१४ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीका नेता र सांसदहरूले दिइरहेका विवादित अभिव्यक्तिबारे इंगित गर्दै आफ्नो पार्टी मालिक नभए सेवकहरूको भएको बताएका छन् ।
उनले रास्वपामा मालिक बन्न चाहनेको स्थान नभएको भन्दै त्यो हेक्का राख्न आग्रह गरे । उनले अगाडि भने, ‘यत्ति कुरा म भन्छु कि जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन, हामी सेवक हौं । यो हेक्का सबैलाई हुनुपर्छ । मालिक हुन मन हुनेहरूका लागि अरु नै ठाउँ होला ।’
पछिल्लो समय रास्वपा सांसद विश्वराज पोखरेल र खगेन्द्र सुनारका अभिव्यक्तिप्रति प्रश्न उठेको थियो ।
सभापति लामिछानेले यी दुई सांसदले दिएको अभिव्यक्तिको विषयमा चाहिँ सेटल भइरहेको उल्लेख गर्दै बचाउ गरे ।
सांसद सुनारको अभिव्यक्तिबारे प्रताडित समुदायको चर्को आवाज सुन्दा झर्को मान्न नहुने भन्दै बचाउ गरे । ‘खगेन्द्र जीको बारेमा दलित युवा हिरासतमा हुनुहुन्थ्यो, उहाँको विषयमा अलिकति शंकास्पद् विषय आयो उहाँले भन्नुभएको छ,’ उनले भने, ‘मैले पहिलेदेखि नै भन्दैआएको हुँ– वर्षौंदेखि दमित, अलिकति प्रताडित समुदायको आवाज अलिकति चर्को हुन्छ, त्यसलाई झर्को मान्न हुँदैन । पीडाको अभिव्यक्तिलाई हामीले अलिकति सुन्नुपर्छ भन्ने मेरो मत हो ।’
यद्यपि एउटा मर्यादाका दायरा सबैलाई लागु हुने उनले बताए । ‘त्यसलाई मैले हेर्न बाँकी नै छ,’ उनले भने ।
यस्तै अर्का सांसद पोखरेलले माफी मागिसकेको भन्दै सभापति लामिछानेले माफी मागिसकेकाले त्यसैगरी सबैले ग्रहण गर्नुपर्ने आशय व्यक्त गरे ।
‘ओखलढुंगामा भएको विषय पनि सोध्नुभयो । त्यसमा उहाँले सार्वजनिक रूपमा माफी माग्नुभएको जस्तो मलाई लाग्छ,’ उनले भने ।
यसो भनिरहँदा उनले क्षमा मागिसकेकोतर्फ ध्यान दिन सभापति लामिछानेले आग्रह गरे । ‘सार्वजनिक अभिव्यक्ति आइसकेपछि उहाँको क्षमा आइसक्या छ नि त । त्यसले अरु साथीलाई पनि काम लागोस्,’ उनले भने । सबैले यत्ति बुझे त्यस्ता अभिव्यक्ति फेरि दिमागमा नआउने उनले दाबी गरे ।
‘तर पनि पार्टीले कुनै न कुनै ढंगले मिहीन ढंगले हेर्छ, अनुशासन आयोगले पनि हेर्दैछ,’ उनले आश्वास्त पार्न खोजे ।
प्रतिक्रिया 4