Comments Add Comment

भाेलि पित्तथैलीको अपरेशन थियो, आज काेराेना संक्रमण पुष्टि

२३ जेठ, काठमाडौं । काभ्रेको पनौती नगरपालिका–८ मा शुक्रबार एक जना ३९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीमा संक्रमण पुष्टि भएको हो ।

पित्तथैलीमा पत्थरी देखिएपछि भोलि (शनिबार) उनको अपरेशन गर्ने तयारी अस्पतालले गरेको थियो । अस्पतालले पित्तथैलीको अपरेशन गर्नुअघि पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेको थियो । सोही क्रममा उनमा संक्रमण पुष्टि भएको वडाध्यक्ष केशव बन्जाराले अनलाइनखबरलाई बताए ।

वडाध्यक्ष बन्जाराले भने, ‘शनिबार उनको पित्तथैलीमा भएको पत्थरीको अपरेशन गर्ने तयारी थियो । तर अपरेशन अगाडि अस्पतालले कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको रहेछ । त्यही क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।’

‘यसअघि पनि दुई तीन पटकसम्म उनलाई जन्डिस देखा परेको रहेछ । पछिल्लो समय पित्तथैलीमा समस्या देखिएपछि चेकजाँचका लागि तीनचार पटक उनी अस्पतालमा गएकी रहेछन्,’ वडाध्यक्ष बन्जाराले भने, ‘घरबाट बाहिर ननिस्कने गृहणी महिलामा एक्कासी संक्रमण पुष्टि भएपछि हामी अचम्ममा परेका छौं । स्वास्थ्य परीक्षणका लागि उनी अस्पताल गइरहने भएका कारण अस्पतालबाटै संक्रमण फैलिएको हुन सक्छ ।’

महिलामा संक्रमण पुष्टि भएपछि उनको घरलाई सिल गरिएको वडाध्यक्ष बन्जाराले बताए ।
‘संक्रमित महिलासहित घरमा श्रीमान, छोरा–छोरीसहित सात जनाका परिवार रहेछन्,’ उनले भने, ‘संक्रमित महिलालाई अस्पताल पठाइसकेका छौं । परिवारका अन्य ६ जनालाई होम क्वारेन्टिनमा नै बस्ने व्यवस्था मिलाएका छौं । उहाँहरुको पनि भोलि स्वाब संकलन गर्ने तयारी गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment