Comments Add Comment

चितवनमा २ चिकित्सकसहित ३० जनामा कोरोना पुष्टि

चितवनका सबै संक्रमितलाई कोरोना विशेष अस्पतालमा राखिने

२६ जेठ, चितवन । चितवनको भरतपुर कोभिड ल्याब–१९ मा गरिएको कोरोना संक्रमण परीक्षणमा सोमबार ३० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये चितवनका २०, नवलपुरका ५, धादिङ, सप्तरी, काठमाडौं, रुपन्देही र कपिलवस्तुका १/१ जना रहेका छन् ।

संक्रमित हुनेहरुमा धेरैजसो भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरपालिकाको क्वारेन्टि१नमा रहेका ४ जना, वडा नम्बर २८ का २ जना, वडा नम्बर-२७ का २ जना, वडा नम्बर- २०, वडा नम्बर-१९, वडा नम्बर–११ र वडा नम्बर- ४ का १/१ जना रहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. श्रीराम तिवारीले जानकारी दिए ।

त्यस्तै पुरानो मेडिकल कलेजमा उपचाररत २ जना, नारायणी सामुदायिक अस्पतालमा उपचाररत १ जना बिरामी तथा नारायणी सामुदायिक अस्पतालका दुई जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । पुरानो मेडिकल कलेजमा उपचारत एक जना कपिलवस्तु र एक जना रुपन्देहीका हुन् ।

त्यस्तै संक्रमित एक जना चिकित्सक काठमाडौंका हुन् ।

सप्तरी घर भई भरतपुर क्यान्सर अस्पतालमा उपचाररत एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मुखको क्यान्सर रोग भएर भरतपुर क्यान्सर अस्पतालमा आएकी एक महिला घर फर्किसकेकी छिन् । उनको परिवारलाई खबर गरिएको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताए । ती महिलाले अप्रेसन गर्ने समय लिएर घर गएको डा. गौतमले बताए । उनको सम्पर्कमा आएका नर्स तथा चिकित्सकहरुको स्वाब संकलन गरिसकिएको डा. गौत्तमले बताए ।

चितवनका सबै कोरोना संक्रमितलाई भरतपुरमै उपचार गरिने

जिल्लाका अन्य संक्रमितलाई भरतपुरको कोरोना विशेष अस्पतालमा ल्याउन समन्वय गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बताए ।
माडीका कोरोना संक्रमितलाई सोमबार साँझ नै भरतपुर ल्याइएको छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले संक्रमितको अवस्था हेरेर ‘लेभल वान’मा राखे हुने बिरामीलाई कोरोना अस्थायी अस्पताल र ‘लेभल टु’ चाँहिने बिरामीलाई भरतपुर अस्पतालमा राखिने जानकारी दिए ।

भरतपुर कोरोना अस्पतालमा अहिले ५ जना संक्रमित उपचाररत छन् भने भरतपुर अस्पतालको आईसीयूमा एक जना गम्भीर र अरु दुई जना संक्रमित उपचाररत छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई चितवनमा सबै संक्रमितहरुलाई भरतपुर ल्याएर उपचार गरिने बताए । ‘हामीले विश्वासमा मात्रैं छाड्ने अवस्था छैन, उमेर र अवस्था हेरेर उपचार गर्छौं, प्रजिअ भट्टराईले भने ‘नारायणी सामुदायिकको आईसीयूमा रहेका संक्रमित बाहेक अरू सबैलाई भरतपुर कोरोना अस्थायी अस्पताल र भरतपुर अस्पतालमा राख्छौं ।’

उनले चिकित्सकसँग सम्पर्कमा आएका सबै बिरामीहरुको तथ्यांक संकलन गरी आइसोलेट गर्ने तयारी सुरु गरिएको बताए । भरतपुरमा नै गरिएको परीक्षणमा पोजेटिभ देखिएका नवलपुर गैंडाकोट नगरपालिका वडा नं. ७ र ८ का दुई जना संक्रमितलाई रजहरको प्राकृतिक चिकित्सालयमा लगिएको छ ।

उनीहरु भारतबाट आएर क्वारेन्टिनमा बसेको नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिए । नबलपुरका बाँकी तीन जना संक्रमित कावासोती नगरपालिका १ का दुई जना र बडा नं. ६ का एक जना छन् । उनीहरुलाई पनि सामुदायिक प्राकृतिक चिकित्सालयमा राख्ने तयारी गरिएको छ । चितवनमा सोमबार नै पुष्टि भएका धादिङका संक्रमित गजुरी गाउँपालिकाका हुन् ।

एक डाक्टर भरतपुर अस्पतालको आइसोलेसनमा, एक काठमाडौंमा

चितवनमा कोरोना संक्रमण पुष्टि भएका दुई चिकित्सकमध्ये एक जना भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । उनी फिजिसियन हुन् । उनलाई भरतपुर अस्पतालको आइसोलेसन क्याविनमा राखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको अवस्था सामान्य छ ।

विगत तीन चार बर्षदेखि सो अस्पतालमा कार्यरत संक्रमित चिकित्सकले अहिले दैनिक ८ देखि १० जनासम्म बिरामी जाँचिरहेको जनाइएको छ । ‘उनमा कहिलेबाट संक्रमण सुरु भयो, र कति दिन भयो भनेर बारेमा बुझ्न बाँकी नै छ’ स्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दीपकबाबु तिवारीले भने, ‘उहाँले जाँच गरेका बिरामीहरुको पनि कन्टयाक्ट टेसिङ गराउँदैछौं ।’

१५ मिनेटभन्दा लामो समय चिकित्सकसँग बसेको र १ मिटरको दूरी कायम भए वा नभएको भन्ने बारेमा चिकित्सकसँग आवश्यक जानकारी लिएर स्क्रीनिङ गरिने तिवारीले बताए ।
अर्का चिकित्सक भने काठमाडौं पुगेका छन् । भरतपुर अस्पतालमा स्वाब दिएर उनी मोटरसाइकलमा काठमाडौं गएको जनाइएको छ । उनी अहिले घरमा नै आइसोलेसनमा बसेका छन् ।

हालै मात्रै एमबीबीएस पास गरेका उनी काठमाडौं इचंगुनारायणका हुन् । उनी तीन महिनाअघि चितवन मेडिकल कलेजबाट एमबीबीएस पास आउट भएका थिए । ‘उहाँको खास बिरामी हेरेको रेर्कड त देखिदैन तै पनि हामी खोजिरहेका छौं’ स्वास्थ्य प्रमुख तिवारीले बताए ।

एक संक्रमितको अवस्था गम्भीर

भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको अवस्था गम्भीर छ । भरतपुर–३ नारायणगढका ६८ बर्षका पुरुषलाई आईसीयूमा राखिएको छ ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार मुटु रोग र निमोनिया छ । उनीसँग आईसीयूमा अन्य चार बिरामी पनि रहेकोले जोखिम बढी छ । १० बेड आईसीयू रहेको अस्पतालमा संक्रमितलाई आइसोलेट गराउन नसक्दा अरुलाई पनि जोखिम बढ्ने देखिएको छ ।

चिवतनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमित गम्भीर बिरामीलाई अन्यत्र नसारी त्यहीँ नै राख्ने बताए । उनले थप सहयोग भरतपुर अस्पतालबाट व्यवस्थापन गर्ने बताए । ‘उहाँको अवस्था गम्भीर रहेको बुझेको छु, त्यसैले तत्काल नसार्ने कुरा छ’ प्रजिअ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment