+
+
Shares

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको वर्षापछि आएको बाढी र पहिरोले कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।
  • सर्केगाड गाउँपालिका–४ थाहा खोलामा आएको लेदोसहितको बाढीले आसपासको खाद्यान्नबाली नष्ट गरेको स्थानीयले बताएका छन्।
  • सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म पहिरो खस्दा यातायात प्रभावित भएको र केही ठाउँमा सडक पूरै पुरिएको छ।

३० भदौ, हुम्ला । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।

सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीले  खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताए।

उनले आज बिहान करिब तीन घण्टा लगातार पानी परेपछि पहाडबाट लेदोसहितको बाढी आएको र बाढीले आसपासका क्षेत्रसहित थाहा ज्युलोमा बाढी पसेर खाद्यान्नबाली नष्ट गरेको जानकारी दिए।

त्यसैगरी, सर्केगाड गाउँपालिकाको केन्द्र आसपास भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढ्दा बजार क्षेत्र तथा आसपासमा क्षति पुगेको छ।

बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा पानीको बहाव बढेपछि आसपासमा समस्या देखिएको बताए।

माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोरसमेत पूर्ण रूपमा अवरुद्ध भएको सर्केगाड प्रहरीचौकीका सहायक निरीक्षक जगदीशकुमार ऐरले बताए।

पहिरोले बालीमा क्षति पुर्‍याउनुका साथै सडक अवरुद्ध भएकाले सडक खुलाउन गाउँपालिका र सम्बन्धित सडक निकायसँग समन्वय भइरहेको बताए।

लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।

कार्यालयको कामका लागि सदरमुकाम सिमकोट आएका चङ्खेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार ग्युसीदेखि खार्पुसम्म सडकका विभिन्न स्थानमा पहाडबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको बताए।

सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या पुगेको छ । पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउनेजाने यात्रु प्रभावित भएका छन् ।

कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो। वर्षायाममा पहिरोका कारण करिडोर पटकपटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लाको खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?