Comments Add Comment

कोरोनाविरुद्ध अग्रमोर्चामा रहेकी संगीतालाई ‘सरुवा पुर्जी’

२३ जेठ, विराटनगर । वैशाख पहिलो साता उदयपुरको भुल्केमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिए, त्यो पनि एकै पटक १२ जना । उनीहरूलाई एम्बुलेन्समा हालेर विराटनगर पुर्‍याइयो र कोसी अस्पतालको आइसोलेसनमा राखियो ।

११ वैशाखमा भोजपुरका २६ वर्षीय एक युवकलाई कोरोना संक्रमण पुष्टि भयो । जिल्लामा आइसोलेसन वेड नभएकाले उनलाई विराटनगर ल्याउनुको विकल्प थिएन ।

उदयपुर र भोजपुर मात्र होइन, दुई साताअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आइसोलेसन सञ्चालनमा नआउँदासम्म कोसी अस्पताल प्रदेश १ का ९ जिल्लाका कोरोना संक्रमितहरूलाई आइसोलेट गर्ने एक मात्र ठाउँ थियो । कोसीका स्वास्थ्यकर्मीहरूले आफूलाई प्रमाणित पनि गरिसकेका थिए । यसको नेतृत्व अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राले गरेकी थिइन् ।

पिक आवरमा सरुवा पुर्जी

संघीय सरकार मातहतको अस्पतालकी सुपरिटेन्डेन्ट भए पनि मिश्राले नै प्रदेश सरकारसँग राम्रो समन्वय गरेकी थिइन् । स्वास्थकर्मीहरूको परिचालनको नेतृत्व पनि उनैले गरेकी थिइन् । आवश्यक परे कोरोना संक्रमितहरूलाई रिसिभ गर्न आफैं पुग्थिन् ।

तर स्वास्थ्य मन्त्रालयले बिहीबार एकाएक मिश्रालाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको मन्त्रिस्तरीय निर्णयका आधारमा मिश्रालाई कोसीबाट प्रसूति गृहमा सरुवा गरिएको हो ।

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूको नेतृत्व गरिरहेकी मिश्राको सरुवा यस्तो बेला भएको छ, जतिबेला प्रदेश १ मा संक्रमण बढ्दो छ ।

मिश्राको सरुवाप्रति प्रदेश सरकार पनि सन्तुष्ट छैन । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय सरकारले समन्वय नगरी काम गर्दा कोरोना महामारीविरुद्ध लड्न असजिलो भएको प्रतिक्रिया दिए । ‘काम एउटा स्पिडमा चलिरहेको अवस्थामा एक्कासी कर्मचारीको सरुवा भयो’ उनले अनलाइनखबरसँग भने, ‘नयाँ मान्छेले त्यही स्पिडमा काम गर्न समय लाग्छ ।’

सरूवाबारे अनलाइनखबरले प्रतिक्रिया माग्दा मिश्राले कर्मचारीको सरुवा सामान्य भए पनि संकटको समयमा असजिलो महुसस भएको बताइन् ।

उनले अघि भनिन्, ‘सरुवा भएको जानकारी पाएँ, तर आधिकारिक पत्र आएको छैन । म एउटा सामान्य कर्मचारी हुँ, राज्यले पठाएको ठाउँमा जान्छु ।’

मिश्रा माघ पहिलो साता कोसीमा आएकी थिइन् । पाँच महिने कार्यकालमा अस्पतालमा उल्लेख्य सुधार गरेका डा. गुणराज लोहनीको सरुवा भएपछि उनी आएकी थिइन् । अस्पतालका अधिकारीहरूका अनुसार फागुनमै उनको सरुवा प्रयास भएको थियो ।

तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले छिटोछिटो सरुवा हुँदा अस्पतालको अवस्था थप खराब हुने भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हारगुहार गरेपछि थमौती भएको थियो । तर तिनै ढकालले कोरोना संक्रमणविरुद्धको लडाइँमा राम्रो काम गरिरहेका बेला मिश्राको सरुवा गरेका छन् ।

‘पहिले जे भए पनि कोरोना महामारी सुरु भएयता संगीताको भूमिका प्रशंसनीय छ’ अस्पतालका एक चिकित्सक भन्छन् ‘संक्रमित बढिरहेको अवस्थामा सरुवा गर्नु व्यवहारिक छैन ।’

सरकारले कोसीमा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजका डा. चुमनलाल दासलाई पठाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment