+
+
Shares

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

श्रीलङ्काको एक अदालतले सन् २०१९ को इस्टर पर्वका दिन चर्च र होटलमा भएको बम विस्फोटको योजना तथा तयारीमा सहयोग गरेको अभियोगमा मङ्गलबार १५ जनालाई दोषी ठहर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलङ्काको अदालतले सन् २०१९ को इस्टर बम विस्फोटको योजना र तयारीमा सहयोग गरेको अभियोगमा १५ जनालाई दोषी ठहर गरी नौ जनालाई रिहा गरेको छ।
  • सन् २०१९ अप्रिल २१ मा तीन चर्च र तीन होटलमा भएको आक्रमणमा २६७ जनाको मृत्यु र ५७४ जना घाइते भएका थिए।
  • अदालतले दोषी ठहर भएकाहरूको सम्पत्ति जफत र केहीलाई २०० देखि २६० वर्षसम्म जेल सजाय सुनाएको छ।

७ असोज, कोलम्बो (रासस/एपी) । श्रीलङ्काको एक अदालतले सन् २०१९ को इस्टर पर्वका दिन चर्च र होटलमा भएको बम विस्फोटको योजना तथा तयारीमा सहयोग गरेको अभियोगमा मङ्गलबार १५ जनालाई दोषी ठहर गरेको छ । घटनामा २६७ जनाको मृत्यु भएको थियो । सोही मुद्दामा अभियोग लागेका नौ जनालाई भने अदालतले दोषमुक्त गर्दै रिहा गरेको छ ।

सन् २०१९ अप्रिल २१ मा इस्लामिक स्टेटबाट प्रेरित आत्मघाती आक्रमणकारीले तीन चर्च र तीन होटलमा विस्फोट गराउँदा ४२ विदेशी नागरिकसहित २६७ जनाको मृत्यु तथा ५७४ जना घाइते भएका थिए । प्रत्यक्ष आक्रमणमा संलग्न सबै आक्रमणकारीको मृत्यु भइसकेको छ ।

तीन सदस्यीय उच्च अदालतको इजलासले दोषी ठहर भएकाहरूको सम्पत्ति जफत गर्नसमेत आदेश दिएको छ । सन् २०२१ मा २५ जनाविरुद्ध हत्या, आतङ्कवादी गतिविधिको षड्यन्त्र तथा बन्दुक र विस्फोटक पदार्थसम्बन्धी २३ हजार २७० अभियोग दर्ता गरिएका थिए । मुद्दा चलिरहँदा एक अभियुक्तको मृत्यु भएको थियो ।

अभियोजन पक्षले प्रतिवादीहरू इसाई र पर्यटकलाई लक्षित सुनियोजित आक्रमणमा संलग्न रहेको दाबी गरेको थियो । अदालतमा प्रस्तुत भिडियोमा आक्रमणकारीले तत्कालीन इस्लामिक स्टेट नेता अबु बकर अल–बग्दादीप्रति निष्ठाको शपथ लिएको देखाइएको थियो । दोषी ठहर भएका एक प्रतिवादी सिरिया पुगेर इस्लामिक स्टेटका लागि लडेको अभियोजन पक्षले जनाएको छ ।

अदालतले केही प्रतिवादीलाई कडा श्रमसहित २०० देखि २६० वर्षसम्मको जेल सजाय सुनाएको छ । धर्मगुरु मोहम्मद इब्राहिम मोहम्मद नौफरलाई २२० वर्ष र मोहम्मद इब्राहिम सादिक अब्दुल्लालाई २४० वर्षको सजाय तोकिएको छ । दोषी ठहर भएकाहरूलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अधिकार छ ।

विस्फोटपछि आक्रमणकारी र राज्यको गुप्तचर सेवाबीच सम्बन्ध रहेको आरोपसमेत लागेको थियो । रक्षा मन्त्रालयले त्यसलाई अस्वीकार गरे पनि संसदीय समितिले प्राप्त पूर्वसूचनामा प्रहरी तथा गुप्तचर अधिकारीले पर्याप्त कदम चाल्न नसकेको निष्कर्ष निकालेको थियो ।

यसै वर्ष पूर्वगुप्तचर प्रमुख सुरेश साल्ली पक्राउ परेका थिए भने पूर्वप्रहरी प्रमुख र रक्षा मन्त्रालयका एक पूर्ववरिष्ठ अधिकारीलाई सम्भावित आक्रमणबारे प्राप्त चेतावनीमा कारबाही नगरेको आरोपमा मृत्युदण्ड सुनाइएको थियो ।

क्याथोलिक चर्चले फैसलाको स्वागत गर्दै घटनाका वास्तविक योजनाकारबारे अझै प्रश्न रहेको बताएको छ । चर्चका प्रवक्ता रेव. जुड क्रिसान्था फर्नान्डोले फैसलाले भविष्यमा यस्ता घटना रोक्न सहयोग गर्ने बताए। अर्का पादरी रेव. दिलान पेरेराले श्रीलङ्का बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक समाज भएकाले धर्मका नाममा हिंसा गर्न नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?