News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेनको राष्ट्रसंघ महासभा यात्रामा कुमार बेन पनि टोलीका महत्वपूर्ण हिस्सेदारका रूपमा सामेल छन्।
- क्यामेरा–मैत्री नभएका कारण उनका एकाध पुराना फोटो मात्र सार्वजनिक भएका छन् र मिडियामा त्यही फोटो पुनः प्रयोग भइरहेका छन्।
- कुमार बेनले फेसबुकमा आफ्ना फोटोभन्दा फूल, प्रकृति र पशुप्राणीसम्बन्धी सामग्री बढी राख्ने गरेका छन्।
कुमार बेन को हो ? तपाईंलाई मोटामोटी थाहा हुनुपर्छ । प्रधानमन्त्री बालेनको ‘पावर व्याकअप’ । बालेनको राजनीतिक यात्राको अति घनिष्ठ सहयात्री पनि ।
घनिष्ठ मात्र होइन, अहिलेको स्थितिमा बरिष्ठ पनि । उमेरको अंकले होइन जिम्मेवारीको तौलले ।
उनै कुमार बेनको एउटा कुरा भने अनौठो छ । उनको जति पनि फोटो सार्वजनिक हुन्छ, उही रुपरङमा हुन्छ । त्यो भन्दा पनि उही लुगाफाटोमा । यस्तो लाग्छ चे ग्वेभाराको जस्तै यो ‘सिग्नेचर हुलिया’ हो ।
जस्तो कि तपाईंलाई पनि थाहा छ, उनी झ्याप्प जुँगा दाह्रीमा हुन्छन् । यतिसम्म त ठीकै छ । तर, त्यो जुँगा दाह्री पालिएको भन्दा पनि नकाटिएको जस्तो देखिन्छ । त्यसपछि उनको चेक सर्ट । त्यसपछि बाग्लो ज्याकेट ।
यस्तो गेटअपमा देख्दा लाग्न सक्छ, कुमार बेनलाई जहिले पनि जाडो हुन्छ । किनभने शीतकालीन दिनहरूमा मात्र होइन, उखरमाउलो गर्मीका बेला पनि कुमार बेनलाई फोटोमा यस्तै देख्नुहुन्छ । गर्मीको उकुसमुकुसमा यही फोटो देख्दा तपाईंलाई लाग्न सक्छ, कुमार बेनको ज्यानबाट अहिले नै ज्याकेट खोलिदिउँ । किनभने मौसमअनुसार मान्छेको मुड जो बन्छ ।
किन कुमार बेन सधैँ यस्तै गेटअपमा मात्र देखिन्छन् ? के उनले अरू फोटो खिचेकै छैनन् ? यससँगै ठट्यौलीमा मान्छेले यस्तो पनि प्रश्न गर्न सक्छन्, ‘त्यही एकथान लुगाबाहेक उनीसँग अरू छैन ?’
तर, कुरा फरक छ । चिनेजानेकाहरू भन्छन्, कुमार बेन अन्तरमुखी स्वभावका छन् । धेरै खुल्न चाहँदैनन् । त्यही स्वभावका कारण उनी आफूलाई ‘ग्ल्यामरस’ देखाउन खोज्दैनन् । जसरी ऋषि धमला क्यामेरामा आफ्नो अनुहार देखाउनै पर्छ भनेर लागिपर्छन्, त्यसको ठीक विपरीत कुमार बेन क्यामेराबाट ओझेल बस्छन् ।

उनको फेसबुकमा हामीले खोज्यौं, कुनै बान्की परेको फोटो भेटिएला कि भनेर । फेसबुकको कभरमा उनले नेपाली नोट राखेका छन्, एक रुपैयाँको । प्रोफाइलमा मस्त हाँसिरहेका भाइरल फोटो ।
फेसबुकमा उनले कुनै ‘ठूलोठालु’ देखाउने स्टाटस राखेका छैनन् । न भाइरल बन्ने दाउमा छन्, न उपदेश दिने । बरू उनी प्रकृतिप्रेमी रहेछन् । पानी र फूलहरुसँग रमाउँदा रहेछन् । उनले फेसबुलाई रंगीचंगी फूलहरूले सजाएका छन् ।
आफ्नै घरको बगैंचामा फुलेका सुनाखरी एवं अर्किड, जिरेनियम फूलहरु राखेका छन् । यस्तै उनी पशुप्राणीप्रति पनि करुणा भाव राख्दा रहेछन् । कतिपय ठाउँमा उनले भोका कुकुर, बाँदरलगायतलाई खानेकुरा दिएको फोटो–भिडियो राखेका छन् ।
फेसबुकभरि उनले अरू त थरीथरी फोटो राखेका छन् । तर, आफ्नै फोटो राखेका छैनन् । यसबाट स्पष्ट हुन्छ, उनी फोटोप्रेमी मान्छे होइनन् । फोटोप्रेमी नभएकै कारण उनको एकाध फोटो सार्वजनिक भएका छन् । त्यही फोटो मिडियामा आउँछ । पछिल्लो समय पनि यही उपक्रम देखियो ।
यतिबेला उनी प्रधानमन्त्रीको टोलीमा सामेल छन् । सबैलाई थाहै छ, प्रधानमन्त्री बालेन राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँदैछन् । सोही टोलीका महत्वपूर्ण हिस्सेदार हुन्, कुमार बेन ।
मिडियामा कुमार बेनको त्यही पूर्ववत् फोटो प्रकाशित भइरहेका छन्, जसमा उनले चेक सर्ट र बाक्लो ज्याकेट लगाएका छन् । यस्तो लाग्छ, कुमार बेन यही पहिरनमा अमेरिका उड्दैछन् ।
प्रतिक्रिया 4