Comments Add Comment

भारतीय मिडियाको चर्चा : नेपालसित वार्ताको सम्भावना छैन !

३२ जेठ, काठमाडौं । नेपाल–भारत सीमा विवादलाई लिएर केही दिनयता लगातार भ्रमको खेती गर्दै आएका भारतीय मिडियाहरु नेपालको संसदले संविधान संशोधन गरेपछि भने केही मत्थर देखिएका छन् । संसदबाट सर्वसम्मतले नेपालको नयाँ नक्सा पारित भएको विषयले भारतीय मिडियामा उच्च प्राथमिकता पाएको छ ।

केही दिनअघि संसदको कार्यसूचीबाट हटाइँदा भारतीय मिडियाले नेपाल पछि हटेको र नेपाली कांग्रेस संसोधनको पक्षमा नरहेको समाचार दिएका थिए । अहिले काठमाडौंमा युवाहरुले गरिरहेको प्रदर्शनलाई पनि केही मिडियाले अपव्याख्या गरिरहेका छन् । तर, हिजोको संसदको समाचार भने तोडमोड गरिएको छैन । तथापि भारतीय मिडियाले त्यहाँको सरकारकै भाषा बोलेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ताको औपचारिक विज्ञप्तिबाहेक भारतीय पक्षको भनाइ कुनै पनि समाचारमा भेटिदैन ।

टाइम्स अफ इन्डियाले नेपालको नयाँ नक्शा भारतका लागि अमान्य भएको भन्दै विश्लेषणात्मक समाचार लेखेको छ । पछिल्लो पाँच वर्षमा दोस्रोपटक नेपालसँगको सम्वन्ध तनावपूर्ण बनेको समाचारमा उल्लेख छ ।

समाचारको सुरुवातमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको वक्तव्य उद्वृत गरिएको छ । हिजो जारी गरेको वक्तव्यमा उनले भनेका छन्, ‘नेपालले कृत्रिमरुपमा गरेको नक्शा विस्तार ऐतिहासिक तथ्यमा आधारित छैन । सीमासम्वन्धी बाँकी विवादहरु वार्ताबाट सुल्झाउने समझदारीको उल्लंघन भएको छ ।’

स्रोतको हवाला दिँदै उक्त समाचारमा गरिएको दावी अनुसार नेपाल र भारतबीच अब यस विवादलाई लिएर वार्ताको सम्भावना छैन ।

‘हामी आफ्नो टाउकोमाथि तरबार राखेर वार्तामा बस्दैनौं,’ स्रोतलाई उद्वृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्वन्धलाई आधारभूतरुपमै परिवर्तन गर्न खोजेको बुझाइ भारतमा रहेको समाचारमा उल्लेख छ ।

‘ओलीले दुईपटक भारतको चाहनाविपरीत चुनाव जिते । उनी अहिले नेपालमा राष्ट्रवादको मानक बनेका छन् । सीमा विवादलाई पनि उनले चतुरतापूर्वक अघि बढाइरहेका छन्,’ टाइम्स अफ इन्डियाले लेखेको छ ।

यसैगरी, ‘द हिन्दू’ ले नेपालले ‘नयाँ नक्शाको संसोधन अनुमोदन’ गर्यो भन्दै लामो समाचार प्रकाशित गरेको छ । समाचारमा भारतीय पक्षबाट कसैको भनाइ समावेश छैन । नेपालका पूर्वविदेशमन्त्री रमेशनाथ पाण्डेको भनाइ समावेश छ । उनले भनेका छन्, ‘दुई देशको सीमा विवाद अब निकै पेचिलो भनेको छ । किनभने, हाम्रो संविधानमा गरिएको प्रवन्धलाई लिएर अर्को देशसँग कुनै सम्झौता गर्ने अधिकार अधिकारीहरुस्ँग छैन ।’

हिन्दूस्तान टाइम्सले चाहिँ नेपालले आफ्नो नक्शा ‘तोडमोड गरेको’ र यसलाई भारतले मान्यता नदिने भन्दै समाचार कभरेज गरेको छ । यो समाचारले पनि भारतीय विदेश मन्त्रालयको विज्ञप्तिलाई बढि महत्व दिएको छ । भारत चीनसँग सीमा विवादमा उल्झिरहेको बेला नेपालसित तनाव बढाउनु नहुनेमा विज्ञहरुले जोड दिएको समाचारमा उल्लेख छ ।

भारतबाटै प्रकाशित हुने अनलाइन पोर्टल ‘द वायर’ ले पनि नेपालको समाचारलाई महत्वका साथ स्थान दिएको छ । ‘नयाँ नक्शालाई अनुमोदन गर्न नेपालले चाल्यो पहिलो कदम, भारत भन्छ अमान्य’ शिर्षकमा समाचार प्रकाशित गरेको हो । अरु मिडियाको भन्दा यो समाचार सन्तुलित छ ।

द इन्डियन एक्सप्रेसले समाचार शिर्षकमै नेपालका प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरेको तर भारतले त्यसमा चिसो प्रतिक्रिया दिएको उल्लेख गरेको छ । समाचारमा संसदमा देउवा, प्रचण्डदेखि उपेन्द्र यादव र प्रेम सुवालसम्मले बोलेका कुराहरुलाई समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment