Comments Add Comment

८० दिनपछि ट्रेनिङमा फर्किंदा पारस खड्का खुसी

३१ जेठ, काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्का ८० दिनपछि  ट्रेनिङमा फर्किएका छन् । कोरोना भाइरसको महामारीले गर्दा नेपालमा खेलकुद गतिविधि पूर्णरुपमा ठप्प हुँदा खेलाडीहरूले समेत ट्रेनिङ गर्न पाएका थिएनन् ।

तर लकडाउन खुकुलो भएसँगै पूर्वकप्तान समेत रहेका पारसले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा रहेको इन्डोर हलमा ट्रेनिङ थालेका हुन् । उनले शनिबार ट्विटरमा भिडियो पोस्ट गर्दै ८० दिनपछि क्रिकेट ट्रेनिङमा फर्किंदा खुसी लागेको बताएका छन् ।

कीर्तिपुर नजिकै बस्ने राष्ट्रिय टिमका फास्ट बलर अभिनाष बोहराले पनि समय मिलाएर टीयू मैदानमा ट्रेनिङ गरेका थिए । अन्य खेलाडीहरूले पनि सेल्फ ट्रेनिङ गरिरहेका छन् ।

तर नेपाल सरकारले खेलकुदका लागि छुट्टै गाइडलाइन्स सार्वजनिक नगरेकाले खेलाडीहरूले व्यवस्थित रूपमा ट्रेनिङ गर्न पाएका छैनन् । असार १५ पछि ट्रेनिङ गर्ने प्रस्ताव गरेको नेपाल क्रिकेट संघ क्यानले पनि सरकारको गाइडलाइन्स पर्खिरहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भने चार चरणमा क्रिकेटलाई पुरानै अवस्थामा फर्काउन गाइडलाइन्स पनि सार्वजनिक गरिसकेको छ । त्यसअनुसार विभिन्न देशले क्रिकेटको ट्रेनिङ सुरु गरेका छन् । एसोसिएट राष्ट्रहरू यूएई र मलेसियाले पनि ट्रेनिङ सुरु गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment