Comments Add Comment

रोकिएको एक दिनपछि नै पुनः सुरु भयो कोरोना बिमा

२३ जेठ, काठमाडौं । कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु भएको छ । सरकारसँग सहमति भएपछि  कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुन: सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।

बिमक संघका महासचिव चंकी क्षत्रीले सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना पुन: सुरु गर्ने सहमति भएको जानकारी दिए। कोरोना संक्रमितहरूको संख्या धेरै भएपछि बिमा कम्पनीहरूले बिहीबार कोरोना बिमा पोलिसी बन्द गर्ने घोषणा गरेका थिए ।

शुक्रबारदेखि लागुहुने गरी गरिएको सो घोषणापछि सरकारसँग वार्ता गर्दा सरकारले जोखिम वहनमा सहयोग गर्ने भनेपछि पुन: सुरु गरिएको बताइएको छ। ’दावी भुक्तानीमा सरकारले सपोर्ट गर्ने कुरा भएको छ भने नेपाल पुनर्बिमा कम्पनीले पुनर्बिमा गर्नेछ, अब पुरानै मोडलमा कोरोना बिमा हुन्छ’ महासचिव क्षत्रीले भने ।

कोरोना बिमा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश कार्यक्रम हो । बजेटमा समावेश कार्यक्रम नै बन्द भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यसमा चासो दिएका थिए ।

स्रोतका अनुसार अर्थमन्त्री खतिवडाले नै सरकारले पनि दायित्व वहन गर्ने भनेपछि बिमा समितिले कोरोना बिमा पुनः सुरु गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।

यो पनि पढ्नुहोस बजेटमै समेटिएको ‘कोरोना बिमा’ याेजना बन्द

नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड–१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन् ।

जसबापत १६ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको महासचिव क्षेत्रीले बताए । हालसम्म बिमा दाबी भने कसैको पनि परेको छैन । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो ।

बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ ।

सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ । बजेटमा प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बिमा कम्पनीहरू रुष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment