Comments Add Comment

कवि विप्लवको बेग्लै जीवन

लामो सेतो कपाल, सेतै दाह्री, टिसर्ट र हाफपेन्ट लगाएको एउटा मान्छे केही दिनअघि बुकाहोलिक्सको फेसबुक लाइभमा देखा पर्‍यो । साँझपख लाइभमा आएका उनी आफ्नो साहित्यिक जीवनका प्रारम्भिक दिनबारे बोलिरहेका थिए ।

करिब आधा घण्टा आफ्नो विगतमाथि बोलेपछि उनले कविता सुनाउने भए । छेउमै राखिएको स्कच एक चुस्की पिए र कविता सुनाए ।

यति नालीबेली खुलाएपछि अधिकांश साहित्यप्रेमीलाई त्यो मानिस अरू कोही नभएर विप्लव प्रतीक नै हुनुपर्छ भन्ने अनुमान हुन्छ । भेषभूषा र ‘लुक्स’ले मात्र होइन विप्लवको कविताको शैली र मखमली बोलीले पनि उनलाई चिनाइहाल्छ ।

२०७६ साल चैतपछि नेपाल सरकारले ‘लकडाउन’ लागु गर्‍यो । अधिकांश मानिस घरभित्रै सीमित रहे । लकडाउनको समयसीमा बढ्दै जाँदा मानिसहरू एकैठाउँमा बस्न नसकी आजित भएर घरबाहिर निस्किन थाले । सानो क्षेत्रफलमा बनेका घर तथा डेरामा बस्ने काठमाडौंवासीलाई चौघेरामा समय बिताउन निकै सकस पर्‍यो ।

तर काठमाडौंको डिल्लीबजार बस्ने कवि विप्लव प्रतीकको कथाचाहिँ बेग्लै छ । लकडाउन लागु भएको सातादेखि उनी आजसम्म घरबाहिर निस्केका छैनन् ।

लकडाउन घोषणा भएको साढे दुई महिना बितिसकेको छ । घरमा नितान्त एक्लै बस्ने कवि एवं गीतकार विप्लव प्रतीक एकपटक पनि घरको सेरोफेरोबाट बाहिर गएका छैनन् ।

कतिलाई लाग्ला सबैकुरा पुगेपछि मान्छे बसिरहन सकिहाल्छ नि !

‘म सबैकुरा पुगेरबसेको होइन, पुर्‍याउने अक्किल पत्ता लगाएर बसेको हो ।’ उनी भन्छन्, ‘अवस्थाको स्वरूप बुझ्न सक्यो भने मान्छेले जस्तो कष्ट पनि सजिलै काट्छ । एउटै पीर वा एकै खालको समय सधैं रहँदैन ।’

उनले केके कष्ट काटे, जसले हरेक परिस्थितिसँग जुध्न सक्ने साहस दिलायो ?

विप्लव बिस्तारै जवाफ दिन्छन्-

‘एक्लै बस्न थालेको दुई दशक पुग्न लाग्यो । सुरूका दिनमा रेष्टुराँमा खाएर नहेरेको पनि होइन । तर बाहिरको खानाको सबै स्वादसँग परिचित भएपछि आफैं पकाउने निधो गरें । आफ्नो सबै व्यक्तिगत काम आफैंले नै गर्ने बानी बसाएँ ।’

उनले पाककलाको सीप कतै सिकेका होइनन् । जहाँ पुग्थे-खान्थे, त्यो यसरी बनेको हुनुपर्छ, योयो मसला प्रयोग भएको छ भन्ने ख्याल गर्थे । द्विविधा भयो भने सोध्न हिच्किचाउँदैनथे । अनि घरमा त्यसको अभ्यास गर्थे ।

विप्लव भन्छन्, ‘मैले बनाएको खानेकुरा सबैले मीठो मान्छन् । तर, मैले बनाएको स्वादिलो मात्रै होइन, हेल्दी र हाइजेनिक पनि हुन्छ ।’प्रौढ हुँदै गरेको उमेरमा एक्लो बसेको देख्दा विप्लवका केही शुभचिन्तक दुःखी हुने रहेछन् । ‘एक्लो मानिस, के बनाएर खान्छ, कसरी सबै काम भ्याउँछ?’

आफन्त र शुभचिन्तकले यस्तै भनेर बारम्बार गुनासोपनि गर्दा रहेछन् । तर विप्लवको विचार भने बेग्लै छ । ‘मैले पकाएर खान नजानेको भए पो समस्या हुन्थ्यो । घर चलाउनेदेखिसबै काम गर्न नजान्दा पो विचल्ली हुन्थ्यो । मैले जानेको छु र अल्छी पनि गर्दिनँ । अब दुःखी हुनुपर्ने कारण नै के छ र !’

०००

सामान्य दिनमा विप्लव घरबाहिर भेटिन्छन् । साहित्यिक कार्यक्रम, सांगीतिक प्रस्तुति, नाटक तथा चित्रकला प्रदर्शनीले उनलाई एक्लो हुन दिँदैन । कतै अतिथि त कतै आफैं आयोजक । उनी सहरमा चलायमान हुनुको विकल्प छैन ।

बन्दाबन्दीको समयले सबै सार्वजनिक समारोह महिनौंका लागि रोकिएका छन् । स्वास्थ्यको कारण पनि घरमै बस्नुपर्ने बाध्यता सबैलाई छ । तर, एउटा सृजनशील मानिस घरभित्रै बसिरहन सक्दैन । शरीर घरमा भएपनि उसको कल्पना र सृजनाले सारा संसार विचरण गरिरहेको हुन्छ । विप्लव पनि भौतिक रूपमा मात्रै घरमा छन् । उनको हंस भने हरबखत गतिशील छ ।

यी कविलाई घरभित्रै बस्नुपरेकोमा केही फिक्री छैन । आधारभूत आवश्यकता मिले सदाकालको लागि एक्लो बस्न सक्ने कुरा उनी निर्धक्क बताउँछन् । तर, सामाजिक जीवनसँग भागेर गुप्तवास बस्ने कुरा सोच्नसमेत सक्दैनन् ।

सृजना, पाककलामा मात्र होइन ‘श्रृंगार, सजावट र सरसफाइ’मा पनि उनकोसमय बित्छ । पुरूषले यी सबै काम गरेको देख्दा कतिले उनलाई ‘स्त्री-स्वभाव’को पनि मान्न सक्छन् ।

स्त्री-स्वभावबारे चर्चा हुँदा विप्लव भन्छन्, ‘स्त्री-स्वभाव आउनु भनेको ठूलो कम्पिलिमेण्ट हो मेरालागि । मेरालागि स्त्री भनेको शक्ति, स्नेह, करूणा र हौसलाको प्रतीक हो । ममा पनि त्यस्ता गुण हुनु सौभाग्य हो ।’

अर्काले सफा गर्दिएको ठाउँमा बस्नु, अर्काले पकाएको कपाकप खानु र आफ्नो निम्ति सिन्को नभाँच्नु सामन्ती स्वभाव र संस्कार हो । त्यो उनलाई मन पर्दैन । उनी भन्छन्, ‘म सकेसम्म अरूलाई काम अह्राउँदिन । कुनैबेला घरमा भाञ्जीहरू बस्थे । कहिलेकाहीँ पानी देऊ त एक ग्लास भनेर माग्न मन लाग्थ्यो । जुरूक्क उठ्थेँ र आफैँ सारेर खान्थेँ ।’ यही सोचाइले उनको दैनिकीर जीवन अरूको भन्दा भिन्न बन्न पुगेको छ ।

भान्छाकोठादेखि बैठककोठासम्मको सरसफाइ र सजावट उनको दैनिकीमा पर्छ । ‘सजाउने भनेर विलासिताका सामग्रीले कोठा सजाउने होइन’ उनी भन्छन् ‘आफूसँग हृदय जोडिएका कुरालाई सजाउन जान्यो आफ्नै घर स्वर्गसरह बन्छ ।’

यसैले त उनले महंगो पेन्टिङदेखि ग्लास, सीसाकलम, सडक बालबालिकाले बनाएको हार्लेडेभिडसनको सजाउने मोटरसाइकल, फोटोग्राफ, कैदीबन्दीले बुनेको मुढासम्म जतनले सजाएका छन् । घरमा भएका प्रत्येक सरसामानसँग एकएक कथा जोडिएका छन् । कुनै उपहारमा पाएका, कुनै आफैंले किनेको, कुनै लिलाम बढाबढमा लिएको ।

उनलाई थाहा छ- भौतिक देह र वस्तु मिथ्या हो,अस्थायी हो । यति नजानेर सामानप्रति यति मोहित भएका होइनन् । बरू जीवनकालमा आफ्नो सम्झना जोडिएका सरसामान भएकाले तिनको जतन गर्नु उनी कर्तव्य ठान्छन् ।

पुनः पकाउने कुरामै जाउँ । आज पकाएको स्वादिलो खाना पनि एक्लै खानुपर्ने कुराले यी कविलाई चिन्ता लागिरहेछ । भन्छन्, ‘भोलि संसारैभरि महामारी साम्य भएपछि सबैजना सँगै बसेर खाने दिन आउनेमा आशावादी छु । बाँडेर खान नपाउँदा मलाई सकस हुन्छ ।’

थोरै भएपनि घरमा सिस्नो रोपेका छन् । छतमागोलभेँडा, बाबरी, घिउकुमारी र खुर्सानी फलेको छ । हरेक चीज आवश्यक मात्रामा मात्रै जतनसँग पकाउने भएकाले एक पटक ल्याएको सामान अलि लामै चल्छ ।

घर नजिकै सब्जी बेच्न आउनेले विप्लवलाई के मन पर्छ बुझिसकेका छन् । कहिले भेट्न आउने आगन्तुकले करेसाबारिमा फलाएको फर्सीको मुन्टा, साग, धनियाँ ल्याइदिन्छन् । कसैले पानी त कसैले उनको मनपर्ने स्कच ल्याइदिन्छन् । धनियाँ-आलु, निगुरो, तीतेकरेला, खुर्सानी र अण्डाको चटनी, उनको भान्छामा दोहोरिरहन्छन् ।

‘ताजा खानेकुराले छाक टार्न विप्लव दाइलाई कोरोनाको बाउले पनि रोकेन’, साइक्लिङ गर्दै विप्लव निवास आइपुगेका रंगकर्मी राजन खतिवडा ठट्टा गर्दै भन्छन् ।

महामारी सुरू भएपछिको दैनिकीबारे विप्लव भन्छन्- ‘बिहान दुई सय चोटि पुस-अप र डोरी खेल्छु । कागतीपानी, मेथी र घिउकुमारी खाएपछि पकाउने काममा जुट्छु । मध्यान्ह लेखपढ गरेर सिनेमा हेर्दै बिताउँछु अनि साँझमा संगीत र थोरै सुरापानले म दिवसको अन्त्य गर्छु ।’

विप्लव प्रतीक रक्सी खान्छन् । कोठामा रक्सी कतै पनि नलुकाउने उनको रक्सीमाथि आफ्नै धारणा छ । ‘लफ्रोइग’ सिंगल मल्ट उनको प्रिय ब्राण्ड । पिउँछन् तर मात्तिन होइन, शालीन तरिकाले- ठीक्क, स्वाद लिइलिइकन। सहरमा उनले पिएर चर्को बोलेको आजसम्म कसैले सुनेका छैनन् ।

‘शब्द, सम्बन्ध र रक्सीलाई बडो जतनले चलाउँछु’ उनले भनिसकेका छन् ।

०००

विप्लवको जन्म-कर्म, धर्म र अधर्मको भूमि काठमाडौं नै हो । जीवनका यी सबै सत्य काठमाडौँसँगै जोडिएको छ उनको । केही समय अमेरिका, रूस र अन्य देशमा पनि नबसेका होइनन् । यद्यपि, समयको लहरमा उनी काठमाडौँकै हुनुरहेछ ।

काठमाडौँका हरेक गल्ली, चोक र मोडमा उनका पाइला परेका छन् । आज छतबाट नियाल्नुपर्ने काठमाडौंको तीतो यथार्थले उनलाई पोल्छ । आफूलाई चाहिने सागसब्जी र फलफूल रोप्नसमेत नसकिने शहरको भीडसँग उनी नचाहेर पनि ठोक्किनु परेको छ ।

मूलतः कविको परिचय बनाएका उनको ‘नहारेको मान्छे’ र ‘अ पर्सन किस्ड बाइ दि मून’ कवितासंग्रह प्रकाशित छ । जून फ्रान्सेली र स्पेनी भाषामा पनि प्रकाशित छ । दुई वर्षअघि ‘अविजित’ उपन्यास निस्कियो । अघिल्लो वर्ष ‘महाभोज’ नाटकको अनुवाद र प्रदर्शन गरे । यससँगै गीतलेखन नित्य कर्ममा पर्छ उनको ।

गीत लेखेको संख्यामा निकै थोरैमात्र संगीतबद्ध भएर रेकर्ड भएको छ उनको । संगीतमा अति लगाव भएका विप्लव गीत तयार गर्ने मामिलामा चुजी छन् । ‘हर रात सपनीमा ऐंठन हुन्छ’ गीतका यी स्रष्टाको देह शहरमा भएपनि रचना ग्रामीण परिवेश केन्द्रित छ ।

घरमा एक्लै बस्नुपर्दा मन पर्ने गीत सुन्नेमात्र होइन, त्यसको शब्द रचना कापीमा टिप्ने र गिटारको तालमा आफैँगुनगुनाउने गर्छन् ।

‘म पहिला आफ्नो रचनामात्र सबैभन्दा गज्जब ठान्थें’ किशोरवयका दिन सम्झिँदै उनी भन्छन् ‘आज बुझेको छु एउटामात्र कविले यो युगको कुरा भन्न सक्दैन । हजारौं कवि चाहिन्छन् ।’

यही बोधपछि उनले सबैको रचनालाई उतिकै महत्त्व दिन थाले । तिनलाई पढ्दा, गाउँदा र मनमा राख्दा पनि श्रद्धापूर्वक ग्रहण गर्छन् ।

‘गरिबीको चरम अवस्थामा रहेको नेपालजस्तो देशमा सबै मानिसलाई विप्लव प्रतीकझैँ घरभित्रै बसिरहन सम्भव छ ?’

विप्लव आफैंसँग प्रश्न गर्न हिच्किचाउँदैनन् । र, आफ्नो तर्फबाट सकेको सहायता गर्छन्, तर त्यो कुरा कसैलाई सुनाउन चाहँदैनन् ।

चाहेअनुरूप असहायलाई केही सहयोग गर्न नसक्दा खिन्न पनि हुन्छन् । कहिलेकाहीँ यो कुरा थाहा नपाएर उनको दयालु मनमाथि कसैले प्रतिप्रश्न गरे जवाफमा कविताका दुई लाइन आइसकेका हुन्छन्-

मलाई मन छ,म भएको कसैलाई थाहा नहोस्

मलाई मन छ, म गएको पनि कसैलाई थाहै नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment