Comments Add Comment

कता हरायो प्रयोगशाला स्थापना गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय ?

२५ जेठ, डोटी । गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका धनगढी, बैतडी र डोटीमा कोरोनाको परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गर्यो ।

प्रदेश सरकारको उक्त निर्णयको सामाजिक सञ्जाल र समाचारहरूमा प्रशंसा भयो । एउटा पनि प्रयोगशाला नभएको प्रदेशमा तीन/तीन ठाउँमा प्रयोगशाला स्थापना हुने भनेपछि प्रदेशवासीमा पनि खुसी छायो ।

धनगढीमा प्रयोगशाला स्थापना गर्ने भनी संघीय सरकारले यसअघि नै निर्णय गरिसकेको थियो । चैत्र १६ गते तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले धनगढीमा प्रयोगशाला स्थापना गर्नका लागि उपकरण आइसकेको र कर्मचारीहरू समेत खटाइसकिएको जानकारी दिएका थिए ।

सोहीअनुसार चैत्र २० गते धनगढीमा आरटी पीसीआर परीक्षण प्रयोगशाला सुरु भयो । चीनबाट ल्याइएको मेसिनले सुरु गरिएको उक्त प्रयोगशालामा दैनिक आठ जनाको मात्रै परीक्षण हुन थालेपछि चैत्र २६ गते केन्द्रीय पशु प्रयोगशालाको उपकरण ल्याई परीक्षण सुरु गरिएको छ । हाल धनगढी प्रयोगशालामा दैनिक अढाई सयको स्वाब परीक्षण भइरहेको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले जानकारी दिए ।

तर प्रदेशले गरेको प्रयोगशाला स्थापना गर्ने निर्णय दुई महिना १० दिन कट्दासम्म कार्यान्वयनमा आएन । प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न वैशाख पहिलो साता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रको नेतृत्वमा अनुगमन टोली डोटी, डडेल्धुरा र बैतडीमा पठाएको थियो । टोलीले तीनवटै अस्पतालको स्थलगत अध्ययन गरेको थियो ।

डोटी र बैतडीमा स्थापना गर्ने प्रयोगशालाका लागि उपकरण खरिद प्रक्रिया सुरु भइसकेको बताउँछन्, प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी । उनले भने ‘असार १० गतेभित्रै सबै उपकरणहरू आइपुग्ने गरी प्रक्रिया अगाडि बढिसकेको छ ।’ उनले प्रदेश निर्देशनालयले उपकरण दिने तर संरचनाहरू सम्बन्धित अस्पतालहरूले नै बनाउनु पर्ने बताए ।

‘हामी उपकरणहरू उपलव्ध गराउँछौं तर संरचना उहाँहरूले नै तयार गर्नुपर्यो,’ डा. अवस्थी भन्छन्, ‘प्रयोगशालामा चाहिने जनशक्ति पनि सम्बन्धित अस्पतालले नै तयार गर्नुपर्छ ।’

उनले त्यसका लागि बजेट चाहिए ‘अस्पताल सुधार कार्यक्रम’बाट माग गर्न सकिने बताए । सबै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र अवस्था पनि यस्तो भएका कारण केही ढिलाइ भएको डा. अवस्थी स्वीकार गर्छन् ।

डा. अवस्थीले दाबी गरेजस्तो असार १० गते नै उपकरण जिल्ला पुगे पनि तत्कालै प्रयोगशाला सञ्चालनमा आउने भने देखिँदैन । प्रयोगशालाका लागि तयार गर्नुपर्ने संरचना नभएको बताउँछन् बैतडी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्तराज जोशी । ‘प्रयोगशालाका लागि ‘नेगेटिभ प्रेसर रुम’ चाहिन्छ, त्यो हाम्रो अस्पतालमा तयार भएको छैन,’ डा जोशीले भने, ‘कुन खालको संरचना बनाउने भन्ने विषयमा प्रदेशबाटै प्राविधिक पठाउनुपर्ने हुन्छ ।’ उनले आगामी आर्थिक वर्षको कार्यक्रममा प्रयोगशाला स्थापनाका लागि आफूहरूले बजेट माग गरेको जानकारी दिए ।

यस्तै भनाइ डोटी जिल्ला अस्पतालका मेसु डा. ज्योति पाण्डेको पनि छ । असार १० गतेभित्र उपकरण आइपुग्ने विषयमा पनि आफूलाई आधिकारिक जानकारी नभएको डा. पाण्डेले बताइन् । उनले भनिन्, ‘त्यसो हो भने अब केही निर्देशन आउला नि ।’

अनुगमनमा आएको टोलीलाई अस्पतालको संरचना देखाउँदा संरचना पुग्छ भन्ने कुरा भएको बताउँदै डा. पाण्डेले भनिन् ‘तर हामीसँग जनशक्ति छैन ।’ उनले पनि प्रयोगशाला स्थापना आगामी वर्षको कार्यक्रममा राखिएको जानकारी दिइन् ।

डोटी र बैतडीका मेसुहरूको भनाइअनुसार यो आर्थिक वर्षभित्र प्रयोगशाला स्थापना हुँदैन नै आगामी आर्थिक वर्षको पहिलो चौमासिकमा पनि स्थापना भइहाल्ने लक्षण देखिँदैन ।

त्यसो त संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालमा पनि प्रयोगशाला स्थापना हुने लक्षण देखिएको छैन । ‘हामीले नयाँ भवनका लागि टेन्डर आह्वान गरेका छौं’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र बिष्ट भन्छन् ‘नयाँ भवन निर्माण भएपछि अन्य आवश्यक उपकरणका लागि माग गर्छौं ।’ उनले अस्पतालको अहिलेकै संरचनामा प्रयोगशाला स्थापना गर्ने सम्भावना नभएको बताए । उनी थप्छन् ‘यो आर्थिक वर्षमा त सम्भावना नै छैन ।’

प्रदेशभरि एउटा मात्रै प्रयोगशाला र प्रयोगशालामा एउटा मात्रै मेसिन भएका कारण विभिन्न जिल्लाबाट संकलनगरी पठाएको एक हजार एक सय ८६ जनाको स्वाब प्रयोगशालामै थन्किएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयलाई परिपत्रगरी आरटी पीसीआरका लागि पाँच दिनसम्म स्वाब संकलन नगर्न अनुरोध गरेको छ । परीक्षण गर्नु पर्ने स्वाब धेरै दिन थन्किने र धेरैदिन राख्दा स्वाब बिग्रिनसक्ने सम्भावना रहेकोले नयाँ स्वाव संकलन नगर्न परिपत्र गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment