Comments Add Comment

पोखरामा एक हप्तामै दोब्बर महंगियो तरकारी

महानगर भन्छ : बुधबारबाट अब आयातमा सहज हुन्छ

फाइल तस्वीर

२० जेठ पोखरा । केही समयअघिसम्म पोखरेलीले गोलभेँडा ३० रुपैयाँ प्रति किलो किन्दै आएका थिए ।

तर, पोखरा महानगरले ‘कोरोना संक्रमण’ रोक्ने भन्दै जेठ १० गतेबाट बाहिरी जिल्लाबाट आयात हुने तरकारी ल्याउन बन्द गरिदियो । जसका कारण ११ गतेबाटै किलोको १ सय ४० रुपैयाँमा किन्न बाध्य भए ।

महानगरको कोरोना रोकथाम समितिले नै आधिकारिक निर्णय गरेर आयात हुने तरकारी बन्द गरेपछि त्यसको मारमा व्यवसायी त परे नै उपभोक्तासमेत नराम्ररी पिल्सिए । जेठ १५ गते पोखरा १५ मा धादिङबाट आएको ६ ट्रक तरकारी तथा फलफुल खाल्डामै गाडियो । यसबाट व्यवसायी झनै रुष्ट बने ।

यद्यपि पोखरा महानगरले भने आफूहरुले तरकारी तथा फलफुल खाल्डामा गाडेको स्वीकार्न तयार छैन । ‘हामीले त सकभर तराई र भारतबाट आउने तरकारी नल्याऊ भनेका हौं ।

खाल्डामै गाड्छौं भनेका होइनौं,’ पोखरा महानगरको कोरोना रोकथाम समितिका सदस्य सचिव किरण कोइरालाले अनलाइनखबरसँग भने, ‘कसले गाड्यो भन्ने हामीलाई नै थाहा छैन । सामाजिक सञ्जालमा आएपछि बल्ल थाहा पायौं ।’

बाहिरबाट आउने तरकारी तथा फलफूल रोकिएपछि पोखरामा तरकारीको मूल्य एकहप्ताको बीचमै अस्वभाविक ढंगले आकासिएको छ । पोखरा तरकारी तथा फलफूल व्यवसायी संघका सदस्य तथा पोखरा मन्डीका सञ्चालक दूर्गा कँडेल स्वीकार्छन्, ‘अर्थशास्त्रीय नियमले पनि जहाँ माग बढ्छ त्यहाँ मूल्य बढ्नु स्वभाविक हो । तर, केही व्यवसायीले मनोमानी गरे ।’

कँडेलले तरकारीको मूल्यमा एक हप्ताको बीचमै सयदेखि १ सय ३० प्रतिशतसम्म बढेको बताउँछन् । ‘बाहिरबाट आउन टोटल बन्द भयो । तर, बजारमा माग भइरह्यो । तर, महानगर हाम्रो अभिभावक हो । उसको निर्णय हामीले पालन गर्नैपथ्र्यो,’ उनले भने ।

पोखरा मन्डी सञ्चालक समितिका सदस्य दीपक श्रेष्ठ पनि व्यवसायीले आफैं तरकारीको मूल्य बढाएको बताए । ‘कृषकबाट खरिद मूल्य पनि उही छ । थोक मूल्य पनि उही छ । तर, तरकारी बजारसम्म पुग्दा विश्वासै नलाग्ने गरी मूल्य बढेको पाइयो,’ उनले भने, ‘आयात बन्दको कारण देखाउँदै फुटकर व्यवसायीले मनोमानी गरे ।’ फुटकर व्यवसायीले कालोबजारी गर्दा समग्र तरकारी तथा फलफूल व्यवसायीकै बेइज्जत भएको उनको आरोप छ ।

महानगरले सच्यायो निर्णय

पोखरा महानगरको कोरोना नियन्त्रण मूल समितिको जेठ १० गते बसेको बैठकले बाहिरबाट आयात हुने तरकारी तथा फलफुलबाट कोरोना संक्रमण फैलिने सम्भावना भएको भन्दै आयात बन्द गर्ने निर्णय गरेको थियो ।

महानगरको यो निर्णयपछि कृषक तथा व्यवसायीले मात्रै नभई चौतर्फी विरोध भयो । बाहिरी जिल्लाबाट ल्याउने तरकारी आयात बन्द गर्ने निर्णयबाट महानगर करिब १० दिनपछि फिर्ता भएको छ । तर, अझै पनि भारतबाट ल्याउने तरकारी बन्द गर्ने निर्णय भने सच्याएको छैन ।

‘हाम्रै देशका विभिन्न ठाउँबाट आउने तरकारीलाई भने उत्पत्ति ठाउँ र पु¥याउने ठाउँबारे स्पष्ट लेखिएको कागजात भयो भने ल्याउन दिने निर्णय गरेका छौं,’ पोेखरा महानगर कोरोना नियन्त्रण मूल समिति सदस्य सचिव किरण कोइरालाले भने, ‘अब बुधबारबाट तरकारी आयात सजिलो हुन्छ ।’

तरकारी व्यवसायी दीपक श्रेष्ठले पनि बुधबारबाट तरकारी निर्वाध आयात गर्न दिने महानगरसँग सहमति भएको सुनाए । ‘अब भोलिबाट तरकारी ल्याउन पाउने भएका छौं । हेरौं भोलिबाट कतिको समस्या हुन्छ,’ उनले भने । उनले तरकारी तथा फलफुल आयातमा समस्या नहुने भएपछि बजारमा अभाव पनि नहुने दाबी गरे ।

पोखरा तरकारी तथा फलफुल व्यवसायी समिति सदस्य दुर्गा कँडेलले बुधबारबाटै तरकारीको मूल्य घट्नेसमेत आश्वासन दिए । ‘आयातमा सहज भएपछि तरकारीको मूल्य पनि घट्छ । भोलिबाट ६० रुपैयाँमा पाउने तरकारीहरु ३० रुपैयाँमै पाउनुहुन्छ,’ उनले भने, ‘तर, यदाकदा फुटकर व्यवासायीमाथि भने निरन्तर अनुगमनको जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment