२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउमा लागेका छन् ।
करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा सांसदहरूले अर्थमन्त्री वाग्लेमाथि प्रश्न उठाउँदै आएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समेत नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमालेका सांसदहरूले यो विषय उठाए ।
आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर नेकपाका नेता वर्षमान पुनले लेखा समितिकै ध्यानाकर्षण गराए ।
यसैगरी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत भएको बताए । ‘अर्थमन्त्रीज्यू धेरै नै आक्रोशित हुनुभयो । व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत हुनुभयो’ ठगुन्नाले भने, ‘ननसेन्स टाइपको शब्द समेत प्रयोग भएको छ । अर्मयादित धम्कीपूर्ण भाषा प्रयोग भएको छ ।’
विपक्षी दलका सांसदहरूले प्रश्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउमा उत्रिएका हुन् ।
अर्थमन्त्रीले व्यक्त गरेका शब्दमा कतिपय सांसदले चित्त दुखाएको उल्लेख गर्दै पराजुलीले एउटा अर्थमन्त्रीले अर्को अर्थमन्त्रीको सबै अवस्था बुझ्न सक्ने पनि उनले बताए ।
आरोप/प्रत्यारोपमा नलागेर जिम्मेवार भएर सबै अगाडि बढ्नुपर्ने आग्रह गरे । अर्थमन्त्रीले आफ्नो प्रष्टीकरण दिइसकेको उल्लेख गर्दै सांसद सुनारले थपे, ‘यो विषय प्रत्येक दिन जसो उठिरहेको छ । यो राम्रो भएन ।’
करका दर हेरफेर गर्ने सन्दर्भमा विगतमा समेत भएको अभ्यासका आधारमा सभामुखले त्रुटि सच्याएको उनले बताए । एउटा व्यक्तिलाई लखेट्ने जस्तो गरी छलफल भइराखेको भनेर उनले विपक्षीहरूमाथि नै प्रश्न गरे ।
प्रतिक्रिया 4