Comments Add Comment

विदेशबाट दैनिक २५ सय नेपालीको उद्धार गर्ने तयारी

२० जेठ, काठमाडौं । विदेशमा समस्यामा परेका नेपाली श्रमिक, विद्यार्थी र अन्य नागरिकलाई स्वदेश फर्काउन दैनिक १० वटासम्म उडान व्यवस्थापन गरिने भएको छ । त्यसो गर्दा कम्तीमा दिनमा २५ सय नागरिक विदेशबाट काठमाडौं उत्रिनेछन् ।

संसदमा उद्योग वाणिज्य आपूर्ति तथा श्रम तथा रोजगार समिति बैठकमा सरकारले यस्तो आँकडा पेश गरेको हो ।

समितिले तत्कालै नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया थाल्न र विभिन्न देशका विमानलाई नेपाली नागरिक ल्याउनका लागि उडान अनुमति दिन सरकारलाई निर्देश गरेको छ ।

श्रम गन्तव्य मुलुकबाट समस्यामा परेका कामदार स्वदेश ल्याउन जुन ५ बाट उडान थाल्ने तयारी थियो । सबैको विवरण संकलन गर्न बाँकी रहेकाले जुन ८/१० भित्रमा चार्टर उडान शुरु हुने समितिमा सरकारले जानकारी दिएको छ ।

विदेशमा रहेका नेपाली कामदार स्वदेश ल्याउँदा दैनिक १० वटा उडान व्यवस्थापन गर्नुपर्ने कुरा समितिमा आएको समितिका सदस्य एलपी साँवा लिम्बुले बताए ।

विमानस्थलमा उत्रिएपछि उनीहरुलाई प्रदेशगत रुपमा होल्डिङ सेन्टरमा राखेर क्वारेन्टाइनमा पठाइनेछ ।

आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न चाहनेलाई तोकिएका होटलमा पठाइने र अन्यलाई प्रदेशको समन्वय गर्ने मन्त्रीको संयोजनमा गाडीमार्फत आ–आफ्ना जिल्ला र स्थानीय तहमा पठाइने समितिमा श्रममन्त्री रामेश्वर रायले जानकारी गराएका छन् ।

उनीहरु सम्बन्धित स्थानीय तहमा गएर १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि पीसीआर परीक्षण गरेर घर पठाइनेछ । सरकारले बनाएका क्वारेन्टाइनमा बस्नेहरुको सबै व्यवस्था सरकारले नै गर्ने तर होटलमा बस्नेले आफ्नै खर्च गर्नुपर्ने सांसद लिम्बुले बताए ।

सरकारले तत्कालै कति नेपालीलाई विदेशबाट उद्धार गर्नुपर्ने भन्ने तथ्यांक संकलन गरिरहेको छ । यो संख्या ठूलै भए पनि श्रम गन्तव्य मुलुकहरुबाट भने अधिकांश कामदारको फिर्ता टिकट कम्पनीले नै दिने र सोही देशका विमान चार्टर गरेर पठाउने जानकारी प्राप्त भएको सांसद लिम्बुले जानकारी दिए ।

उनले भने ‘अधिकांश श्रम गन्तव्य मुलुकले नेपाली कामदारलाई उनीहरुकै विमानबाट ल्याइदिने सम्भावना छ । भिसा सकिएका र कम्पनीका काम नभएका कारण बेरोजागर बनेकालाई रिटर्न टिकट रोजागारदाताले नै दिन्छन् । केही अवैध ढंगले बसेका, भिजिट भिसामा गएकाहरुको मात्र नहुने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment