News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व सुरक्षाकर्मीका विभिन्न संगठनहरूले सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
- संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सांसद सुनारको अभिव्यक्ति अमर्यादित, तथ्यहीन र पूर्वाग्रही रहेको भन्दै आपत्ति जनाएका छन्।
- सुरक्षा निकायको व्यावसायिक निष्ठामाथि प्रहार गर्दा राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।
२९ साउन, काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा निर्वाचन प्रहरीको पोसाक खरिदलगायतका विषयमा भएको छलफलका क्रममा सत्तारुढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मीका विभिन्न संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल पूर्व प्रहरी संगठन, पूर्व प्रहरी कर्मचारी परिषद्, पूर्व सशस्त्र प्रहरी संघ र सुरक्षा र न्याय अध्ययन केन्द्रले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सांसद सुनारको अभिव्यक्ति अमर्यादित, तथ्यहीन र पूर्वाग्रहपूर्ण रहेको आरोप लगाएका हुन्।
साउन २७ गते सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयका सचिव तथा प्रहरी प्रमुखको उपस्थितिमा सांसद सुनारले बोलेका थिए। पूर्वसुरक्षाकर्मी संगठनहरू उक्त अभिव्यक्तिको भाषा, प्रस्तुति र आशयले संसदीय मर्यादा, पदीय गरिमा, संस्थागत शिष्टाचार तथा व्यावसायिक आचरणको सीमालाई अतिक्रमण गरेको टिप्पणी गरेका छन्।
‘सार्वजनिक लेखा समितिलाई सार्वजनिक स्रोतको उपयोग, खरिद प्रक्रिया तथा सरकारी निकायको कार्यसम्पादनमाथि प्रश्न उठाउने पूर्ण अधिकार छ। प्रहरी तथा सुरक्षा निकायहरू पनि कानुन र सार्वजनिक जवाफदेहिताभन्दा माथि छैनन्,’ उनीहरूले भनेका छन्, ‘तर, तथ्य र प्रमाणका आधारमा प्रश्न उठाउनु र राष्ट्रसेवामा समर्पित पदाधिकारी वा संस्थाको व्यावसायिक निष्ठा तथा संस्थागत गरिमामाथि अमर्यादित टिप्पणी गर्नु फरक विषय हुन्।’
सुरक्षा निकायहरू ‘कमाण्ड एण्ड कन्ट्रोल’मा सञ्चालित विशिष्ट संस्था भएकाले तिनको नेतृत्व, मर्यादा र व्यावसायिक मनोबलमा असर पर्दा सार्वजनिक तथा राष्ट्रिय सुरक्षामै प्रतिकूल प्रभाव पर्न सक्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।
सार्वजनिक खरिद वा कार्यसम्पादनमा कमजोरी देखिएमा निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ, ‘संसदीय समितिको छानबिन प्रक्रियाको विरोध गरिएको होइन, तर त्यस्ता प्रक्रियालाई व्यक्तिगत आक्षेप वा सुरक्षा निकायको मनोबल कमजोर पार्ने माध्यम बनाइनु हुँदैन।’

प्रतिक्रिया 4