+
+
Shares

आम्दानीको स्रोत बन्दै भटमास खेती

रासस रासस
२०८३ असोज २ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरका किसानहरूले भटमासखेतीमार्फत अतिरिक्त आम्दानी गरिरहेका छन् र यो व्यावसायिक नगदेबालीका रूपमा फैलिँदै गएको छ।
  • स्थानीय बजारमा भटमासको हरियो कोसा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको किसान रमला थापाले बताए।
  • किसानहरूले मुख्य बालीसँगै खाली जमिनमा भटमास रोपेर माटोको उर्वराशक्ति बढाउन र जीविकोपार्जन गर्न थालेका छन्।

२ असोज, भोजपुर । भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् । अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको माग बढी हुन थालेपछि यहाँका किसान भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।

भोजपुर नगरपालिका-५ का किसान रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको छ । हाल स्थानीय हाटबजार तथा आसपासका क्षेत्रमा भटमासको हरियो कोसा प्रतिकिलो रु १०० देखि १५० सम्ममा सजिलै खरिदबिक्री हुने उनले बताए। थोरै लगानी र कम मिहिनेतमा पनि राम्रो प्रतिफल पाइने भएकाले यसलाई किसानहरूले बलियो नगदेबालीका रूपमा लिन थालेका उनको भनाइ छ ।

‘भटमासखेतीको अर्को मुख्य विशेषता भनेको यसलाई अन्य मुख्य बालीसँगै लगाउन सकिन्छ । सुन्तलाका बगैँचा, मकैबारी, खेतको आली तथा अन्य फलफूलका बोटहरूका बीचमा रहेको खाली जमिन सदुपयोग गरी भटमास रोप्न सकिन्छ’, थापाले भने।

एकातिर खाली जमिनको सही सदुपयोग भई अतिरिक्त आम्दानी दिनुका साथै भटमासको बोटले माटोमा नाइट्रोजन स्थिर गरी उर्वराशक्ति बढाउनसमेत सहयोग पुर्‍याउने कृषि विज्ञहरू बताउँछन् ।

किसान भीमप्रसाद फुयाँलका अनुसार बजारमा भटमासको हरियो कोसाको माग दिनप्रतिदिन बढ्दो छ । पोषणयुक्त र स्वादिष्ट मानिने भएकाले उपभोक्ताले हरियो कोसालाई निकै रुचाउने गरेका उनको अनुभव छ । ‘बजारमा पुर्‍याउना साथ सजिलै बिक्री हुने भएकाले किसानलाई बिक्रीका लागि बजारको कुनै समस्या छैन । हरियो कोसालाई उसिनेर खान तथा तरकारीका रूपमा पनि प्रयोग गर्न उपभोक्ताले खरिद गर्दछन्’, उनले भने।

मुख्य बालीको बीचमा खाली रहेको जमिनमा रोप्दा अतिरिक्त आम्दानी लिन सकिने भएपछि भटमासखेती भोजपुरका ग्रामीण भेगका किसानहरूका लागि जीविकोपार्जन र आर्थिक उपार्जनको दरिलो माध्यम बन्दै गएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?