Comments Add Comment

‘उद्धार’ फ्लाइटको भाडा फेरि घट्यो [ सूचीसहित ]

३१ जेठ, काठमाडौं । सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ ।

चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै आलोचना भएपछि सरकारले शुक्रबार केही भाडा घटाएको थियो । त्यसको २४ घण्टामा फेरि भाडा घटाएको छ । यसपटक भने प्रमुख श्रम गन्तव्यहरूको मात्रै उडान भाडा घटाइएको छ । दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ ।

भाडा घटाउन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले गृहकार्य गरेर जवाफ दिने बताउको छ ।

मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ । नयाँ भाडादरअनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ ।

त्यसैगरी दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो ।

साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ ।

ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा नेपाल एयरलाइन्सको टिकट पाउने छन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर थियो ।

कुवेतको भाडा ५१० डलरबाट ४१० मा झार्ने सहमति भएको छ । जोर्डनको भाडा ७७५बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment