Comments Add Comment

वीरगञ्जमा सरकारविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप

२९ जेठ, वीरगञ्ज । वीरगञ्जमा सरकारको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनको बारेमा पूर्व सूचना पाएको प्रहरीले घण्टाघर लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर प्रदर्शनमा हस्ताक्षेप गरेको हो ।

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउनको आव्हान गरेर जनतालाई घरमा थुनेर राखेर विभिन्न तहका सरकारले जन हितमा काम गर्न नसकेको भन्दै भिन्न भिन्न समूहले वीरगञ्जमा बिहीबार साँझ प्रदर्शनका कार्यक्रम राखेका थिए ।

पीसीआर परीक्षणलाई तीव्रता नदिई आरडीटी परीक्षणलाई प्राथमिकता दिएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, महामारीसँग जुध्न सरकारले पर्याप्त प्रयास नगरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

घण्टाघरमा भएको प्रदर्शनमा सहभागी हेमन्त तामाङ र राम किशोर सिंह (पराग)लाई नियन्त्रणमा लिएर छोडेको छ । कोरोना भाइरसको महामारीको महामारीको समयमा एउटा गतिलो पीसीआर मेसिन समेत सञ्चालन गर्न नसकेकोले प्रदेश सरकारको विरोधमा प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणमा अन्य प्रदेश भन्दा प्रदेश नम्बर २ निकै पछाडि परेको उनीहरुको धारणा छ । विरोध प्रदर्शनका क्रममा मुख्यमन्त्रीको पुत्ला समेत जलाएको दाबी उनीहरुले गरेका छन् । प्रदेश सरकारको विरोधमा मुख्य मन्त्रीको राजिनामा माग्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर एक घण्टापछि मात्रै छोडेको तामाङले अनलाइनखबरलाई बताए ।

‘प्रदेश सरकारको विरोधमा घण्टाघरमा विरोध कार्यक्रम राखेका थियौं, सक्रिय युवाहरु सहभागी हुन तयारी गर्दै थियौं,’ तामाङले भने, ‘ सुरक्षाकर्मीले कडाई गरेका कारण धेरै घण्टाघरमा जानै दिएनन् । जति जना जम्मा हुन सक्यौं, प्रदर्शन गर्‍यौं ।’ शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारबाट आफूहरुलाई वञ्चित गरिएको उनको भनाइ छ । ‘शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको अधिकार हो । मुलुक संघिय गणतन्त्रमा गईसकेपनि सरकारी रवैया पुरानै छ,’ तामाङले भने, ‘प्रहरीले नियन्त्रणमा लिएर अधिकारबाट वञ्चित गरेको छ ।’

सरकारको विरोधमा वीरगञ्जको आर्दशनगर चोकमा भएको प्रदर्शनमा समेत प्रहरीले अवरोध गरेको थियो । घण्टाघरमा प्रदर्शन गर्ने भनेर तयारी गरेपनि प्रहरीले जानमा रोक लगाएपछि आदर्शनगरमै प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । आर्दशनगर चोकमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन खोजेपछि उनीहरु सडकमै बसेर विरोध जनाएका थिए । १० अर्ब खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, सीमा क्षेत्र र विदेशमा अलपत्र मानिसलाई उद्धार गरिनुपर्ने र आरडीटी परीक्षणलाई बन्द गरिनुपर्ने माग उनीहरुको थियो ।

लकडाउनले मर्कामा परेका जनतालाई सरकारले राहत दिनुको साटो आहत दिएकोले विरोधको आव्हान गरिएको युवा नेता ओम प्रकाश सर्राफले बताए । ‘हामीले घण्टाघरमा विरोध प्रदर्शन गर्न आव्हान गरेका थियौं तर प्रहरीले त्यहाँ सुरक्षा व्यवस्था कडा गरेको रहेछ,’ सर्राफले भने, ‘ त्यही भएर आदर्शनगरमै प्रदर्शन गर्‍यौं, लाठी लिएर प्रदर्शन रोक्न खटिएको प्रहरीसँग केहीबेर घम्साघम्सी भयो ।’

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले भने लकडाउनको उलंघन गरेर भिड जम्मा भएपछि रोक्न खोजिएको बताइन् । ‘ सरकारले लकडाउन केही खुकुलो गरेको हो । त्यसमा सामाजिक दुरी लगायतका स्वास्थ्य सतर्कता अपनाउनुपर्छ,’ एसपी पन्तले भनिन्, ‘ठूलो संख्यामा मानिसहरु जम्मा भएर प्रदर्शन गर्न भएन नी । त्यसले सक्रमण फैलने डर हुन्छ । त्यसैले रोकेका हौं ।’

तस्वीरहरु: प्रणय साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment