प्रदेश तथा केन्द्रलाई ताकेता गर्दा पनि पार्याप्त किटहरु आउन नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

रौतहटका १ हजार ४९१ जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment