Comments Add Comment

ब्याडमिन्टनको ट्रेनिङ सुरु गराउने तयारीमा संघ

१ असार काठमाडौं । नेपाल ब्याडमिन्टन संघ एनबीएले खेलाडीहरुको प्रशिक्षण सुरु गर्ने बारे तयारी थालेको छ । कोरोनाभाइरस महामारीले गर्दा अहिले सबै खेलकुद गतिविधि ठप्प हुँदा सबै नेपाली खेलाडीहरु घरमै फुर्सदमा छन् ।

३ महिनाको लकडाउनले गर्दा धेरै खेलाडी फेरि प्रशिक्षणमा फर्कने समय कुरिरहेका छन् । यसैबीच संघले पनि खेलाडीको प्रशिक्षण सुरु गर्नेबारे पहल थालेको हो ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले सामाजिक दुरी कायम राख्दै सबे सुरक्षाको उपनाय अपनाएर प्रशिक्षण सुरु गर्न लागिएको बताए । ‘लकडाउन अघि कोरियन कोच आएको थियो । तर लकडउन भएकोले ट्रेनिङ गर्न पाएन । अब हामीले सामाजिक दुरी राखेर सुरक्षाको उपाय अपनाउँदै प्रशिक्षण सुरु गर्ने सोच राखेका छौँ ।’ अध्यक्ष श्रेष्ठले भने,’ब्याडमिन्टनमा धेरै टच हुँदैन । खेलाडी एक जना यता एक जना उता हुन्छ ।’

श्रेष्ठले लामो समय लकडाउन हुँदा अहिले धेरैलाई मानसिक रुपमा पनि असर परेको भन्दै सकरात्मक सन्देश दिन पनि ट्रेनिङ गर्नुपर्ने बताए । तर त्यसका लागि सरकार र राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिएर काम गर्ने उनले बताए । ‘सरकार परिषदसंग स्वीकृति लिएर खेलाडीको प्रशिक्षण सुरु गर्ने योजनामा छौँ । कम्तीमा एउटा सकरात्मक सन्देश जाओस् भन्ने चाहना हो,’ प्रशिक्षण सुरु गर्ने मिति भने तय भएको छैन ।

संघले तत्कालका लागि र्‍याङ्किङमा रहेका राष्ट्रिय स्तरका खेलाडीहरुलाई समेटेर प्रशिक्षण गर्न लागेको हो । अध्यक्ष श्रेष्ठका अनुसार अहिले करिब २५ खेलाडी र्‍याङ्किङमा छन् । त्यसमध्ये आधा जसो खेलाडी काठमाडौं बाहिर छ । ‘सुरुमा काठमाडौंमै भएका खेलाडीहरुलाई राखेर प्रशिक्षण गर्ने तयारी छ,’ श्रेष्ठले भने ।

प्रशिक्षण सुरु गर्नेबारे परिषदसँग कुरा भइरहेको र सकरात्मक रहेको उनले बताए । श्रेष्ठले ट्रेनिङ गर्नका लागि आवश्यक सबै मापदण्डहरु पूरा गर्ने पनि बताए । उनले भने, ‘हामी सबै फर्मालिटी पूरा गरेर मात्रै प्रशिक्षण सुरु गर्नेछौँ । यसले सकरात्मक सन्देश जाओस भन्ने छ।’

प्रशिक्षण त्रिपुरेश्वरस्थित कभर्डहलमै हुनेछ ।

श्रेष्ठले अहिले खेलाडीहरुलाई कोरियन प्रशिक्षकले जुममार्फत फिटनेसबारे जानकारी गराइरहेको बताए । ‘खेलाडीहरु घरमै फिजिकल फिटनेस गरिरहेका छन् । कोरियन कोचले पनि अनलाइनबाट सिकाइरनुभएको छ,’ उनले भने ।

नेपालका शीर्ष वरीयताका खेलाडी दिपेश धामीले पनि लामो समय यसरी बस्दा पछि कठिन हुने बताए । उनले प्रशिक्षण सुरु भएमा राम्रो हुने बताए ।उनले भने, ‘अब कहिले खुल्ने एकिन छैन । प्रशिक्षण सुरु भयो भने राम्रो हुन्छ । तर सुरुको एक महिना गाह्रै हुन्छ ।’

कोरोना महामारीले गर्दा २०७६ चैत पहिलो सातादेखि नेपाली खेलकुद पूर्णरुपमा स्थगित छ ।

यस्तै ब्याडमिनटनका अन्तर्राष्ट्रिय खेलहरु पनि प्रभावित बनेका छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले पनि दर्जनभन्दा बढी परतियोगिता रद्द गरिसकेको छ भने केही प्रतियोगिता स्थगित गरेको छ ।

एसियामा पनि धेरै सिरिज/टुरहरु रद्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment