+
+
Shares
पुस्तक समीक्षा :

‘युद्ध पत्रकारिता’ भित्र मिसन पत्रकारिताको खोज

जनयुद्धकालीन पत्रकारितामा तटस्थ रहनु कति चुनौतीपूर्ण थियो ? सञ्चारमाध्यमहरू केवल सूचना संवाहक मात्र थिए कि वैचारिक शक्ति संरचनाका हिस्सा पनि थिए ? 

डा. दीपेन्द्र रोकाया डा. दीपेन्द्र रोकाया
२०८३ असार १ गते ९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपेन्द्र शर्माद्वारा लिखित वर्षा मल्टिप्रपोज मिडिया प्रालिबाट प्रकाशित ‘युद्ध पत्रकारिता’ पुस्तकमा जनयुद्धकालीन पत्रकारिताका चुनौती र भोगाइ समेटिएका छन् ।
  • सात अध्यायमा विभाजित १८० पृष्ठको यस पुस्तकमा छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको द्वन्द्वकालीन स्वरूपको विश्लेषण गरिएको छ ।
  • पुस्तकले द्वन्द्वकालीन नेपाली पत्रकारितालाई ‘युद्ध पत्रकारिता’ भन्दा ‘मिसन पत्रकारिता’ को अवधारणाले व्याख्या गर्न सक्ने बहसलाई आधार प्रदान गरेको छ ।

दीपेन्द्र शर्माद्वारा लिखित पुस्तक ‘युद्ध पत्रकारिता’ समकालीन नेपाली पत्रकारिता, द्वन्द्व अध्ययन तथा सञ्चार–राजनीतिक सम्बन्धको सन्दर्भमा एक महत्त्वपूर्ण कृति हो। २०८२ भदौमा वर्षा मल्टिप्रपोज मिडिया प्रालि, जाजरकोटबाट प्रकाशित १८० पृष्ठको यस पुस्तकले नेपालको १० वर्षे जनयुद्ध (२०५२–२०६३) को समयमा पत्रकारिताले भोगेका चुनौती, जोखिम, दबाब, वैचारिक ध्रुवीकरण र सञ्चारमाध्यमहरूको सामाजिक भूमिकालाई बहुआयामिक ढङ्गले प्रस्तुत गरेको छ।

लेखक स्वयम् जनयुद्धकालीन पत्रकारितामा सक्रिय सहभागी भएकाले पुस्तकमा केवल सैद्धान्तिक विमर्श मात्र नभई प्रत्यक्ष अनुभवजन्य यथार्थको विश्वसनीय अभिलेखन पनि पाइन्छ।

पुस्तक सात अध्यायमा विभाजित छ। पहिलो अध्यायमा पत्रकारिता, युद्ध पत्रकारिता, नेपालमा युद्ध पत्रकारिताको अभ्यास, १० वर्षे जनयुद्धमा सञ्चारमाध्यमको भूमिका तथा मिसन पत्रकारिता जस्ता विषयहरू समेटिएका छन्। त्यसपछिका अध्यायहरूमा छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको द्वन्द्वकालीन स्वरूपको विश्लेषण गरिएको छ।

विशेषतः परम्परागत सञ्चारमाध्यम र शैलीको प्रयोग, विदेशी पत्रकारहरूको उपस्थिति, ज्यान गुमाएका तथा बेपत्ता पत्रकारहरूको विवरण र युद्ध पत्रकारहरूको सङ्गठनात्मक विकासजस्ता विषयहरूले पुस्तकलाई दस्तावेजीय महत्त्व प्रदान गरेका छन्। यसभित्र हामी सबैले गरेको कामको विवरण पाइन्छ। पुस्तकले हामीले बिताएका पुराना दिनहरूको सम्झना ताजा बनाउने काम गरेको छ।

तटस्थताको सङ्कट शान्ति पत्रकारिता

यस कृतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको नेपाली पत्रकारिताको इतिहासमा जनयुद्धकालको सञ्चारलाई अध्ययनको केन्द्रमा राखेर विश्लेषण गर्नु हो। लेखकले जनयुद्धकालीन अवस्थामा पत्रकारिता ‘तटस्थ’ रहनु कति कठिन हुन्छ भन्ने प्रश्न उठाएका छन्। सञ्चारमाध्यमहरू केवल सूचना प्रवाह गर्ने संयन्त्र मात्र नभई वैचारिक शक्ति संरचनाको हिस्सा पनि बन्न सक्छन् भन्ने तर्क पुस्तकमा स्पष्ट देखिन्छ।

यसले जोहान गाल्टुङले प्रतिपादन गरेको ‘युद्ध पत्रकारिता र शान्ति पत्रकारिता’ को अवधारणालाई नेपाली सन्दर्भमा सम्झाउन मद्दत गर्छ। गाल्टुङका अनुसार युद्ध पत्रकारिताले प्रायः हिंसा, ध्रुवीकरण र शक्ति प्रतिस्पर्धालाई केन्द्रमा राख्छ भने शान्ति पत्रकारिताले समाधान, संवाद र मानवीय असरलाई प्राथमिकता दिन्छ। दीपेन्द्र शर्माको पुस्तकले यी दुवै प्रवृत्तिको नेपाली अभ्यासलाई जीवन्त रूपमा चित्रण गरेको छ।

युद्धकिमिसनपत्रकारिता ?

‘युद्ध पत्रकारिता’ भन्दा ‘मिसन पत्रकारिता’ को अवधारणाले नेपाली पत्रकारिताको ऐतिहासिक यथार्थलाई अझ राम्रोसँग व्याख्या गर्न सक्छ भन्ने बहसलाई यस पुस्तकले बलियो आधार प्रदान गरेको छ

यद्यपि, पुस्तकको शीर्षक ‘युद्ध पत्रकारिता’ को सम्बन्धमा आलोचनात्मक बहस गर्न सकिने पर्याप्त आधार छन्। नेपाली जनयुद्धको सन्दर्भमा सञ्चारमाध्यमहरूको भूमिका केवल युद्धको रिपोर्टिङमा सीमित थिएन; धेरै पत्रकार र माध्यमहरू वैचारिक, राजनीतिक वा सामाजिक ‘मिसन’ बोकेर सक्रिय थिए।

यस अर्थमा पुस्तकले उठाएको मिसन पत्रकारिताको अवधारणा अझ सान्दर्भिक र नेपाली सन्दर्भअनुकूल देखिन्छ। किनकि नेपालमा द्वन्द्वकालीन पत्रकारिता पूर्णतः युद्ध केन्द्रितभन्दा पनि वैचारिक प्रतिबद्धता, राजनीतिक ध्रुवीकरण र परिवर्तनको आकाङ्क्षासँग गाँसिएको थियो।

यस आधारमा हेर्दा, पुस्तकको शीर्षक ‘मिसन पत्रकारिता’ राखिएको भए सम्भवतः यसको वैचारिक मर्म अझ स्पष्ट हुन्थ्यो। ‘युद्ध पत्रकारिता’ शब्दले पत्रकारितालाई केवल सैन्य द्वन्द्वको सूचना रिपोर्टिङमा सीमित गराउने सम्भावना रहन्छ, जबकि पुस्तकको अन्तर्वस्तुमा पत्रकारहरूको वैचारिक सक्रियता, परिवर्तनमुखी चेतना, राज्य र विद्रोही दुवै पक्षबाट परेको दबाब तथा सामाजिक उत्तरदायित्वका प्रश्नहरू बढी सशक्त रूपमा आएका छन्।

त्यसैले ‘युद्ध’ भन्दा ‘मिसन’ शब्दले नेपाली पत्रकारिताको त्यस समयको चरित्रलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्न सक्दथ्यो।

अनुभवजन्य प्रस्तुति र सीमाहरू पुस्तकको अर्को सशक्त पक्ष भनेको यसको अनुभवजन्य प्रस्तुति हो। लेखकले सरकारी सेना, विद्रोही पक्ष र स्थानीय शक्ति समूहहरूबाट पत्रकारहरूले सामना गरेका धम्की, सेन्सरसिप, हिरासत, बेपत्ता र हत्याजस्ता घटनाहरूलाई तथ्यसहित प्रस्तुत गरेका छन्।

यसले द्वन्द्वकालीन पत्रकारिताको संवेदनशीलता र जोखिमलाई गहिरो रूपमा बुझ्न मद्दत गर्छ। विशेषगरी ज्यान गुमाएका र बेपत्ता पत्रकारहरूको विवरणले यसलाई स्मृतिग्रन्थको रूप पनि दिएको छ।

रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको विश्लेषण पुस्तकको अर्को महत्त्वपूर्ण उपलब्धि हो। जनयुद्धको समयमा एफएम रेडियोहरूको विस्तारले स्थानीय सूचना प्रवाहमा ठूलो परिवर्तन ल्याएको थियो। त्यस्तै, सीमित स्रोतका बाबजुद टेलिभिजन र प्रारम्भिक अनलाइन माध्यमहरूले द्वन्द्वका वैकल्पिक आख्यान निर्माण गर्न खेलेको भूमिकालाई लेखकले सन्तुलित ढङ्गले प्रस्तुत गरेका छन्।

तर, पुस्तकमा केही सीमितताहरू पनि देखिन्छन्। यसमा अन्तर्राष्ट्रिय युद्ध पत्रकारितासँगको तुलनात्मक विश्लेषण अपेक्षाकृत कम छ। यदि पेरिस कम्युन, रुस, चीन, भियतनाम, क्युबा, उत्तर कोरिया लगायतका देशको युद्ध पत्रकारितासँग नेपाली अनुभवको तुलना गरिएको भए पुस्तकको प्राज्ञिक उचाइ अझ बढ्न सक्थ्यो।

यस पुस्तकको भाषाशैली सरल, स्पष्ट र पठनीय छ। यसले जटिल राजनीतिक तथा सञ्चारसम्बन्धी विषयलाई सामान्य पाठकका लागि पनि सहज बनाएको छ। अनुसन्धानमुखी पाठकका लागि यो पुस्तक एउटा राम्रो सन्दर्भ सामग्री बनेको छ।

यसैले ‘युद्ध पत्रकारिता’ नेपाली पत्रकारिताको द्वन्द्वकालीन इतिहास बुझ्नका लागि एक महत्त्वपूर्ण र सान्दर्भिक कृति हो। यसले पत्रकारिताको सामाजिक उत्तरदायित्व, नैतिक दुविधा, वैचारिक सङ्घर्ष र सञ्चारमाध्यमहरूको शक्ति सम्बन्धलाई गहिराइमा उजागर गर्छ।

‘युद्ध पत्रकारिता’ भन्दा ‘मिसन पत्रकारिता’ को अवधारणाले नेपाली पत्रकारिताको ऐतिहासिक यथार्थलाई अझ राम्रोसँग व्याख्या गर्न सक्छ भन्ने बहसलाई यस पुस्तकले बलियो आधार प्रदान गरेको छ।

त्यसैले यो कृति पत्रकारिता, सञ्चार अध्ययन, राजनीतिशास्त्र र द्वन्द्व अध्ययनका विद्यार्थी, अध्येता तथा अनुसन्धानकर्ताहरूका लागि उपयोगी सन्दर्भ सामग्रीका रूपमा स्थापित हुने सम्भावना राख्दछ।

लेखक
डा. दीपेन्द्र रोकाया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?