Comments Add Comment

गंगा चौधरीलाई गिरीको जवाफ : चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?

२३ जेठ, काठमाडौं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग गरेकी छन् ।

शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएको बताइन् । उनले भनेकी छन्, ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ । र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस् ।’

सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन् । संसदमा जासुसको आरोप लगाउँछ, दादागिरीको कुरा गरिन्छ भने यो कुनै व्यक्तिमाथि मात्र होइन, संसदमाथि कै आक्रमण हो, उनले भनिन् ।

चौधरीले भारतीय चेलीले नेपालको संसदमा आएर दादागिरी गरेको र पदको मर्यादा नभएको भए भौतिक रुपमा अक्रमण गर्न सक्ने बताएको उनले बताइन् ।

सांसद गिरीले भने आफूले नेपाल भारतबीच संवाद अगाडि बढाइयोस् भन्दा केही सञ्चार मध्यामहरुले भारतलाई नसोधी नक्सा बनाएको भनेर प्रचार गरेको र नेकपा सांसदले त्यही समाचार पढेर धारणा व्यक्त गरेको बताइन् ।

सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न उठाइन् ।

चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गर्दै उनले भनिन्, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’

भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको उनले बताइन् । ‘नेपालको कानुनअनुसार आएको हुँ’ भन्दै उनले इतिहासको जानकारी छैन भने आफूसँग लिन र कार्यकर्तालाई प्रशिक्षत गर्न नेकपा नेताहरुलाई आग्रह गरिन् ।

समाजवादी पार्टीकी अर्की सांसद अमृतादेवी अग्रहरीले पनि सांसद चौधरीको भनाइप्रति आपत्ति प्रकट गरिन् ।

उनले आफूहरुले हिन्दीमै सपथ लिएको र सजिलोका लागि हिन्दीमा बोल्ने गरेको बताइन् । हिन्दी बोल्दैमा भारतीय नहुने र अंग्रेजी बोल्दैमा वेलायती नहुने उनले तर्क गरिन् ।

त्यसपछि सभामुखले सदनको कारबाहीलाई अगाडि बढाउन खोज्दा समाजवादी पार्टीका सांसदहरुले उठेर विरोध गरे । उनीहरुले गंगा चौधरीको भनाई रेकर्डबाट हटाउनुपर्ने र कारबाही गर्नुपर्ने बताए । उनीहरुले बोल्दा बोल्दै माइक काटिएको पनि विरोध गरे ।

सभामुखले ३ मिनेछमा २ मिनेट समय थपेर ५ मिनेट पुगेपछि माइक काटिएको उल्लेख गर्दै यस विषयमा पछि उपयुक्त समयमा बसेर छलफल गर्ने बताएपछि समाजवादीका सांसदहरु बसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment