+
+
Shares

विषादीरहित आँप खान पाइरहेछन् उपभोक्ता ?

यतिबेला उपभोक्ताको प्रश्न छ- पाक्ने बेला नहुँदै बजारमा ल्याइएका आँपमा कस्ता रसायन प्रयोग गरेर पकाइएको होला ? यसले स्वास्थ्यलाई कतिसम्म हानि गर्ला ?

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ असार १ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कुलेश्वर फलफूल बजारमा अहिले स्वदेशी आँपको दैनिक ६० देखि ७५ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।
  • आँप पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नगर्न र सुरक्षित मानिएको इथिलिन ग्यास मात्र प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म बजारका आँपमा कुनै पनि हानिकारक रसायन र विषादी नभेटिएको दाबी गरेको छ ।

१ असार, काठमाडौं । जेठ सुरुवातसँगै नेपाली बजारमा फाट्टफुट्ट देखिन थालेको ‘फलफूलको राजा’ आँपले अहिले जेठ अन्तिम आइपुग्दा बजारका हरेक कुना ओगटेको छ ।

काठमाडौं उपत्यकाका ठूला फलफूल पसल र सुपर मार्केटदेखि टोल–टोलका साना किराना पसल, ठेलागाडा र सडकका पेटीहरू यतिबेला पहेँलपुर आँपै आँपले ढाकिएका छन् ।

अहिले बजारमा पाइने आँपको स्रोत हेर्ने हो भने यसको यात्रा छिमेकी मुलुक भारतबाट सुरु भएर नेपालका तराईका जिल्लाहरूसम्म फैलिएको छ ।

जेठ सुरुतिर भारतका उत्तर प्रदेश, बिहार र आन्ध्र प्रदेशबाट आँप ठूलो परिमाणमा भित्रिएका थियो । अहिले भने नेपालकै मुख्यतया सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा लगायत तराईका जिल्लाबाट दैनिक ट्रकका ट्रक आँप सहरबजारमा आपूर्ति भइरहेका छन् ।

काठमाडौंका कुलेश्वर र कालिमाटी जस्ता ठूला थोक बजारमा मालदह, बम्बई, दसहरी, जर्दा, कलकत्ते, आम्रपाली र कृष्णभोग जातका आँपले आफ्नो रौनक जमाइरहेका छन् ।

स्वादमा अत्यन्तै मिठो हुने मात्रै होइन आँपलाई स्वास्थ्यका लागि पोषणको खजाना पनि मानिन्छ । तर, यतिबेला उपभोक्ताको प्रश्न छ– पाक्ने बेला नहुँदै बजारमा ल्याइएका आँपमा कस्ता रसायन प्रयोग गरेर पकाइएको होला ? यसले स्वास्थ्यलाई कतिसम्म हानि गर्ला ?

आइतबार बिहान काठमाडौं बुद्धनगरस्थित एक पसलमा हरिया–पहेँला आँप निकै आकर्षक तरिकाले चाङ लगाएर राखेको देखेपछि सुनिता शर्मा टक्क रोकिइन् ।

सुनिताले पसलेलाई सोधिन्, ‘साहुजी, आँप कसरी हो ? कहाँबाट ल्याएको ? विषादी हालेको पो हो कि !’

पसलले भने, ‘यो मालदह आँप हो म्याडम, हाम्रै तराईबाट ल्याएको, रुखमै पाकेको अर्गानिक, किलोको १ सय २० रुपैयाँ ।’

पसलेले अर्गानिक र विषादी नराखेको भने पनि सुनिता ढुक्क हुन भने सकिनन् ।

‘फलफूल र तरकारीमा शतप्रतिशत विषादी छ भन्ने खबर दिनहुँ आइरहन्छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘गत वर्ष पनि आँपमा धेरै विषादी रहेका धेरै खबर आएका थिए, यस वर्ष पनि सुन्नमा त आएको छ, सरकारले परीक्षण गरेको पनि थाहा छैन, सरकारको ध्यान यता पनि गए हुने ।’

शंका गर्दै सुनिताले २ किलो आँप भने किनिन् । फेरि थपिन्, ‘एकछिन पानीमा डुबाएर मात्रै खानुपर्ला ।’

अझै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा पनि अर्गानिक भन्दै गरिएको विज्ञापनले उपभोक्तालाई अझै भ्रममा पारेको छ ।

सुनिताजस्ता हरेक उपभोक्ताको अहिलेको प्रश्न यहि हो– ‘आँप स्वस्थकर छ कि छैन ?’

कुलेश्वरमा दैनिक ७५ लाखसम्मको कारोबार, विषादीबारे व्यवसायीको आफ्नै तर्क

काठमाडौंको मुख्य फलफूल थोक बजार कुलेश्वरमा अहिले नेपाली आँपको वर्चस्व रहेको व्यवसायी बताउँछन् ।

नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँका अनुसार अहिले बजारमा पाइने ९० प्रतिशतभन्दा बढी आँप स्वदेशी नै हुन् ।

भारतीय आँप महँगो र ढुवानी खर्च बढी हुने भएकाले व्यवसायीले अहिले नेपाली आँपलाई नै प्राथमिकता दिएका छन् ।

‘अहिले बजारमा राम्रो आँपको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ र अलि कमसलको ५० रुपैयाँसम्म छ,’ अध्यक्ष बानियाँ भन्छन्, ‘एक क्रेटमा २२ देखि २५ किलोसम्म आँप हुन्छ, जसको मूल्य १५ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ ।’

अध्यक्ष बानियाँका अनुसार दैनिक १५ देखि २० पिकअप गाडी (करिब ५० टन) आँप कुलेश्वर बजारमा मात्रै खपत भइरहेको छ ।

अहिले कुलेश्वर फलफूल बजारबाट मात्रै दैनिक ६० देखि ७५ लाख रुपैयाँ बराबरको नेपाली आँपको कारोबार भइरहेको छ ।

‘अहिले सिजन भएकाले दैनिक ६२ देखि ७५ लाखको हाराहारीमा कारोबार भइरहेको छ,’ उनी भन्छन्, ‘स्वदेशी उत्पादनले बजार पाएको यो सकारात्मक पक्ष हो ।’

आँपमा प्रयोग गरिने विषादी र पकाउने प्रविधिको विषयमा भने अध्यक्ष बानियाँले फरक तर्क राखेका छन् ।

उनले अहिले आँप पकाउन ‘इथिलिन’ ग्यासको पोका प्रयोग भइरहेको बताए । ‘हामीले विषादी प्रयोग गरेका छैनौं, इथिलिन ग्यासको पाउच हालेर आँप पकाइएको छ,’ उनको दाबी छ, ‘यो अन्तर्राष्ट्रिय रूपमै स्वीकार्य प्रविधि हो ।’

किसानबाट किनेका व्यापारीले नै पकाएर आँप बजार ल्याइपुर्‍याउने हुँदा उनीहरूले कस्तो रसायन वा विषादी प्रयोग गर्छन् भन्ने विषयमा आफूले यकिन बताउन नसक्ने उनले बताए ।

तर, सरकारी निकायको सुस्तताप्रति भने उनले आपत्ति जनाएका छन् । ‘गएको साल पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना लिएर गएको थियो, तर त्यसको रिपोर्ट हामीलाई कहिल्यै दिएन,’ उनले भने, ‘यो खान योग्य छ कि छैन भनेर राज्यले प्रष्ट पारिदिनुपर्छ, उपभोक्तालाई भ्रममा राख्नुभएन ।’

उनले अहिले पनि राज्यका जिम्मेवार निकायलाई विषादी परीक्षणका लागि बारम्बार अनुरोध गरिरहेको बताए । तर, यस विषयमा ती  निकायले नै कुनै चासो नदिएको उनको आरोप छ ।

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न राज्यले भन्सार दर बढाउनुपर्ने र नेपाली किसानलाई अनुदान तथा प्राविधिक सल्लाह दिनुपर्नेमा बानियाँले जोड दिए ।

‘सरकारबाट फलफूल व्यवसायी र किसानलाई कुनै राहत र अनुदान छैन,’ उनले भने, ‘बिचौलिया र किसानलाई समयभन्दा अगाडि आँप नटिप्न कृषि विज्ञले सल्लाह दिनुपर्‍यो ।’

इथिलिन प्रयोग सुरक्षित, कार्बाइड खतरनाक

राष्ट्रिय फलफूल विकास केन्द्रले यस वर्ष बजारमा आँपको सिजन केही चाँडै सुरु भएको बताएको छ ।

बम्बई, दसहरी लगायत चाँडै पाक्ने जातका आँप बजार आउन थालिसकेको तर बजारमा आएका सबै प्रकारका आँपमा विषादी र हानिकारक रसायन प्रयोग नभएको भनेर भन्न नसकिने अवस्था नरहेको केन्द्रको भनाइ छ ।

केन्द्र प्रमुख महेशचन्द्र आचार्यले बजारमा आएका सबै आँप हानिकारक नभएको तर केही अखाद्य रसायन प्रयोग भएका आँपबाट भने उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् ।

आचार्यका अनुसार यस वर्ष चाँडै वर्षा भएका कारण सिजन अगावै पाकेर आँप बजार आएका हुन् ।

‘सर्लाही लगायत फार्ममा हावाहुरीले धेरै नोक्सान गर्‍यो,’ उनले भने, ‘हावाहुरीले झारेका आँप बिग्रिने डरले व्यापारीले ठेक्का नलिने अवस्था आएपछि केही चाँडै पकाएर बजार पठाइएको हो ।’

फलफूल पकाउन प्रयोग गरिने प्रविधिबारे आचार्यले इथिलिन प्रयोग स्वास्थ्यका लागि हानिकारक नहुने बताए ।

‘इथिलिन भन्ने पकाउन प्रयोग गरिने रसायन हुन्छ, त्यो स्वास्थ्यका लागि हानिकारक छैन,’ उनले भने, ‘यसले प्राकृतिक रूपमै जस्तो हर्मोन रिलिज गरेर फलफूल पकाउने काम गर्छ, अचेल चियाको ‘टी–ब्याग’ जस्तै पाउचमा इथिलिन राखेर पकाउने वैज्ञानिक र प्रमाणित अभ्यास पनि सुरु भएको छ, जुन विषालु हुँदैन ।’

तर, आँप पकाउन ‘क्याल्सियम कार्बाइड’ प्रयोग भने अत्यन्तै खतरनाक हुने उनले बताए । ढुंगा वा खरानीजस्तो देखिने कार्बाइड प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि घातक हुने उनको भनाइ छ ।

‘क्याल्सियम कार्बाइड प्रयोग गर्न पूर्णरूपमा प्रतिबन्धित छ, यो कार्सिनोजेनिक (क्यान्सर गराउने तत्त्व) हो,’ प्रमुख आचार्यले भने, ‘यदि आँपको भेट्नोमा सेतो खरानी जस्तो धुलो टाँसिएको छ वा कालो अर्कै खालको दाग देखिन्छ भने त्यसमा कार्बाइड प्रयोग भएको हुन सक्छ, त्यस्ता आँप खानु हुँदैन ।’

खुला सीमाबाट अवैध आँप प्रवेश

नेपालमा आधिकारिक रूपमा भारतीय आँप आयातमा रोक लगाइए पनि खुला सिमानाका कारण अवैध रूपमा आँप भित्रिरहेको प्रमुख आचार्यले स्वीकार गरे ।

‘आधिकारिक रूपमा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले स्वीकृति दिएको छैन र रोकेको अवस्था छ,’ उनले भने, ‘तर, हाम्रो खुला सीमा छ, त्यहाँ धेरै छिद्र छन्, ती अवैध बाटो हुँदै भारतीय आँप बजारमा आइरहेका हुन सक्छन् ।’

बजारमा आएका फलफूलको विषादी परीक्षणमा राज्यको क्षमता सीमित रहेको पनि उनले बताए । केन्द्रीय कृषि प्रयोगशालाले दुइटा ग्रुपका विषादीको मात्र परीक्षण गर्न सक्ने क्षमता राख्ने भएकाले फलफूलमा अन्य कुनै विषादीको प्रयोग भएको भए त्यहाँबाट पत्ता नलाग्ने उनले बताए ।

‘प्रयोगशालाको मेसिनले सबैखाले विषादी पत्ता लगाउँदैन,’ प्रमुख आचार्यले भने, ‘दर्ता भएका विषादीमध्ये पनि दुई वटा ग्रुप बाहेकका विषादी हाम्रो ल्याबले टेस्ट गर्दैन, दायरा बढाउन जरुरी छ ।’

साथै, बजारमा गइसकेको (उत्पादन भइसकेको) तरकारी र फलफूलको परीक्षण गर्ने कानुनी जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भएको उनको भनाइ छ ।

‘बजारमा गएपछि त्यसमा विषादी छ कि छैन भनेर परीक्षण गर्ने र कानुनी कारबाही गर्ने दायित्व खाद्य प्रविधिको हो,’ उनले भने, ‘तर, परीक्षण अत्यन्तै महँगो भएकाले सबै परीक्षण गर्न सम्भव नभएको हुन सक्छ ।’

सामाजिक सञ्जालमा हल्ला आएजस्तो सबै आँपमा विष नभएको र अहिले आत्तिएर आँप नै खान छाड्नुपर्ने अवस्था नरहेको बताउँदै प्रमुख आचार्यले उपभोक्ता आफैं पनि सचेत भएर फलफूल खरिद गर्नुपर्नेमा जोड दिए ।

सरकारको दाबी : आँपमा हानिकारक रसायन विषादी शून्य

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने आपँमा हानिकारक रसायन नभेटिएको दाबी गरेको छ ।

विभागले बजार अनुगमन र परीक्षण क्रममा हालसम्म हानिकारक रसायन र विषादी प्रयोग नभेटिएको दाबी गरेको हो ।

विभागकी प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले तराईका विभिन्न जिल्ला र नाकामा द्रुत विषादी परीक्षण (र्‍यापिड पेस्टिसाइड टेस्टिङ) भइरहेको र नतिजा सन्तोषजनक रहेको दाबी गरिन् ।

विशेषगरी तराईबाट फलफूल भित्रिने भएकाले विभागले तराईका कार्यालय मार्फत अनुगमनलाई तीव्रता दिएको उनको भनाइ छ ।

‘विराटनगरस्थित कार्यालयले त्यहाँका ७–८ वटा विभिन्न फ्रुट सेन्टरमा स्थलगत परीक्षण गरेको थियो, उक्त परीक्षणको रिपोर्ट अनुसार फलफूल पकाउन कुनै पनि हानिकारक रसायन प्रयोग गरेको पाइएको छैन,’ प्रवक्ता शर्माले भनिन्, ‘विषादी परीक्षण गर्दा पनि कुनैमा विषादी देखिएन ।’

केही वर्ष अघिसम्म फलफूल पकाउन मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य रसायन प्रयोग हुने गरेको भए पनि पछिल्लो समय व्यापारी आफैं सचेत भएको विभागको दाबी छ ।

‘आजभन्दा चार–पाँच वर्ष अगाडिसम्म आँप, केरा लगायत फलफूल पकाउन अखाद्य औषधि चलाउने गरिन्थ्यो,’ उनले दाबी गरिन्, ‘तर, आजकल व्यापारी नै धेरै सजग भइसक्नुभएको छ, उहाँहरूले त्यस्तो अखाद्य वस्तु प्रयोग गर्नुहुन्न ।’

अहिले बजारमा फलफूल छिटो पकाउनका लागि सुरक्षित मानिएको इथिलिन ग्यास प्रयोग हुने गरेको विभागले जनाएको छ । प्राकृतिक रूपमा फलफूल पाक्ने प्रक्रियालाई नै यसले मद्दत गर्ने भएकाले यो स्वास्थ्यका लागि हानिकारक नहुने डा. शर्मा बताउँछिन् ।

विभागले खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय मार्फत नाकामै फलफूल तथा तरकारीको नियमित परीक्षण गरिरहेको र अनुगमनलाई निरन्तरता दिइएको जनाएको छ ।

आँपका फाइदा

स्वादमा मात्र होइन, स्वास्थ्यका दृष्टिकोणले पनि आँप निकै लाभदायक फल हो । पोषणविद् र स्वास्थ्यविद्हरूका अनुसार प्राकृतिक रूपमा पाकेको आँप भिटामिन र खनिजको भण्डार नै हो ।

आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन ‘सी’ ले हाम्रो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन मद्दत गर्छ भने यसमा हुने भिटामिन ‘ए’ ले आँखाको ज्योति बढाउनुका साथै छालालाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

मुटुको स्वास्थ्यका लागि पनि आँप उत्तिकै लाभदायक मानिन्छ । यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ राख्न सघाउ पुर्‍याउँछ ।

त्यस्तै आँपमा पोलिफेनोल्स र म्याङ्गिफेरिन जस्ता एन्टिअक्सिडेन्ट हुन्छन्, जसले शरीरमा हुने अक्सिडेटिभ स्ट्रेस कम गरी विभिन्न प्रकारका क्यान्सरको जोखिम समेत न्यूनीकरण गर्न मद्दत गर्छन् ।

यद्यपि, आँपमा प्राकृतिक चिनीको मात्रा बढी हुने भएकाले मधुमेह (सुगर) का बिरामीले भने चिकित्सक वा पोषणविद्को सल्लाहमा मात्र सीमित मात्रामा खानुपर्ने विज्ञको सुझाव छ ।

कार्बाइड प्रयोग गरिएका आँप खाँदा के हुन्छ ?

आँप पकाउन हानिकारक रसायन क्याल्सियम कार्बाइड प्रयोग गरिएको छ भने त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ । क्याल्सियम कार्बाइडमा आर्सेनिक र फस्फोरस जस्ता विषालु तत्त्व हुन्छन् । स्वास्थ्यविद्का अनुसार यस्तो आँप खाँदा तत्काल र दीर्घकालीन गरी दुई खाले असर देखिन्छन् ।

यस्तो आँप सेवन गर्नासाथ पेट दुख्ने, पोल्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता लक्षण तत्काल देखा पर्न सक्छन् । कतिपय अवस्थामा मुख, घाँटी र गिजामा जलन हुने वा खसखसाउने, रिंगटा लाग्ने, टाउको दुख्ने र अत्यधिक थकान महसुस हुनेजस्ता समस्या पनि देखिन सक्छन् ।

यस्तो जोखिमबाट बच्न कार्बाइडले पकाएको आँप चिन्नु जरुरी हुन्छ । यदि आँपको बोक्रामा सेतो खरानी जस्तो धुलो टाँसिएको छ, कालो अस्वाभाविक दाग छ, बाहिर पुरै पहेँलो तर भित्र काट्दा सेतो र कडा छ, र प्राकृतिक बासना छैन भने त्यस्तो आँपमा कार्बाइड प्रयोग भएको हुन सक्ने भएकाले यस्ता आँप खरिद नगर्न र नखान सुझाइएको छ ।

(तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर)

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?