Comments Add Comment

नझुक्किनोस्, युएईका नेपालीलाई सरकारले उद्धार गरेको होइन !

सरकारी सूचीमा भएकाहरु अलपत्र, निजी कम्पनीले उद्धार गर्‍यो

२३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र लकडाउनका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीहरुको उद्धार सुरु भएको छ । शुक्रबार युएईबाट १६९ र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किएका छन् । तर, नेपाली दूतबासले बनाएको सूचीअनुसार यूएईबाट नागरिकहरु आउन पाएनन् ।

यूएईबाट नेपाली नागरिक लिएर एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमान आएको थियो भने म्यानमारबाट सेनाको एयरफोर्स विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

यूएईबाट आएको विमानमा इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १५७ जना छन् । यो टोलीमा एकजना नाबालक पनि छन् । उनीहरुलाई नेपालसम्म ल्याउने व्यवस्था सम्बन्धित कम्पनीले नै मिलाएका हुन् ।

त्यस्तै म्यानमारबाट आएका २६ मध्ये अधिकांश परिवारजनलाई भेट्न र घुम्न गएका बेला अलपत्र परेकाहरु छन् । केही पढ्न गएका विद्यार्थी पनि छन् । उनीहरुलाई म्यानमार सरकारले आफ्नै विमानबाट पठाइदिएको हो । यसमा नेपाली दूताबासले पनि समन्वयकारी भूमिका खेलेको थियो ।

सरकारले विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका २५ हजार नागरिक ल्याउने तयारी गरेको बताएको छ । जबकि नेपाल आउन चाहनेको संख्या १० लाख बढी छ । श्रम गन्तव्य मुलुकमा रहेका धेरै नेपालीले फर्किन चाहेका छन् ।

सरकारी सूचीमा भएकाहरु अलपत्र

सरकारले विदेशबाट उद्धार गर्न विभिन्न मापदण्डहरु तोकेको छ । सजायँबाट आम माफी पाएका, डिटेन्सन सेन्टरमा रहेका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि आउनुपर्ने, भिसा सकिएका, रोजगारी गुमाएका, कोभिड-१९ बाहेकका गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी, ज्येष्ठ नागरिक लगायत छन् ।

त्यस्तै सरकारी सेवामा रहेर अध्ययन र तालिममा गएका, अध्ययन सकिएका विद्यार्थी लगायतलाई पनि प्राथमिकताका आधारमा स्वदेश ल्याउने भनिएको छ ।

तर, हवाई उडान, यातायात र होटल क्वारेन्टिन खर्च आफू स्वयम् वा सम्वद्ध कम्पनीले नै व्यहोर्नुपर्ने सरकारले बताएको छ । त्यसअनुसार सम्बन्धित मुलुकमा रहेका नेपाली दूताबासहरुले तथ्यांक संकलन गरिरहेका छन् ।

यूएईस्थित नेपाली दूतावासले स्वदेश फर्किने नागरिकको सूची तयार पारेर कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई पठाएको थियो । तर, विमानको भाडा कसले तिर्ने भन्ने विषयमा विवाद हुँदा उनीहरु आउन पाएनन् ।

नेपाली अधिकारीहरुले यूएई सरकारले तिर्ने भनेका थिए । तर, त्यसअनुसार विमान कम्पनीलाई यूएई सरकारले त्यो भनेको थिएन । त्यसैले विमान नेपाल आउन मानेन ।

त्यहीबेला दुई सेक्युरिटी कम्पनीले आफ्नो खर्चमा त्यहाँ कार्यरत नेपालीलाई काठमाडौं पठाउन तयार भए र मानिसहरु आए । दूतावासले बनाएको सूचीमा भएकाहरु भने आउन पाएनन् ।

सूचीमा नामै नभएकाहरु विमानस्थलमा ओर्लेपछि

सूचीमा नभएका व्यक्ति काठमाडौं आएपछि व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले पनि शुक्रबार पूर्वनिर्धारित योजना फेर्नुपरेको छ । पहिले सूचीमा भएका व्यक्तिअनुसार होल्डिङ सेन्टरमा राख्ने तय भएको थियो । तर, सूचीमा नभएकाहरु आएपछि विमानस्थलमा सबैको व्यक्तिगत विवरण संकलन गरिएको छ ।

यूएईबाट आएको विमानमा प्रदेश नंं १ का ४६, २ का २३, बागमतीका ३७ जना, गण्डकी प्रदेशका २८, प्रदेश नं. ५ का १८, कणर्ालीका ४ र सुदुर पश्चिम प्रदेशका १२ जना नागरिक रहेको पाइएको छ ।

सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले तयार पारेको सूचीका नागरिक अब कहिले आउँछन् भन्ने तय भइसकेको छैन ।

स्वदेश आउन पाउँदा नेपाली खुशी

म्यानमारबाट आएकामध्ये अधिकांश परिवारलाई भेट्न गएका वेला अलपत्र परेका छन् । केही पढ्न गएका विद्यार्थी पनि छन् ।

पीसीआर परीक्षण नेगेटिभ भएकाहरु मात्र आएकाले शुक्रबारै होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ । उनीहरुले पनि उद्दार भएर नेपाल आउन आउँदा सबैले खुशी व्यक्त गरेका छन् । नवलपुर गैँडाकोटका मानबहादुर खत्रीले नेपाल आउन पाउँदा ठूलो उपलब्धि हासिल भएको अनुभूति भएको बताएका छन् । उनले अनलाइनखबरसँग भनेका छन्, ‘नेपाल टेक्नेबित्तिकै आमालाई भेटे जस्तो भयो । आउने बित्तिकै धर्तीलाई ढोगेँ ।’

उनी आफन्त भेट्न पर्यटक भिसामा तीन महिनाका लागि म्यानमार गएका थिए । म्यानमारमै रहँदा कोरोना महामारीका कारण नेपालमा हवाई उडान बन्द भएको थियो ।

काँडाघारी, काठमाडौंकी ५३ वषर्ीया लक्ष्मी जोशीले घर र्फकन पाउँदा आफू ढुक्क भएको लक्ष्मीले अनलाइनखबरलाई सुनाइन् । ‘सबै परिवार नेपालै छन्, आफू तीन महिनादेखि उतै अडि्कएँ, मन बेस्सरी पोल्यो’, जोशीले भनिन्, ‘अब पारिवारिक मिलन हुन्छ, मन ढुक्क भएको छ ।’

अरुको उद्धार टुंगो छैन

सरकारले उद्धार गर्ने निर्णय गरे अनुसार सम्बन्धित मुलुकमा रहेका नेपाली दूताबासहरुले तथ्यांक संकलन गरिरहेका छन् । दूताबासहरुले परराष्ट्र मन्त्रालयमा त्यसलाई पठाउनेछन् र सीसीएमसीमा पुगेपछि बल्ल उद्धार सुरु हुनेछ । तर, कहिलेबाट उद्धार सुरु गर्ने भन्ने तय भएको छैन ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा रहन भनिएको छ । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरे भन्छन्, हामीलाई भाडा निर्धारण गरेर पठाउन भनिएको थियो, त्यसअनुसार हिजो पठाएका छौं । तर, हामीले फ्लाइटका लागि लिस्ट पाएका छैनौं ।’ यद्यपि फ्लाइलट लगायतका सबै तयारी गरेको उनले बताए ।

हिमालय एयरलाइन्स उपाध्यक्ष विजय श्रेष्ठले मलेसिया, बाङ्लादेश लगायत मुलुकमा नेपाल एयरलाइन्स र हिमालयले उडान गर्नुपर्छ भनेर मौखिक प्रस्ताव आए पनि थप जानकारी नभएको बताए ।

उता मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत नेपाली राजदूतहरुले भने महंगोमा चार्टर्ड फ्लाइट गर्नुभन्दा सस्तोमा नियमित उडानमार्फत नागरिकहरुलाई स्वदेश आउन दिइनु उपयुक्त हुने सुझाव दिएका छन् ।

यो पनि पढ्नुहोस्

मलेसिया र खाडीका तीन राजदूतको प्रश्न- महंगो चार्टर्ड उडान किन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment