२३ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न माग गर्दै चार जिल्ला फुटबल संघका अध्यक्षले शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पत्र बुझाएका छन् ।
काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाले शेर्पालाई कारवाहीको माग गर्दै पत्र बुझाएका हुन् ।
भक्तपुरका अध्यक्ष सुजखु बाहेक बाँकी तीन जिल्ला अध्यक्षले त्रिपुरेश्वरको राखेप पुगेर तिम्सिनालाई पत्र बुझाएका हुन् । पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा अध्यन गर्ने बताउँदै एकीकृत ढंगले एन्फा चलोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।
एन्फा अध्यक्ष शेर्पाले केही समयअघि अनलाइन सञ्चार माध्यमसँगको अन्तर्वार्तामा मधेशका बालबालिकामा राष्ट्रियताको भावना कम हुने आशयको अभिव्यक्ति दिएका थिए । यस विषयमा कर्माछिरिङले माफी समेत मागिसकेका छन् ।
प्रतिक्रिया 4