Comments Add Comment

सरकारको अर्को लापरवाही : कोरोना संक्रमितलाई विना परीक्षण घर पठाउन निर्देशन

फाइल तस्वीर

२५ जेठ, काठमाडौं । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका १० जना आइतबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका बाँकेका पाँच, दाङका दुई, कपिलवस्तुका दुई र बर्दियाका एकजना गरी १० जना घर गएका हुन् ।

१४ दिन आइसोलेसनमा बसेका उनीहरुमध्ये ५ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर बाँकी ५ पाँच जनाको परीक्षण नै गरिएको थिएन लक्षण नभएका कारण डिस्चार्ज गरिएको हो । अर्थात उनीहरु घर जाँदा संक्रमित नै छन् कि निको भइसके भन्ने जाँच नै गरिएन ।

यसअघि शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जनालाई पनि पीसीआर विधिबाट परीक्षण नै नगरी डिस्चार्ज गरिएको थियो ।

किन पीसीआर टेष्ट समेत नगरी घर पठाइयो त ? बेलझुण्डी र धनगढीका दुबै अस्पतालका अधिकारीहरु भन्छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन नै यही छ ।’

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ का प्रमुख डा. गुणराज लोहनीले २१ जेठमा सबै कोभिड अस्पताललाई पत्र लेखेर कोरोना परीक्षणको नयाँ गाइडलाइनअनुसार पोजेटिभ केसहरुलाई लक्षणमुक्त भएको तीन दिन वा १४ दिन आइसोलेसनमा राखेपछि टेष्ट नगरी डिस्चार्ज गर्न भनिएको छ ।

मन्त्रालयले नै निर्देशन दिएपछि अस्पतालहरुले बिना परीक्षण डिस्चार्ज गर्न थालेका हुन् ।

जनस्वास्थ्य विज्ञहरु भने यसरी लक्षण नदेखिएको आधारमा आइसोलेसनमा बसेको संक्रमितलाई बिना परीक्षण घर पठाउनु गलत भएको बताउँछन् ।

जनस्वास्थ्य विद डा. शरद वन्तले एकपटक पीसीआर पोजेटिभ आएको व्यक्तिलाई पीसीआर नेगेटिभ नआई घर पठाउने निर्णय गलत रहेको बताए । किनकी यसरी घर पठाएको मानिसले अरुलाई संक्रमण सार्ने सम्भावना उच्च हुने उनको भनाइ छ ।

‘लक्षण नहुँदैमा मानिसमा संक्रमण छैन र सार्दैन भन्नु गलत हो’ डा. वन्त भन्छन्, ‘नेपालको परिप्रेक्षमा आइसोलेसनमा कति दिन बस्यो भन्नेभन्दा कतिवटा टेस्ट नेगेटिभ आयो भन्ने महत्वपूर्ण हुन्छ ।’

लक्षणविहीन भएकै आधारमा बिरामीलाई डिस्चार्ज दिँदा धेरै संक्रमित घरमा पुग्ने उनको दाबी छ ।

जिवाणु वैज्ञानिक डा. सुदीप खड्काका अनुसार मानिसमा संक्रमण सुरु भएको ५ दिनपछि मात्र लक्षण देखिन थाल्छ । त्यसैगरि धेरैजसो संक्रमितमा सुरुदेखि अन्तिमसम्म लक्षण देखिँदैन, तर उनीहरुले अरुलाई कोरोना संक्रमण सार्न सक्छन् । एक अध्ययनका अनुसार केही संक्रमितमा लक्षण नदेखिएको चार हप्तापछि पनि पीसीआर पोजेटिभ देखिएको थियो भने पोजेटिभ आएको ६ दिन पछिसम्म पनि संक्रमितमा कोभिड–१९ को लक्षण देखिएको छ ।

‘लक्षणले उपचार कसरी गर्ने भन्ने कुरा निर्क्योल गर्ने मात्र हो । लक्षणकै आधारमा मानिसमा भाइरसको संक्रमण निको भयो कि भएन भनेर निर्क्योल गर्न मिल्दैन’ डा. खड्का भन्छन्, ‘झन् नेपालको जस्तो अव्यवस्थित आइसोलेसनमा बसेका संक्रमितहरुलाई पीसीआर नगरी घर पठाउनु घातक हो ।’

जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षित पनि सरकारको यो निर्णय घातक रहेको टिप्पणी गर्छन् । अव्यवस्थित आइसोलेसनमा सामाजिक दुरी र अन्य मापदण्ड पालना नहुने भएकाले १४ दिन आइसोलेसन बसेकै आधारमा घर पठाउँदा कोरोना संक्रमण घरसम्म जाने उनको तर्क छ ।

उनका अनुसार आइसोलेसन र क्वारेन्टिन स्थलमा १४ दिनसम्म लक्षण नदेखिएको मानिसबाट अर्को मानिसमा संक्रमण सर्ने सम्भावना हुन्छ । र, त्यस्ता मानिसले घरमा गएर संक्रमण सार्दा कोरोनाको महामारी नियन्त्रण बाहिर जान सक्छ ।

‘अव्यवस्थित क्वारेन्टिनले रोग निम्त्याइरहेको छ । त्यसैले लक्षण नभएका, जोखिम समूहमा नपर्ने संक्रमितलाई मिलेसम्म घरमै आइसोलेसनमा राख्नु बेस हुन्छ’ डाक्टर दिक्षित भन्छन्, ‘तर पीसीआर टेष्ट नगरी घर पठाउँदा संक्रमितलाई थप अन्योल हुनुका साथै समाजमा संक्रमण फैलिने उच्च सम्भावना हुन्छ ।’

सरकारको यो गलत निर्णयले अवस्था झन् भयावह हुनसक्ने उनको दाबी छ । उनकाअनुसार संक्रमितमध्ये एक चौथाई संक्रमितमा कुनै लक्षण नदेखिए पनि अरुलाई संक्रमण सार्न सक्छन् । त्यसैले पीसीआरको नतिजा नेगेटिभ नआएसम्म पूर्ण आइसोलेसनमा बस्नुपर्छ । उनी भन्छन्, ‘टेस्ट नगरी घर पठाउने हो भने किन आइसोलेसनमा राख्नु ? पीसीआर टेस्ट नेगेटिभ नआई घर पठाउनु भनेको संक्रमितलाई निको नभई घर पठाउनु हो ।’

संक्रमितलाई राख्ने ठाउँको अभाव भएको अवस्थामा आइसोलेसनमा राखेकाहरुलाई ५ देखि ७ दिनभित्र कुनै समस्या र लक्षण देखिएन र त्यो बेला पीसीआर गर्दा नेगेटिभ आयो भने घर पठाउन मिल्ने डा. दीक्षित बताउँछन् । ‘तर पीसीआर नै नगरी लक्षण नभएकै आधारमा घर पठाउनु भनेको एकदम अवैज्ञानिक हो र यसले गम्भिर समस्या निम्त्याउन सक्छ’ डा. दीक्षितले भने ।

हुन पनि स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार नेपालमा अहिलेसम्म निको भएकाहरुको आइसोसेलन बसाई औसत १९ दिन छ । कतिपय संक्रमित त एक महिना भन्दा बढी आइसोलसेनमा बसेका छन् र पटकपटक टेष्ट गर्दा पोजेटिभ आएको छ ।

त्यही कारण नयाँ प्रोटेकल आउनुअघि दुई पटकसम्म पीसीआर टेष्ट नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने गरिएको थियो । कोरोना अस्पतालका एक चिकित्सक भन्छन्, ‘यस्तो अवस्थामा पीसीआर टेष्ट नगरी पठाउने निर्णयलाई कसरी सही भन्नु ?’

सरकारले आर्थिक (पीसीआर टेष्टको खर्च) वा प्राविधिक (पीसीआर गर्न संकलन भएको स्वाबको बढ्दो चाप) मात्र विश्लेषण गरेर यस्तो निर्णय गरेको हुनसक्ने डाक्टर वन्त बताउँछन् । तर जनस्वास्थ्यको हिसाबले यो निर्णय गलत रहेको भन्दै उनले भने, ‘लक्षण नहुनु नै संक्रमण नहुनु हो र त्यस्ता व्यक्तिबाट अरुलाई कोरोना भाइरसको संक्रमण सार्दैन भन्ने प्रमाण होइन ।’

यो पनि पढ्नुहोस कोरोना परीक्षणको नयाँ प्रोटोकल : जनस्वास्थ्यमाथि खेलवाड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment