Comments Add Comment

होटलमा क्वारेन्टिन सजिलो छैन, सरकारले सुनोस्

होटलमा बस्नेले पैसा तिरेन भने कसले जिम्मा लिने ?

अहिले सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारी गरेको छ । यसको थालनीसमेत भइसकेको छ । होटल व्यवसायीले सर्वप्रथम आफ्नै सक्रियतामा सरकारलाई सहयोगको वचन दिएका थिए । सोहीअनुसार क्वारेन्टिन बनाउने प्रयोजनका लागि होटल प्रयोग गर्ने निर्णय सरकारले गरिसकेको छ । व्यवसायीहरु होटल उपलब्ध गराउन उत्साहजनक रुपमा तयार छन् ।

प्रारम्भिक दिनमा स्तरीय होटलको प्रयोग क्वारेन्टिनका रुपमा गरिरहँदा होटलको अन्तर्राष्ट्रिय मापदण्ड घट्ने वा प्रभावित हुने हो कि भन्ने चिन्ता व्यवसायीमा थियो । सामान्य दालभात उपलब्ध गराउने र साँझ सुत्न पाए हुने जसरी होटलको प्रयोग गर्दा अन्तराष्ट्रिय मापदण्ड प्रभावित हुने चिन्ता होटल व्यवसायीमा थियो । किनकि होटल सञ्चालनका आफ्नै मापदण्ड हुन्छन् । हामीले त्यो मापदण्ड पालना गर्नैपर्छ ।

सरकारलाई ध्यानाकर्षण गराएका छौं

भोलि कोरोनापछि ती होटलमा विदेशी पाहुना राख्नुपर्छ । त्यसकारण व्यवसायीले आफ्नो स्तरभन्दा तल झरेर होटल दिन सक्दैनन् । यो मूल्यमा मात्र होइन, सेवा सुविधामा समेत लागु हुने विषय हो । हामीले होटलको स्तरमा अनुसार तोकिएको मापदण्डमा सेवा दिन्छौं । त्यसवापत न्यूनतम मूल्य कायम गरी दररेट कायम गरेका छौं । यसमा सहमति जुटेसँगै होटलहरु क्वारेन्टिनमा उपयोग गर्न लागिएको हो ।

आज हामीले होटल खोल्दा सबै कर्मचारीलाई फिर्ता बोलाउनु पर्नेछ । ती कर्मचारीले १४ दिन त काम पाउँछन्, त्यसपछि के गर्ने ? तत्काल पर्यटक आउने र विजनेश दिने अवस्था त छैन । अर्कोतर्फ तारे होटलहरुले एउटै म्याट्रेसको ७०–८० हजार–१ लाखसम्म लगानी गरेका हुन्छन् । भोलि पाहुनाले ‘म क्वारेन्टिनमा बसेका मान्छे सुतेको म्याट्रेसमा म सुत्दिनँ’ भन्यो भने त्यसको क्षतिपूर्ति कसले दिन्छ ? यी विषयमा समेत हामी कठिन परिस्थितिमा व्यापार भन्दा सेवा महत्वपूर्ण हो भन्ने मान्यताअनुसार सम्झौता गरेका छौं ।

सरकारले व्यवहारिक प्रस्ताव नल्याउँदा गाली व्यवसायीले खानुपर्छ । यो सामान्य अवस्था होइन । असामान्य अवस्थामा दिने सेवा सामान्य अवस्थामा जस्तो हुँदैन भन्ने बुझ्नु जरुरी हुन्छ । त्यसकारण भोलि समस्या नआओस भन्नेमा सरकार पनि गम्भीर हुनुपर्छ । होटल संघ नेपाल (हान) मा करीव १४ सय होटल सदस्य छन् । त्यसमध्ये कुल ५६ वटा होटल क्वारेन्टिनका लागि तयार भइसकेका छन् । खुसीको कुरा, यो सूचिमा ठूला र स्तरीय होटलसमेत सामेल छन् । चारतारे र तीन तारे स्तरका होटल क्वारेन्टिनका लागि तयार भएका छन् । यस्ता होटल पनि काठमाडौं केन्द्रित छैनन् । यो अर्को महत्वपूर्ण पक्ष हो ।

होटललाई क्वारेन्टिन बनाउने सन्दर्भ समाजको मानसिकता पनि महत्वपूर्ण हुन्छ । कतिपय स्थानीयवासीले होटललाई क्वारेन्टिन बनायो भने यहाँ व्यवसाय नै गर्न पाउँदैन भनेर भन्ने गरेको गुनासो व्यवसायीबाट सुनिछ । यो दवाव सरकारले स्थानीय स्तरबाटै सम्बोधन गर्नुपर्छ । होटलले आफ्नो नियमित जनशक्तिबाट क्वारेन्टिन व्यवस्थापन गर्न समेत सम्भव हुँदैन ।

उदाहरणका लागि क्वारेन्टिनमा सुरक्षा मुख्य विषय हो । यसमा प्रहरीको व्यवस्था सरकारले गर्नुपर्छ । आकस्मिक स्वास्थ्य समस्या र नियमित चेकजाँचका लागि स्वास्थ्यकर्मीको व्यवस्थापन पनि सरकारले गर्नुपर्छ, हामीले यसमा ध्यानाकर्षण गराएका छौं ।

अहिले नेपालबाट विदेश जाने हरेक यात्रुले क्वारेन्टिनमा बस्न लाग्ने शुल्क हवाई टिकट काट्ने समयमै तिरेका छन् । त्यसकारण हवाई यात्राको मूल्य बढी परेको गुनासो पनि सुनिन्छ । हाम्रोमा पनि यही मोडल अपनाउनुपर्छ । वा होटलमा ‘चेकइन’ गर्दाकै समयमा पैसा अग्रिम भुक्तानी हुनुपर्छ । १४ दिन होटलमा बसिसकेपछि मसँग पैसा छैन, जेसुकै गर भनेर कोही व्यक्तिले भन्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? त्यसकारण भोलि आउन सक्ने सम्भावित द्वन्द्व निवारणमा समेत सरकार सचेत हुनुपर्छ । हाम्रो प्रस्ताव व्यवसायी पनि नमरुन, बस्ने मानिसले पनि पूर्ण सुविधा पाउन् भन्नेमा केन्द्रित छ । व्यवसायी सबैभन्दा कम लागतमा होटल दिन तयार भएका छन्, सोहीकारण व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्छ ।

क्वारेन्टिनपछि के गर्ने ?

विदेशबाट आउने मानिस सीमित हुन्छन् । आएका पनि सबै होटलमा बस्ने हुँदैनन् । त्यसपछि हामी फेरि फुसर्दमा हुनेछौं । किनकी तत्काल अब विदेशी पर्यटक आउने सम्भावना छैन । नेपाल भित्र पनि आन्तरिक भ्रमण तत्काल सामान्य हुने अवस्था देखिँदैन । त्यसकारण होटल व्यवसायमाथि दीर्घकालसम्म संकट भने यथावत रहनेछ ।

भर्खरै बनेका होटलले ठूलो ऋण बोकेर बसेका छन् । पुराना होटलसँग ऋण छैन, तर कर्मचारीको सेवा सुविधामा उनीहरुले ठूलो लगानी गर्नुपर्छ । सरकारले बजेटबाट ५० अर्बको एउटा कोष खोल्ने र त्यसबाट ५ प्रतिशत ऋण लिएर कर्मचारीलाई तलव खुवाउने प्रस्ताव ल्याएको छ ।

दीर्घकालसम्म ऋण लिएर व्यवसायीले कति समयसम्म तलव खुवाउन सक्लान् ? हामीले लकडाउन हुनु अगाडि नै कर्मचारीलाई १२.५ प्रतिशत तलव दिएर कर्मचारीलाई घर बस्न भनेका छौं । कम्तिमा ६ महिना हामी व्यवसायबाट कमाउन सक्ने अवस्थामा रहँदैनौं । यो अवस्थामा होटल बन्द गर्नुको विकल्प हामीसँग रहने छैन ।

अबको केहीदिनमै हामी लकडाउनको तीन महिना अवधि पूरा गर्दैछौं । त्यसको एक महिना अगाडिबाटै अर्थतन्त्रका केही क्षेत्र प्रभावित भइसकेका थिए, त्यसमा एउटा क्षेत्र हो होटल । भ्रमण वर्ष २०२० को उत्साहजनक शुरुवातसँगै पर्यटक बढ्नेछन् र यो बेला केही न केही कमाइ हुन्छ भन्ने अपेक्षासहित व्यवसायीले भएभरको पैसा व्यवसायमा लगानी गरेका थिए । त्यसरी हालेको पैसाले संरचना खडा त भए, तर विजनेश प्रारम्भ हुन नपाउँदै संकटको सामना गर्नुपर्‍यो । थाहा छैन, यो अवस्था कतिसम्म धकेलिने हो ।

विकल्प सोच्न थाल्यौं

सशस्त्र द्वन्द्वको समय होस वा भूकम्पपछिको संकट, अहिलेजस्तो एकजना पनि पाहुना राख्न नसक्ने अवस्था यसअघि सिर्जना भएको थिएन । त्यसकारण हामी यसलाई महासंकट मान्छौं । सोही कारण होटल र पर्यटन व्यवसायीले समेत लामो समय बेरोजगार हुने अवस्थामा विकल्पका बारेमा सोच्न थालेका छौं ।

मसहित केही व्यवसायी मिलेर अहिले नेपालमै स्तरीय मास्क उत्पादन र वितरणमा हात हालेका छौं । हामी नेपाली उत्पादन प्रयोग गरी चीनबाट मास्क आयात गर्नुपर्ने अवस्था हटाउने अभियानमा छौं । यसबाहेक कतिपय साथीहरुले कृषिमा समेत लगानी ‘डाइभर्ट’ गर्दैछन् ।

हामी सिन्धुलीमा कागतीको व्यवसायिक खेती शुरु गरिसकेका छौं । किनकि हामी महासंकटबाट माथि उठ्नु छ । अब केही न केही विकल्प खोजेर व्यवसायमा टिक्नुको विकल्प हामीसँग छैन ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment