Comments Add Comment

चितवनमा किसानले लगाए धानखेतमा आगो

३२, जेठ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका किसानले धान खेतमा आगो लगाएका छन् ।

राप्ती नगरपालिका–४ वेलुवामा किसान कमलप्रसाद तिवारीले २२ कठ्ठा खेतमा लगाएको धानमा आगो लगाएर जोतेका हुन् । धानमा रोग लागेर बालामा भुसमात्र बाँकी रहेपछि आगो लगाएको उनले बताए ।

‘पछिल्लो तीन दिनमा सबै धान सखाप पार्‍यो’ किसान तिवारीले भने, ‘झुलेको धानमा रोग लागेपछि पोकटावाहेक केही छैन, राखिरहनुको औचित्य नभएपछि जोतेको हुँ ।’ उनले जमिन ठेक्कामा लिएर खेती गरेको बताए ।

यति धान रोप्दा जोताईदेखि रोग लागेपछि विषादी प्रयोग गर्दासम्म ५५ हजार रुपैया खर्च गरेको तिवारीले बताए । उनले वार्षिक प्रति कठ्ठा जग्गाको २ हजार ५ सय रुपैयाँ भाडा तिर्दै आएका छन् । अघिल्लो वर्ष सोही जग्गामा ५५ क्वीन्टलसम्म धान उत्पादन गरेको बताउने तिवारीले जीवनमा नै पहिलोपटक यस्तो भएको बताए ।

उनकै साँधमा खेती गर्दै आएका वुद्धिराज खरेलको पाँच कठ्ठा जग्गामा पनि हर्दिनाथ जातको धानमा यस्तै समस्या देखिएको छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे तर बोट हरियो भएकाले आगो लाग्न सकेन । उनले चैत १० गते धान रोपाई गरेका थिए । उनको पनि तीन दिनमै सबै सखाप भयो ।

‘धान झुल्दा राम्रो उत्पादन हुने आशा थियो’ किसान खरेलले भने ‘पाँच कठ्ठामा १६/१७ बोरा उत्पादन हुन्थ्यो, अहिले एक गेडो पनि भित्र्याउन सकिएला भन्ने आस छैन ।’ यति धान लगाउँदा ११ हजार रुपैया खर्च खरेलले सुनाए ।

वेलुवाकै किसान राधिका क्षेत्रीले धान उत्पादन नभए पनि परालका लागि भने धानको बोट काटेकी छन् । ठेक्कामा लिएर १२ कठ्ठा जमिनमा लगाएको धान नफलेपछि परालका लागि ठूलो मेसिन लगाएर काटेको उनले बताइन् ।

राप्ती वडा नम्बर–४ वेलुवा आसपासमा झण्डैं २० विघा जति धानमा यस्तै समस्या देखिएको छ । पूर्वी चितवनमा हर्दिनाथ नामक धानमा, धान झुलेपछि यस्तो समस्या देखिएको छ ।

कृषि प्राविधिकहरुले ‘नेक व्लास्ट’ रोगले धानमा क्षति पुर्‍याएको बताउँदै आएका छन् । प्रधानमन्त्री कृृषि आधुनिनिककरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको बताए ।

कत्ति पनि उत्पादन नभएको प्लट धेरै रहेको उनको भनाइ छ । चितवनमा कुल ७ हजार हेक्टरमा धान खेती गरिएको छ । धान जोन क्षेत्र कुल ५ हजार ५ सय हेक्टर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment