१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारलाई सचेत गराएको छ । साथै, भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न समेत पार्टीले ध्यानाकर्षण गराएको महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
‘पार्टीले उम्मेदवार सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ,’ बुर्लाकोटीले जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त छ ।’
सामाजिक सञ्जालहरूमा सुनारबारे आएका आमचासोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको महामन्त्री बुर्लाकोटीले जनाएका छन् ।
‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ । उहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको“ प्रष्ट पारिसक्नुभएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मलोचना समेत गर्नुभएको छ ।’
रास्वपाको विधान र प्रस्तावनाले “नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मान“ लाई आफ्नो मूल मर्म मानेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘हामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र “राष्ट्रिय एकता“ लाई अक्षुण्ण राख्न सधैं कटिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया 4