+
+
Shares

आईजीपीविरुद्ध सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध संसद्‌मा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ।
  • सभामुख डोल प्रसाद अर्यालले २६ भदौको प्रतिनिधिसभा बैठकमा सुनारले प्रयोग गरेको वाक्यांश हटाउन सचिवालयलाई निर्देशन दिएका थिए।
  • सुनारले कार्कीमाथि करोडौं भ्रष्टाचार र बर्खास्तीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

३० भदौ, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षकविरुद्ध संसद्‌बाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ ।

गत २६ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन सभामुख डोल प्रसाद अर्यालले निर्देशन दिएका हुन् ।

‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले नेपाल प्रहरीका महानिरीक्षक कार्कीसँग सम्बन्धित रहेर व्यक्त गरिएका केही शब्द रेकर्डबाट हटाइएको जानकारी दिए ।

उक्त बैठकको शून्य समयमा उनले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ । करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ,’ सुनारले भनेका थिए, ‘यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइ राखिएको छ, यो सम्मानित सदनमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

साथै, उनले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसद्का् सार्वजनिक लेखा समितिमा भ्रष्टाचार गरेको आरोपका उजुरीहरूको चाङमाथि चाङ थपिँदै गएको दाबी पनि गरेका थिए ।

सांसद सुनारले थप भनेका थिए, ‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसक्नुभएको छ । तर, करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमतीलगायत ठूलो अधिकारीमाथि लागेको छ । करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिमा चाङमाथि चाङ खापिँदै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?