Comments Add Comment

सुदूरपश्चिम : झण्डै २ लाख भारतबाट आए, ८ हजार मात्र पीसीआर टेस्ट

३२ जेठ, कैलाली । गत चैत १४ गते दुबईबाट आएका धनगढीका युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि धेरैको ध्यान सुदूरपश्चिमतिर तानियो । काठमाडौं उपत्यकाबाहिर कोभिड– १९ को पहिलो केस नै त्यही थियो ।

२२ चैतमा उनको भाउजूमा पनि कोरोना पुष्टि भएपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । उनीबाहेक भारतबाट आएका दुई जनामा पनि संक्रमण पुष्टि भएपछि धेरैले अनुमान गरे–सुदूरपश्चिम प्रदेश ‘हटस्पट’ बन्नेछ ।

भारतबाट फर्किनेहरुको संख्या ठूलो भएकाले पनि ‘हटस्पट’ बन्ने आशंका बढाएको थियो । तर अहिले कोरोना संक्रमितको संख्या अन्य प्रदेशमा भन्दा सुदूरपश्चिममा कम छ ।

संक्रमित नभएको हो कि टेष्ट कम ?

५ जेठयता सुदूरपश्चिमका चारवटा सीमा नाकाबाट १ लाख ५ हजार बढी नागरिक भित्रिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । २३ फागुनयताको संख्या जोड्ने हो भने दुई लाख ६५ हजार बढी हुन आउँछ ।

उनीहरुमध्ये झण्डै २ लाख सुदूरपश्चिम प्रदेशकै हुन् । अहिले पनि प्रदेशका ९ जिल्लाका स्थानीय तहहरुको क्वारेन्टिनमा ६१ हजार ५७३ जना बसिरहेका छन् ।

तर अहिलेसम्म पीसीआर टेष्ट भने हालसम्म आठ हजार ६७८ जनाको मात्र भएको छ । रिर्पाेट आएकामध्ये २५२ जना संक्रमित छन् । स्वाब संकलन गरेर पठाइएका मध्ये एक हजार ८८६ जनाको रिपोर्ट आउँन बाँकी छ ।

‘क्वारेन्टाइनमा धेरै मानिस छन्, उनीहरु सबैको परीक्षण गर्न सक्ने अवस्था छैन’, प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्र भन्छन्, ‘परीक्षण नै कम हुँदा सबै संक्रमित पहिचान नभएको हो कि भनेर चिन्तित हुनुपर्ने अवस्था छ ।’

उनकाअनुसार क्वारेन्टिनमा बसेकाहरुको पीसीआर त धेरै पर, आरडीटीसमेत टेष्ट गर्न छाडिएको छ । डा. मिश्र भन्छन्, ‘सबैलाई सम्भव नभएकाले लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने, अरूलाई १४ दिन क्वारेन्टिनमा राखेर घर पठाउने नीति छ ।’ जबकी पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको परीक्षणसम्बन्धी प्रोटोकल, जसको विज्ञहरुले आलोचना गरेका छन्, त्यसमा पनि लक्षण नभएकाहरुलाई आरडीटी गर्नुपर्ने उल्लेख छ ।

जनस्वास्थ्यका विज्ञहरुले भने लक्षिण नदेखिएको भन्दै विना परीक्षण घर पठाउँदा गाउँगाउँमा कोरोना भाइरस फैलिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

एकातिर संकलन गरिएका स्वाबको रिपोर्ट समयमा नआउने र क्वारेन्टिनको नियम पालना नहुने, अर्कातिर परीक्षण नै नगरी घर पठाउँदा संक्रमण फैलने खतरा बढेको सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर बताउँछन् ।

त्यस्तो हुन्न, टेष्ट गर्छौं : मन्त्री

प्रादेशिक स्वास्थ्य निर्देशनालयले १४ दिन क्वारेन्टिनमा बसेकाहरुमा लक्षण देखिएन भने परीक्षण नगरी घर पठाउने निर्देशनप्रति प्रदेश सरकारले चासो देखाएको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीकाअनुसार उनले निर्देशक गुणराज अवस्थीलाई यसबारे सोधेका थिए । ‘उहाँले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नै यस्तेा गरेको हुँ भन्नुभएको छ’ उनले भने, ‘तर मैले हुन्न भनेको छु ।’

आफूले आइतबार मात्र सबै जिल्लामा गरी ३४ हजार आरडीटी किट पठाएको उनले बताए । आरडीटी पोजेटिभ आएकाहरुको पीसीआर गर्ने र अरुलाई ७ दिन होम क्वारेन्टिनमा राख्ने भन्दै उनले, ‘हामी सबैलाई टेष्ट गरेर मात्र घर पठाउँछौं । टेष्ट नगरी त जानुस् भने पनि कोही मान्ने वाला छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment