Comments Add Comment

सीमामा प्राण त्यागेका वीरेन्द्रको परिवारलाई अमेरिकाबाट सहयोग

२५ जेठ, जनकपुरधाम । वियोगात्मक दिनहरु काट्न बाध्य भएकी धनुषाको शहीद नगरपालिका ९ की सविता देवी यादवको मुहार शनिबार अन्य दिनभन्दा केही उज्ज्यालो देखियो । उनका ससुरा रामजतन यादव पनि केहीबेरका लागि पीडा बिर्सेको देखिन्थे ।

१४ जेठमा धनुषाको जटही सीमामा भोकभोकै प्राण त्यागेका वीरेन्द्रकी पत्नी हुन् सविता र रामजतन पिता । रोजगारी गर्न गत फागुनमा मात्रै भारतको हरियाण गएका वीरेन्द्र लकडाउनमा काम गुमाएपछि घर फर्किन लाग्दा सीमामै ज्यान गयो । परिवार चलाउने एक्लो सहारा वीरेन्द्रको मृत्यु भएपछि उनका परिवार विक्षिप्त बनेको कथा अनलाइनखबरले १९ जेठमा प्रकाशन गरेको थियो । त्यसैको प्रभावमा अमेरिकामा रहँदै आएका दुई जना प्रवासी नेपालीले उनको ऋण तिरिदिन रु ३ लाख सहयोग गरेका छन् ।

उक्त रकम शनिबार मृतक वीरेन्द्रका परिवारलाई हस्तान्तरण गरिएको छ । ३ लाख रुपैयाँ वीरेन्द्रकी पत्नी सविताको बैंक खातामा जम्मा गरी उनको परिवारलाई भौचर प्रदान गरिएको हो । अमेरिकामा बस्दै आएका भीम कार्की र शंकर पन्तले उक्त रकम पठाएका हुन् । रकम लिएर काठमाडौं निवासी दामोदर सुवेदी यहाँ आएर हस्तान्तरण गरेका छन् ।

सुवेदीले अमेरिकामा बस्दै आएका प्रवासी नेपाली एकता मन्च अमेरिका (ओभरसिज नेपाली युनिटी फोरम) का संस्थापक एवं वरिष्ठ नेता कार्की र महासचिव पन्तले वीरेन्द्रको परिवारलाई सहयोग गर्ने इच्छा आफू समक्ष राखेको बताए । ‘त्यसपछि म पनि खुशी भएँ,’ सुवेदीले भने, ‘निरन्तर उहाँहरुसँग सम्पर्कमा रहेको र रकम पठाएपछि बैंकमा जम्मा गरी भौचर बुझाउन यहाँ आएको छु ।’

वीरेन्द्रका लागि सहयोग रकम पठाउने उक्त संस्था अमेरिकी कानुन अनुसार ५०१ सी ३ अन्तर्गतको गैर नाफामूलक संस्थाको रुपमा दर्ता भएको कार्कीले अमेरिकाबाट टेलिफोनमा बताए ।

छोराछोरीको शिक्षामा पनि सहयोग 

सीमामा भोकै मृत्युवरण गरेका वीरेन्द्रको परिवारमाथि भएको ऋणको बोझ कम गराउने मात्र होइन्, ती दुवैले उनको छोरा छोरीलाई शिक्षामा पनि सहयोग गर्ने भएका छन् । वीरेन्द्रका छोराछोरीको नाममा रु १ लाखको अक्षय कोष खड गरेर शिक्षामा सहयोग गर्ने इच्छा कार्की र पौडेलले व्यक्त गरेको सुवेदीले सुनाए ।

अक्षय कोषबाट आउने व्याजले छोराछोरीको पाठ्यपुस्तक र कापी, कलम खरीद गरिने काम मात्रै हुन्छ,’ सुवेदीले भने, ‘यो रकम अरु काममा चलाउन पाइँदैन ।’ उनले चाँडै नै छोराछोरीको नाममा छात्रवृत्ति कोष स्थापना हुने जानकारी दिए ।

कर्जाको टेन्सन कम भयो

घर, परिवारलाई पाल्ने र पारिवारिक स्थिति सुधार्ने मनसाय बनाएका वीरेन्द्र त्यसका निम्ति कतार, साउदी अरब र कुवेत पुगेका थिए । तर राम्रो काम नपाउँदा चाँडो–चाँडो फर्किका थिए ।

त्यस क्रममा उनलाई झण्डै ४ लाख ऋण लागेको थियो । त्यही ऋण तिर्न उनी गत फागुनमा काम गर्न भारत पसेका थिए । तर एक महिना जति काम गरेपछि लकडाउन सुरु भयो ।

लकडाउनमा भोकै बस्न थालेपछि घर आउने क्रममा १४ जेठमा जटही सीमामै उनको प्राण गयो ।

अमेरिकामा बस्ने नेपालीहरुले रकम सहयोग गरेपछि केही हदसम्म भए पनि ऋण तिर्ने तनाव कम भएको वीरेन्द्रका पिता रामजतनले बताए । रकम पाएपछि उनले सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment