Comments Add Comment

६ महिनापछि सञ्चालनमा आयो भरतपुर अस्पतालको सिटीस्क्यान

२२ जेठ, चितवन । विगत ६ महिनादेखि बन्द रहेको भरतपुर अस्पतालको सिटीस्क्यान मेसिन सञ्चालनमा आएको छ । गत मंसिरबाट बिग्रीएको मेसिन मर्मतपछि बुधबारबाट सञ्चालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

अस्पतालकाे मेसिन बिग्रिएपछि सिटी स्क्यान गर्न बिरामीहरु महंगो शुल्क तिरेर निजी अस्पताल र ल्याबमा जानु पर्ने बाध्यता थियो । भरतपुर अस्पतालमा सिटीस्क्यान गर्दा तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्दछ भने, अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्दछ । भरतपुर अस्पतालमा दैनिक औसत १५ जनाले सिटीस्क्यान गराउँदै आएका थिए ।

बिमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका थिए भने बिमा सुविधा नलिएकाे तर सिटीस्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा सिफारिस हुने गरेका थिए । सिटीस्क्यान सञ्चालन नहुँदा अस्पतालमा न्यूरो सर्जरी सेवा रोकिएको थियो ।

सिटीस्क्यान सप्लाई गर्ने कम्पनीसँग अस्पतालले वार्षिक ५० लाख रूपैयाँ दिने गरी मर्मत सम्झौता गरेको तिवारीले बताए । ‘जुन कम्पनीले मेसिन सप्लाई गरेको थियो सोही कम्पनीलाई वार्षिक मर्मतको जिम्मा दिने गरी ठेक्का सम्झौता गरिसकेका छौं’ मेसु डा. तिवारीले भने, ‘हरेक महिनामा आएर मेसिन हेर्ने, सर्भिसिङ गर्ने र आवश्यक फिडब्याक दिने काम कम्पनीले नै गर्छ ।’

मेसिन किन्दा नै यस्तो सम्झौता गर्नुपर्नेमा सो नभएकोले यसपटक वार्षिक सम्झौता गरिएको उनले बताए । गत वर्ष पनि मेसिनमा समस्या आएकोमा कम्पनीले नै बनाएको उनले बताए । २०७४ जेठमा ६ करोड ४७ लाख रकम खर्चिएर खरिद गरेको उक्त मेसिन वारेन्टी समय सकिएको पाँच महिना पनि नपुग्दै बिग्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment