Comments Add Comment

धादिङमा आरडीटी गरेर घर पठाइएका २४ जनामा संक्रमण पुष्टि

३२ जेठ, काठमाडौं । र्‍यापिड डायग्नोस्टिक टेस्ट(आडीटी) गरेर घर पठाइएका धादिङका २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरू सबै नीलकण्ठ नगरपालिकाका हुन् ।

नगरपालिकाले भारतबाट आएर भैरहवामा अलपत्र परेका ६८ जना नगरवासीलाई गत जेठ १० गते एउटै बसमा ल्याएर धादिङबेंसीस्थित बालमन्दिर क्वारेन्टिनमा राखेको थियो । र, जेठ १८ गते आरडीटी परीक्षण गरेर घर पठाइएको थियो ।

भारतबाट जेठ १४ गते १८ जना र १६ गते थप १० जना आएका थिए, उनीहरुको भने थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षणका लागि पठाइयो । उनीहरूमध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर २५ गते आयो ।

एउटै क्वारेन्टिनमा बसेका १६ जनामासंक्रमण पुष्टि भएपछि नगरपालिकाले आरडीटी गराएर घर पठाइहरुको खोजी थाल्यो । र, स्वाब संकलन गरेर टेस्टका लागि पठायो ।

पीसीआर टेस्टका लागि किट अभाव भएपछि आडीटी गरेर पठाएको तर उनीहरूमा नै संक्रमण पुष्टि भएको नगरप्रमुख भीम ढुंगानाले बताए । ‘त्यतिबेला पीसीआर टेस्टका किटको अभाव थियो । त्यसैले आरडीटी गरेर पठाएका थियौं’ उनले भने, ‘किट आएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण भेटिएको छ ।’

७५ जनाको स्वाब संकलन गरेर पठाउँदा २४ जनामा कोरोना सक्रमण पुष्टि भएको नगरका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद रिजालले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा वडा नं ७ र १४ का ७/७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना छन् ।

नगरपालिकाले थप ८१ वटा स्वाब संकलन गरेर पठाएको छ तर, रिपोर्ट आउन बाँकी छ ।

अब के गर्ने ?

घर गएका २४ जनाको रिपोर्ट पोजेटिभ आएपछि आइतबार बसेको जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (डीसीसीएमसी)को बैठकले संक्रमित भेटिएको गाउँ सिल गरेर शंकास्पद सबैको परीक्षण गर्ने निर्णय गरेको छ ।

हरेक संक्रमितको परिवारमा रहेको उसले धेरै घुलमिल गरेको एक जनाका साथै कोही वृद्धवृद्धा र दीर्घरोगी छन् भने उनीहरूको समेत स्वाब संकलन गर्ने तयारी भइरहेको रिजालले जानकारी दिए । उनका अनुसार यसरी परीक्षण गर्दा बढीमा ५० वटा किट आवश्यक पर्नसक्ने आकलन गरिएको छ ।

‘संक्रमितको श्रीमान् या श्रीमतीलाई परीक्षण गर्ने र दीर्घरोगी भए उनीहरूको समेत परीक्षण गर्ने तयारी भइरहेको छ’ रिजालले अनलाइनखबरसँग भने ‘अब सो गाउँ नै सिल गरेर परीक्षण गर्ने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment