Comments Add Comment

कोरोना संक्रमितलाई क्वारेन्टिनमा धामी लगाएर झारफुक !

२७ जेठ, काठमाडौं । दूरदराजका गाउँमा अन्धविश्वासले कतिसम्म जरा गाडेको छ भन्ने उदाहरण बनेको छ, अछामको चौरपाटी गाउँपालिका-५ लुंग्राको एक क्वारेन्टिन ।

जहाँ कोरोना संक्रमित २५ वर्षीया महिलालाई कोरोना भगाउने भन्दै झारफुक गरेको पाइएको छ। गर्भवती रहेकी महिलाको स्वास्थ्यस्थिति गम्भीर भएपछि हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अस्पताल ल्याउनुअघि गाउँको दयापिपल तोला माविमा उनलाई दुई जना झाँक्रीले झारफुक गरेको संक्रमित महिलाकी एक जना आफन्तले अनलाइनखबरलाई बताए । उनका अनुसार झाँक्रीले महिलाको कपालमा पानी हाल्ने र फुक्ने कार्य गरेका थिए ।

वडाध्यक्ष टेकबहादुर खड्काले झारफुक गरेको आफूले पनि थाहा पाए पनि त्यहाँ नपुगेको बताए । ‘गाउँघरमा त्यस्तै हो, समस्या छ’, उनले अनलाइनखबरसँग भने, ‘जबसम्म मान्छेले भोग्दैन, तबसम्म नचेत्ने रहेछन् ।’ खड्काले भने महिलाको दिसा रोकिएकाले स्थानीयले झाँक्री लगाएको पाइएको बताए ।

उनले दुवै जना झाँक्रीको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण भइसकेको समेत अनलाइनखबरलाई बताए । उनले भने, ‘रिपोर्ट नेगेटिभ आइसकेको छ ।’ पीसीआर परीक्षणका लागि केही प्राविधिक समस्या भए पनि त्यसको पनि तयारी भइरहेको उनले बताए ।

स्थानीयका अनुसार २२ जेठमा क्वारेन्टिनमा बसेका ती महिलासहित अन्य ५० जनालाई पनि झारफुक गरिएको थियो । ‘क्वारेन्टिन भएको स्कुल छेऊमा एउटा ढुंगा छ, त्यहाँ पूजा गरेपछि झारफुक गरिएको थियो’, एक स्थानीयले भने, ‘पूजामा थुप्रै गाउँले संलग्न थिए, अब गाउँले सबैको परीक्षण गर्नुपर्ने अवस्था आएको छ।’

महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारत अस्पताल पनि एकदिनलाई इमर्जेन्सीर ओपीडी सेवा बन्द गरिएको छ । अस्पतालका डा. दिनेश श्रेष्ठले बताएअनुसार अस्पताललाई डिइन्फेक्सन गर्न सेवा बन्द गराइएको हो । अहिले संक्रमितको स्वास्थ्यस्थिति स्थिर रहेको उनले बताए ।

महिलाको आन्द्राको शल्यक्रिया गर्ने पनि तयारी भइरहेको छ । उनी १५ दिनअघि भारतको मुम्बईबाट आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment