
२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप दुई सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ । उनीहरूमध्ये १३ जनाको मृत्यु भएको छ भने चार सय ६७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा एक सय दुई जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
प्रदेश २ मा ८३ संक्रमित थपिए
विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा प्रदेश २ का ८३ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीमा ७४ जना, महोत्तरीमा ५ जना, सिराहामा दुई जना, धनुषामा र रौतहटमा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै प्रदेश २ मा संक्रमितको संख्या ११ सय ४९ पुगेको छ । उनीहरू मध्ये तीन सय दुई जना डिस्चार्ज भइसकेका छन् ।
गण्डकीमा कति थपिए ?
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
स्याङ्जामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय १३ पुगेको छ । उनीहरूमध्ये बागलुङका दुई र लमजुङका एक जना गरी तीन जना निको भएर घर फर्किएका छन् । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
रोल्पामा पनि भेटिए कोरोना संक्रमित
प्रदेश ५ मा ३६ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरूमध्ये २४ जना कपिलवस्तुका छन् । बाँकेका ३, नवलपरासी र दाङका २÷२ तथा बर्दिया र प्युठानमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
रोल्पामा पहिलो पटक तीनजनामा संक्रमण पुष्टि भएको छ । सुनिल स्मृति गाउँपालिकाको क्वारेन्टिनमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेश ५ का १२ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या एक हजार ९७ पुगेको छ । उनीहरूमध्ये एक सय २६ जना निको भएर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ ।
कर्णालीका ५४ जनाको रिपोर्ट पोजेटिभ
यस्तै, कर्णाली प्रदेशमा आइतबार थप ५४ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा सल्यानका २८, सुर्खेतका २०, दैलेख र कालीकोटका ३/३ जना छन् ।
योसँगै कर्णालीमा संक्रमितको संख्या छ सय ४१ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
प्रतिक्रिया 4