Comments Add Comment

गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख डा. दासकाे कोसीमा सरुवा

१ असार, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको सुधारमा सफल मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासको सरुवा भएको छ ।

उनलाई विराटनगरस्थित कोसी अस्पताल पठाइएको हो । डा. दास २०७५ साल जेठ २१ गते गजेन्द्रनारायण सिंह अस्पताल प्रमुखको रुपमा आएका थिए । उनले लथालिङ्ग रहेको अस्पताललाई व्यवस्थित मात्रै बनाएनन्, जटिल शल्यक्रिया पनि सुरु गराए । छुट्टै अप्रेसन कक्ष निर्माणदेखि डायलासिस, सिटी स्क्यान मेसिनसम्म ल्याएर अस्पताललाई व्यवस्थित बनाएका छन् ।

अस्पतालको भवन निर्माण समेत अगाडि बढाइरहँदा ८ फागुनमै उनलाई सरुवाको पत्र थमाइयो । तर त्यस बेला रमाना दिइएन । कोरोनाको कहर सुरु भएपछि उनलाई यहाँबाट रमाना दिएर कोसी अस्पताल विराटनगर पठाइएको छ ।

कोसी अस्पतालकी प्रमुख डा. संगीता मिश्रलाई परोपकार प्रसूति अस्पताल सरुवा गरिएको छ । ‘८ फागुनमै स्वास्थ्य मन्त्रालयले सरुवा गरिसकेको थियो । रमाना दिइएको थिएन’ डा दासले भने, ‘अब रमाना लिएर कोसी अस्पताल जाँदैछु ।”

डा. दासको ठाउँमा सप्तरी घर भएका डा. रन्जित झालाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

कोरोना महामारी सुरु भएपछि सरकारले गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड क्लिनिक मात्र सञ्चालन गर्न भनेको थियो । तर प्रदेश सरकारको आग्रह र डा. दासलगायतको सक्रियतामा ‘ए लेभल’ को कोरोना अस्पताल चलाइएको छ ।

प्रदेश सरकारले पीसीआर मेसिन दिएपछि त्यही कोरोनाको परीक्षण पनि सुरु भएको छ । त्यही बेला डा. दासको सरुवा भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफूलाई विराटनगर जान भनेको डा. दासले सुनाएका छन् ।

‘मन्त्रीज्यूको घर पनि विराटनगरमै, मेरो पनि विराटनगर’ डा. दासले भने, ‘मन्त्रीज्यूले नै अब आफ्नो ठाउँको अस्पताललाई राम्रो बनाउनुपर्छ भनेर जान भन्नुभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment