Comments Add Comment

सांसदहरुले भने – क्वारेन्टिनस्थल हिरासत, जेल र गोठजस्ता

प्रदेश सरकारलाई ‘बाँदरको पुच्छर’जस्तो बनाइयो

२५ जेठ, काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टिन स्थल व्यवस्थित बनाउन र परीक्षण बढाउन सरकारलाई आग्रह गरेका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले क्वारेन्टिन स्थल अव्यवस्थित भएको र समयमा पीसीआर विधिको परीक्षण नहुँदा समुदायमा कोरोना फैलिने जोखिम बढेको बताएका हुन् ।

नेकपाका सांसद खिमलाल भट्टराईले क्वारेन्टिन व्यवस्थित हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे । ‘क्वारेन्टिन व्यवस्थित हुन सकेको छैन, पुलिसका हिरासत, जेलजस्ता भए’, प्रमुख सचेतक भट्टराईले भने, ‘क्वारेन्टिन शौचालय, सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था, पीसीआर परीक्षण, मास्क, सेनिटाइजरयुक्त हुनुपर्छ ।’

नेकपाकै चक्रप्रसाद स्नेहीले सुदूरपश्चिममा आरडीटी विधिबाट जाँच गर्दा पाँच छ सय जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको भन्दै डडेलधुरा जिल्लामा भेन्टिलेटरको व्यवस्था गर्न माग गरे ।

आरडीटी विधिको विश्वसनीयता नदेखिएकाले पीसीआर विधिको परीक्षण बढाउन उनले ध्यानाकर्षण गराए ।

सांसद रामनारायण बिडारीले कोरोना महामारीका समयमा प्रदेश सरकारलाई ‘बाँदरको पुच्छर लौरो न हतियार’जस्तो बनाएको टिप्पणी गरे । ‘…टेक्न पनि नहुने, कुट्न पनि हुने । अनि त्यो पुच्छर विस्तारै लोप भयो भन्याजस्तै अहिलेको सरकारमध्ये प्रदेश सरकारलाई त्यस्तै बनाउन खोजिएको हो कि कसो हो ? यसको ठ्याक्कै जवाफ चाहियो’ उनले भने ।

प्रदेश सरकारलाई अहिलेजस्तै अधिकारविहीन राखिए लोप भएर जाने उनले टिप्पणी गरे । ‘प्रदेश सरकारलाई सक्रिय बनाउन सकिएन भने मलाई चिन्ता पर्यो संघीयतामा आँच आउने भो । सक्रियता चाहियो । नत्र उपयोगहीन अंग लोप हुन्छ’ बिडारीले भने ।

नेकपाकै सांसद जीवन बुढाले कोरोना महामारी नियन्त्रणमा तीन तहको सरकारबीच समन्वय हुन नसकेको बताए ।

‘क्वारेन्टिन र राहत वितरणमा स्थानीय तह खटिइरहेका छन् । तर, योजना निर्माणमा तीन तहको बीचमा कस्तो समन्वय भइरहेको छ ? कुनै गाउँपालिकाले आफ्नो नागरिक लैजान्छु भन्दा सीडीओले दिँदैन’ उनले भने ।

उनले नेपालमा कोरोनाको संक्रमण कतिसम्म पुग्न सक्ने सरकारको प्रक्षेपण छ भनी प्रश्न गर्दै त्यस अनुसार तयारीबारे पनि जानकारी माग गरे ।

‘तीन हजारमा पुग्दा त यो हालत छ, ५ लाख पुग्यो भने हालत के हुन्छ ? इटाली अमेरिका र भारत हेरेका छौं ?’ बुढाले प्रश्न गरे ।

नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले कोरोना फैलिए पनि सरकारले सामान्य रुपमा लिएको बताए । उनले सम्भावित संक्रमितलाई राख्न बनाइएको क्वारेन्टिन स्थल गाईगोठजस्तो भएको टिप्पणी गरे ।

कांग्रेस सांसद तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको हुँदा क्वारेन्टिनलाई व्यवस्थित गरी पीसीआर विधिको परीक्षण बढाउन माग गरिन् ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले कोरोनाबाट जनतालाई बचाउनका लागि पीसीआर विधिको परीक्षण बढाउन र क्वारेन्टिन स्थल व्यवस्थित बनाउन आग्रह गरे ।

समाजवादी पार्टीकी प्रमिला कुमारीले कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन क्वारेन्टिन व्यवस्थित गर्न माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment