Comments Add Comment

सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा टोकन प्रणाली लागू 

१ असार, वीरगञ्ज । सरकारले सरकारी कार्यालय खोलेर सार्वजनिक सेवा प्रवाहका लागि निर्देशन जारी गरेपछि पर्सामा कार्यालय खुल्ने क्रम सुरु भएको छ । सोही क्रममा धेरै भिडभाड हुने कार्यालय मध्येको एक जिल्ला प्रशासन कार्यालय पर्साले टोकन प्रणाली लागू गरेको छ ।

जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले असार एक गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयको निर्देशन एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सेवा सञ्चालन सम्बन्धमा जेठ ३२ गते जारी गरिएको प्रोटोकल समेतलाई मध्यनजर गरेर सेवा प्रवाह गर्न लागिएको हो ।

कोटा अनुसार पहिला आउने वा सम्पर्क गर्ने सेवाग्राहीहरुलाई प्राथमिकताको आधारमा टोकन नम्बर दिइने र सेवा लिन आउने समय समेत निर्धारण गरी जानकारी गराइने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सार्वजनकि सेवा प्रवाहमा कोटा सिस्टममा जाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

‘पर्सा कोरोना संक्रमित धेरै भएको जिल्ला हो, संक्रमणको उच्च जोखिमै छ, संक्रमणबाट आफू पनि बच्नुपर्छ र अरुलाई बचाउनुपर्छ,’ सहायक प्रजिअ बस्नेतले भने, ‘त्यसैले सेवा प्रवाहको क्रममा भिडभाड नहोस् भनेर कोटा सिस्टम लगाएका छौं । ’

कोरोनाको संक्रमण फैलन नदिन, त्यसको रोकथाम, नियन्त्रण र व्यस्थापनलाई प्रभावकारी बनाउन अति आवश्यक नपरी सेवा लिन हतार समेत नगर्न उनको सुझाव छ । दैनिक नयाँ नागरिकता २० वटा, नागरिकता प्रतिलिपि १० वटा र राहदानी सम्बन्धी १५ वटा कोटा निर्धारण गरिएको छ ।

सेवा प्राप्त गर्न भिडभाड नहुने गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कार्यालयमा सञ्चालन हुने हेल्प डेस्कमा आई वा फोन नम्बर ०५१–५२२११० मा सम्पर्क गरी वा daoparsa को फेसबुक आईडीमा व्यक्तिगत विवरण र काम सम्बन्धमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

सेवा लिनका लागि प्रशासनले केही अनिवार्य गनुपर्ने नियम बनाएको छ । हरेक सेवाग्राही (कर्मचारी समेत)ले मास्क लगाएको हुनुपर्ने, कार्यालय प्रवेश गर्नुपूर्व थर्मल गनमार्फत तापक्रम जाँच गराउनुपर्ने, कार्यालय प्रवेश गर्नुपूर्व परिसर बाहिर व्यवस्था गरिएको ठाउँमा साबुन पानीले हात धुनुपर्ने, कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने, टोकन नम्बर उपलब्ध गराउँदा निर्धारण गरिएको समयमा अनिवार्य आउनुपर्ने भनिएको छ ।

शान्ति सुरक्षा लगायत अति आवश्यक प्रकृतिको सेवाको लागि भने टोकन आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment