+
+
Shares

मर्यादा भुलेका माननीय

आफू एक जिम्मेवारी जनप्रतिनिधि रहेको समेत हेक्का नराखी विदेशी भूमिमा पुगेर शाहीले आफ्नो अपरिपक्वता देखाएको भन्दै आलोचना भइरहेको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ साउन ४ गते २१:२३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापान भ्रमणका क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाही र रास्वपा सांसद खगेन्द्र सुनारले सार्वजनिक मञ्चमा एकअर्काप्रति गरेको अमर्यादित टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • सांसद शाहीले सामाजिक सञ्जाल लाइभमा रास्वपा समर्थकप्रति लक्षित गर्दै प्रयोग गरेका गालीगलौज र आपत्तिजनक शब्दहरूका कारण उनको चर्को आलोचना भइरहेको छ।
  • रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले विज्ञप्ति जारी गर्दै सांसद शाहीको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत रहेको उल्लेख गर्दै उनीसँग सार्वजनिक रूपमा क्षमायाचनाको माग गरेको छ।

४ साउन, काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनार र राप्रपाका सांसद ज्ञानेन्द्र शाही केही दिनअघि जापान पुगे ।

नेपाली समुदायको कार्यक्रममा भाग लिन नेपालबाट ‘माननीय’ अतिथिको रुपमा बोलाइएका उनीहरूले कस्तो अशोभनीय व्यवहार प्रदर्शन गरे भन्ने विषय अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कर्णाली समाज, जापानको कार्यक्रममा पुग्दाको उनीहरूको राप र आक्रोश अझै सकिएको छैन । राप्रपाका संसदीय दलका नेता समेत रहेका शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ । एकदमै तल्लोस्तरमा झरेर उनीहरू सवाल–जवाफ गरिरहेका छन् ।

जापान उड्नुअघि सांसद् ज्ञानेन्द्र शाहीले आफू कार्यक्रमको लागि जापान आउन लागेकाले सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए ।

‘यही जुलाई १६ तारिख, टोकियोस्थित तोसिमा सिभिक सेन्टर हलमा आयोजना हुने उक्त कार्यक्रममा जापानमा रहनुभएका सम्पूर्ण नेपाली आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछु,’ शाहीले भिडियो सन्देश जारी गर्दै भनेका थिए ।

शाहीका अनुसार, यो कार्यक्रमलाई आत्मीय भेटघाट गर्ने, अनुभव र विचार आदानप्रदान गर्ने अनि समाज, राष्ट्र र प्रवासी नेपाली समुदायसँग सम्बन्धित साझा विषयहरूमा खुला छलफल गर्ने अवसरको रूपमा हेरेका थिए ।

तर, टोकियोस्थित तोशिमा सिभिक सेन्टर हलमा भएको कार्यक्रमपछि दुई सांसद एकअर्काबीच जुहारी खेल्नमै केन्द्रित भए ।

कार्यक्रममा बोल्दा नै एकअर्काको नाम नै लिएर आरोप–प्रत्यारोपमा उत्रिए । सांसद ज्ञानेन्द्र शाहीले त आफू विदेशमा रहेका नागरिकका हकहितमा बोल्न ‘खगेन्द्र सुनारजस्तो नमस्कार गरेर’ मात्र पहल गर्ने बताए ।

‘शिक्षामन्त्रीलाई अगाडि राखेर… खगेन्द्रजी जस्तो नमस्कार गरेर मात्र होइन– औंला ठड्याएर भन्छु, एनओसी गर्नुअघि बीमा नगरी नेपालीहरू यहाँ ल्याउन पाइँदैन,’ शाहीले भनेका छन् ।

यसरी बोलेका ज्ञानेन्द्र शाही पछि सामाजिक सञ्जालको लाइभमै आए । त्यसपछि उनले रास्वपाका समर्थकमाथि खनिएर बोले ।

आफू जापानमै रहेकाले विरोधीहरूलाई आफूसँग आएर ‘फेस’ गर्न चुनौति दिए । यसरी आक्रोश पोख्दै गर्दा उनका कतिपय शब्दमा ‘बीप’ लगाउनुपर्ने अवस्था थियो । आफू दोस्रोपटक सांसद भइसकेकाले के गर्ने वा नगर्ने भन्ने कुरामा धेरै नबोल्न चेतावनी नै दिए ।

‘हामी त अघिल्लो पटक नै सांसद भइसकेका हौँ । जनताबाट जितेरै आएको हो,’ शाहीले हाल डिलिट गरिसकेको उक्त भिडियोमा भनेका छन्, ‘तिमीहरूजस्तो निगाहा/दयामा, जेलब्रेक गरेर, सहकारी ठगेर, खरानी बनाएर, टीओबीको सदस्य भएर आएको छैन ।’

सरकारमाथि आलोचना गर्दै उनले आफ्नाविरुद्ध कमेन्ट गर्नेलाई समेत तथानाम भने ।

‘आफूमाथि जापानमा भौतिक आक्रमण भएको’ भन्दै हल्ला फैलाउने एक युवकमाथि उनी खनिन्छन् । ‘यो केटा घण्टीको कार्यकर्ता रहेछ,’ फोन नम्बर नै सार्वजनिक गरिदिएको भन्दै शाही थप्छन्, ‘यसको फोन नम्बर मैले माथि राखिदिएको छु । मलाई यहाँ कसैले केही गरेको छैन । यिनीहरू टीओबीका ग्याङहरू, खरानेका सन्तानहरू, सहकारी ठगहरूले भ्रम फैलाए ।’

शाही यतिमै रोकिँदैनन् । उनले रास्वपा समर्थकलाई ‘खराने ग्याङ’ भन्दै पटकपटक सम्बोधन गरिरहे । ‘टिओबीका सरदार’ भन्दै गृहमन्त्री सुदन गुरुङलक्षित टिप्पणी गरिरहे । यतिसम्म कि, अगाडि आएर प्रत्यक्ष भिड्न चेतावनी दिए ।

‘दम छ ? आउ न, भोलि हामीले यहाँ नेगोही भन्ने शहरमा कार्यक्रम गरिराछौँ,’ शाही आक्रोशित सुनिएका छन्, ‘आज जापानमा उभिन सक्यौ ? तिमीहरूकै सांसदका अगाडि ठोकेर हिँड्यौं त हामी । सक्यौं ? तिमीहरूमा क्षमता छैन । ‌गाजा खाने गजडीका ग्याङहरू, टीओबीहरू, …सहकारी ठगहरू तरिका हुन्छ नि एउटा ?’

मानसिक स्वास्थ्यजस्तो संवेदनशील विषयलाई हलुका रूपमा लिँदै ‘यिनीहरू सबै एकठाउँ दौडिएर, पागल भएर डिप्रेसनको रोगी भए पनि’ आफूलाई फरक नपर्ने बताए ।

लाइभमा बोल्दै गर्दा उनको भिडियोमा कसैले ‘एसएलसी फेल’ भन्दै कमेन्ट गर्छन् । त्यसपछि झन् आक्रोशित हुँदै आफू जनताले जिताएकाले उनलाई पनि जितेर आउन भन्छन् ।

तर, भन्ने शैली भने एकदमै आक्रामक र मर्यादाबाहिर गएको सुनिन्छ । यसरी जापानको सार्वजनिक कार्यक्रम र फेसबुक लाइभमै मर्यादाबाहिर सुनिएका शाहीको त्यसपछि आलोचना हुन्छ । उनले रक्सीको मातमा लेखेको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।

त्यसपछि त्यो आरोपको खण्डन गर्दै उनले अर्को स्टाटस लेख्छन् । ‘जापानको रक्सी कडा रहेछ !’ भन्दै लेखेका उनले वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा फुत्किएको बताउँछन् ।

‘सहकारी ठगलाई ठग नै भनिएछ । गँजडी ग्याङलाई गँजडी ग्याङ नै भनिएछ। खराने ग्याङलाई खराने ग्याङै भनिएछ । टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिएछ,’ शाहीले फेसबुक लाइभ विवादित भएपछि लेखेका छन्, ‘नोट – खाँदै नखाएको रक्सी पनि लागेछ !’

त्यसपछि थप आक्रामक हुँदै थप्छन्, ‘ल, विश्वभरिका बेरोजगार केटाहरू हो – आज तिमीहरूको डलर टन्नै झर्छ । जति रोस्ट गर्न मन छ, गर । जति स्टाटस लेख्न मन छ, लेख । आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै । राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है, केटा हो ।’

यसरी आफू एक जिम्मेवारी जनप्रतिनिधि रहेको समेत हेक्का नराखी विदेशी भूमिमा पुगेर शाहीले आफ्नो अपरिपक्वता देखाएको भन्दै आलोचना भइरहेको छ ।

रास्वपाले नै जनायो आपत्ति

यो विषयले त्यसपछि झन् दलगत आरोप–प्रत्यारोपको रुप लियो, जब जापानस्थित रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले सांसद शाहीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति नै निकाल्यो ।

उक्त विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शाहीको अभिव्यक्तिले लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकको सम्मानमा आँच पुगेको बतायो ।

सांसद शाहीले फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालमार्फत अपमानजनक, असंयमित र लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको जनाउँदै जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाअनुकूल नभएको विभागको भनाइ छ।

विज्ञप्तिमा सांसद शाहीलाई आफ्ना अभिव्यक्तिको आत्मसमीक्षा गर्न भनिएको छ । सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ। यदि उचित सम्बोधन र क्षमायाचना नभए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिइएको छ।

तर, रास्वपाकै सांसद् खगेन्द्र सुनार पनि के कम ? उनी पनि उसैगरी प्रस्तुत हुन्छन् । सामाजिक सञ्जालमा यी विषयमा टिप्पणी गर्दै अमर्यादित शैलीमा प्रस्तुत भएका छन् ।

‘भारत गएर आधा सिए । जापान गएर आधा पिए । नेपालमा राजाको कुरा,जापान पुगेर गाँजाको कुरा । देख्यौं हैन जापानी तरक, यही हो साथी जाँड खाने र नखानेमा फरक,’ सुनारले सामाजिक सञ्जालमा लेखेका छन् । यो कुरा सामाजिक सञ्जालमा सीमित छैन । उनले भिडियोमा पनि बोलेका सुनिन्छन् । उक्त भिडियो पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

यसरी सामाजिक सञ्जालमा प्रस्तुत भएका सुनार जापानकै कार्यक्रममा आफू सरकारकै प्रतिनिधिको रुपमा प्रस्तुत हुन्छन् । उनले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेको सन्देश लिएर आफू आएको बताए ।

‘मैले यहाँ आउँदा प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेलाई जानकारी गराएको थिएँ। उहाँहरूले भोलिको दिनमा पनि हामी साथमा छौँ भन्ने कुराको सन्देश पु‍र्याइदिनुहोला भन्नुभएको थियो,’ उनले भने ।

योसँगै नेपाल नयाँ लगानी र सहकार्यका लागि खुला रहेको बताए । नेपालमा नयाँ पुस्ताको नेतृत्व आएकै कारण नेपाल–जापान सम्बन्धमा कुनै असर नपर्ने स्पष्ट पार्दै जापानी पक्षलाई ढुक्क हुन समेत सुनारले आग्रह गरे । नेपाल सरकारले जापानी लगानी, विकास साझेदारी तथा नेपालको हितमा भएका सबै सहकार्यको संरक्षण र सम्मान गर्ने प्रतिबद्धता उनको थियो ।

‘नेपालले जापानलाई सम्मान गर्छ, र जापानी मित्रहरूलाई नेपाल भ्रमण तथा सहकार्यका लागि सधैँ स्वागत गर्दछ,’ उनले जापान पुगेर भनेका थिए ।

यस्तै हुन्छ माननीयका व्यवहार ?

राजनीतिक दलले आफ्नो दलका सांसदहरूको अभिव्यक्ति र चरित्रप्रति मौन रहँदा लोकतन्त्र खतरामा पर्न सक्ने चिन्ता जानकारहरूको छ ।

राजनीतिक दलले सांसदको चरित्र निर्माणमा लगानी नगर्दा पनि समस्या भएको बताउँछन्, पूर्वसचिव सोमबहादुर थापा ।

‘सांसदहरूको चरित्र निर्माण गर्ने कुरामा राजनीतिक दलको ठूलो भूमिका र जिम्मेवारी हुन्छ’ उनी भन्छन्, ‘पार्टीले पनि आचारसंहिता बनाएर लागू गर्नुपर्छ र आचारसंहिता उल्लंघन गर्ने सांसदहरूलाई दण्डित गर्न सक्नुपर्छ ।’

दलहरूले आचारसंहिता बनाउन र लागू गर्न तत्परता नदेखाउँदा समस्या भएको उनलाई लाग्छ ।

‘संसद्‌मा कसरी प्रस्तुत हुने, सार्वजनिक मञ्चमा कसरी बोल्ने, विदेश जाँदा कसरी प्रस्तुत हुने ? भनेर दलहरूले सिकाउनुपर्छ’ उनले थपे, ‘यसरी नसिकाउँदा के हुन्छ भन्ने संसदभित्रै र बाहिर पनि देखिराखिएकै छ ।’

उनका अनुसार ‘उच्च आचरणयुक्त पद भनेर सम्बोधन गर्न माननीय भनिएको हो । माननीयको व्यवहारले समाजलाई मार्गनिर्देश गर्ने विश्वास गरिन्छ । तर कतिपयको व्यवहारले माननीय पदकै मानमर्दन गरिरहेको छ ।’

हालै जापान भ्रमणमा क्रममा सांसदले उक्त देशमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै एकले अर्कोलाई गरेको छेडखाडी र टिप्पणी तथा त्यसपछि सामाजिक सञ्जालमा व्यक्त गरेका भावनालाई उनी उचित ठान्दैनन् ।

उनी भन्छन्, ‘एउटा सभ्य नागरिक कस्तो हो, त्यो सभ्यता, बोली र व्यवहार माननीयले देखाउनुपर्छ । माननीय अझ नरम हुनुपर्छ । वातारण खलबलिएको छ भने त्यस्तो वातावरण शान्त बनाउनुपर्छ । बिग्रिएको वातावरणलाई उकास्ने होइन ।’

सांसदले संसद् भित्र वा संसद् बाहिर जहाँसुकै बोल्दा पनि देशको संविधान, कानुन, राज्यका निर्देशक सिद्धान्त र नीति ख्याल नगरे कसले गर्छ भन्ने उनको प्रश्न छ । सांसदले नै संस्कार र सभ्यता भुले कसले बचाउँछ भन्ने पनि उनको चिन्ता छ ।

विदेशमा रहँदा वा विदेश भ्रमणमा जाँदा अझ यस्तो विषयलाई खयाल गर्नुपर्ने उनको आग्रह छ ।

‘सभ्य नागरिक कस्तो हो भनेर माननीयले समाजलाई देखाउनुपर्छ’ उनी थप्छन्, ‘विदेश जाँदा नेपाली कस्ता छन्, नेपाल कस्तो छ, नेपालका ससांसद् कस्ता छन् भनेर देखाउने पनि हो ।’

पूर्वसचिव थापाका नजरमा विदेशीले नेपाललाई हेर्दा सबैभन्दा पहिले राष्ट्रपति हेर्छ । त्यसपछि प्रधानमन्त्री हेर्छ । प्रधानमन्त्रीका संस्कार कस्तो छ ? क्रियाकलाप कस्तो छ ? कर्तव्य पालना कसरी गरेको छ भनेर हेर्छ । यसपछि मन्त्री र सांसदको व्यवहार हेर्ने गरिन्छ ।

सांसदले नै म कस्तो हैसियतमा छु र मेरो भूमिका के हो भनेर थाहा नपाए कसले थाहा पाउँछ भन्ने पनि उनको प्रश्न छ।

‘सांसदले सकारात्मक र असल समाजका लागि नमुनाजन्य व्यवहार देखाउनुपर्छ’ उनी भन्छन्, ‘तर संसद्‌मा रहेका अहिलेका कतिपय सांसदका व्यवहारका कारण संसद् विकृत हुँदैछ । जसले जे गरे पनि हुन्छ भन्ने अराजकतातिर गइरहेको छ । सांसदकै व्यवहारका कारण कारण संसदको महत्त्व घटेर गएको छ ।’

जापानमा सँगै पानीपुरी र चटपटे खाँदै सांसदद्वय शाही र सुनार ।

सांसद बोली र व्यवहारलाई कसरी लगाम लगाउने त ? जवाफमा पूर्वसचिव थापा सम्बन्धित दलले मर्यादा बनाएर लागू गर्नुपर्ने र सांसदलाई व्यवहारलाई आचारसंसिहतासँग जोडेर कडाइका साथ लागू गर्नुपर्ने बताउँछन् ।

साथै, सभामुख पनि सांसदहरूको व्यवहारप्रति सतर्क हुनुपर्ने उनको आग्रह छ ।

‘संसद्लाई जानकारी नदिएर विदेश जान कानुनतः पाइँदैन । त्यसरी गएको छ भने सभामुखले कारबाही गर्न सक्नुपर्छ’ उनी भन्छन्, ‘नत्र सांसदहरू एनजिओको पछाडि लागेर विदेश जान सक्दछन् ।’

पूर्वसचिव थापाका अनुसार व्यक्तिगत रुपमा विदेश गएपनि संसद्लाई, जानकारी दिनुपर्छ ।

‘भोलि आपत्त विपद् पर्‍यो र नेपालमा संसद् बैठक बस्न पर्छ होला । त्यस्तोमा सांसदहरू विदेशमा भए त समस्या हुन्छ’ उनी थप्छन्, ‘विदेशमै पनि सांसदलाई फरक व्यवहार भयो भने के गर्ने ? यसकारण बिना जानकारी सांसदहरू विदेश जान हुँदैन ।’

संघीय संसद् सचिवालयमा अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखा छ । यो शाखाले विदेश जाने सन्दर्भमा सांसदहरूलाई आवश्यक पर्दा सहयोग गर्दछ ।

यो शाखामा सांसद ज्ञानेन्द्र शाही, खगेन्द्र सुनारले जापान जाने भनेर पूर्वजानकारी दिएका छैनन् । तर सभामुखलाई व्यक्तिगत रुपमा जानकारी गराएर विदेश जाने अभ्यास पनि छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?