Comments Add Comment

नारायणगढ–बुटवल सडक विस्तारलाई गति दिन आग्रह

१ असार, चितवन । लकडाउनका कारण निकै सुस्त बनेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई गति दिन गैंडाकोट नगरपालिकाले आग्रह गरेको छ । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले सडक विस्तारको काम निकै सुस्त गतिमा भएकाले गति दिन आयोजना समक्ष अनुरोध गरेको बताए ।

उनले गैंडाकोट क्षेत्रमा पर्ने सडकखण्डमा काम अघि बढाउन आवश्यक व्यवस्थापकीय काममा नगरपालिकाको तर्फबाट सहजीकरण गर्ने बताए । ‘कामदार, आवश्यक निर्माण सामग्री ल्याउन सहजीकरण गर्न हामी तयार छौं, कहाँ जानुपर्छ म जान तयार छु, तर ठेकेदारले काम अघि बढाउनुपर्छ, कामको गति दिनुपर्छ’ नगर प्रमुख पौडेलले अनलाइनखबरसँग भने, ‘लकडाउनलाई कारण देखाउँदै काम ढिलाढाला गर्नुहुँदैन यो राष्ट्रिय गौरवको परियोजना हो ।’

उनले सडक विस्तार आयोजनामा काम गर्ने कामदारका लागि क्वारेन्टिन बनाउन नगरपालिकाको तर्फबाट सहयोग गर्ने वचन पनि दिएका छन् । ‘उहाँहरूलाई जहाँ-जहाँ समस्या पर्छ म त्यहाँ जान्छु, तर काम रोक्न भएन, कामदार लिन जान परे पनि जान्छु,’ नगरप्रमुख पौडेलले भने ।

ठेकेदारले काम नगर्दा सडक विस्तारको काम निकै सुस्त छ । कामदार र निर्माण सामग्री नभएको भन्दै सडक विस्तारको कामले गति पाएको छैन । आयोजना पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले ठेकेदारसँग आवश्यक समन्वय गरे पनि कामले गति पाउन नसकेको बताए । आयोजनाको पूर्वी खण्डको भेंडाबारीमा सामान्य कल्भर्टको काममा केही कामदारहरू मात्रै देखिन्छन् । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा त्यति पनि काम हुन सकेको छैन । कामदार पनि निकै कम छन् ।

लकडाउनका कारणले काम गर्न नपाएको गुनासो विगतमा ठेकेदारबाट आएको भए पनि अहिले सरकारले काम सुरु गर्न आवश्यक प्रवन्ध गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको छ ।

११३ किलोमिटर लामो नारायणगढदेखि बुटवलसम्मको सडक विस्तारको कामलाई गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ बनाएर ठेक्का लगाइएको छ । दुवै खण्डको निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ ।

२०७५ पुसमा ठेक्का सम्झौता भएर सोही वर्ष चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास बुटलबमा गरेका थिए ।

२०८० साउन २२ गतेसम्ममा निर्माण सकिसक्नुपर्ने सडकको गैंडाकोट-दाउन्नेखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment