Comments Add Comment

सर्लाही सीमाक्षेत्रको सकस : जमीन नेपालको, मालिक भारतको !

शुक्रबार नारायणपुरमा किन चल्यो १५ राउण्ड गोली ?

२ असार, सर्लाही । नेपालले भारतीय सीमाक्षेत्रमा सशस्त्र प्रहरीको गतिविधि बढाएको छ । कोरोना नियन्त्रणका लागि सुरक्षा गस्ती बढेसँगै सीमा क्षेत्रका अनेक रहस्य सतहमा आउन थालेका छन् ।

यही क्रममा शुक्रबार बिहान सर्लाही जिल्लाको पर्सा गाउँपालिका–३ स्थित नारायणपुरमा हताहतीको घटना भयो । यो घटनाले के उजागर गरिदिएको छ भने सीमा क्षेत्रमा सैयौं बिघा नेपाली जमीनको मालिक भारतीयहरु रहेछन्, जसले नेपाली भूमिमा बाँस र आप रोपेका रहेछन् । सायद, यही कारणले पनि भनिएको होला, नेपाल–भारतवीचको सम्बन्ध रोटी र बेटीको सम्बन्ध हो ।

शुक्रबार नेपाली भूमिमा प्रवेश गरेको भारतीय समूहसँग तनाव बढ्दै जाँदा नेपाली सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक भारतीयको मृत्यु भयो । तीनजना भारतीय घाइते भए । एकजना भारतीय पक्राउ परे । केही नेपाली सुरक्षाकर्मी ढुंगाले लागेर सामान्य घाइते भए । घटनापछि अहिले त्यस क्षेत्रमा सन्नाटा व्याप्त छ ।

आखिर, भारतीय नागरिकहरु हुलै बाँधेर किन नेपालतर्फ प्रवेश गरे ? उनीहरुले किन नेपाली सुरक्षाकर्मीसँग निहुँ खोज्नुपर्‍यो ? अहिले यसको विश्लेषण दुबै देशका सुरक्षा अधिकारीहरुले गरिरहेका छन् ।

नेपाली पक्षको विश्लेषण अनुसार भारतीयहरु सीमापार तस्करीमा संलग्न हुन सक्छन् । र, नेपाली सुरक्षाकर्मीको उपस्थितिले उनीहरुको धन्दामा बाधा परेको हुन सक्छ ।

भारतीय पक्षले चाहिँ उनीहरु आफ्नो खेतमा काम गर्न जान लागेको तर्क गरेको सुनिएको छ । साथै, नेपालमा आफन्तहरु रहेकाले भेटघाटमा आउन लाग्दा प्रहरीले रोकेपछि घटना भएको पनि भारतीय पक्षको विश्लेषण सुनिन्छ ।

नेपाली सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर भारतीय नागरिकको मृत्यु भएको भोलिपल्टै शनिबार सीमा क्षेत्रमा नेपाल–भारत दुबैतर्फका सुरक्षा अधिकारीहरु जम्मा भएर घटनास्थलको अवलोकन गरेका थिए ।

गोली लागेको स्थान सीमारेखा (दशगजा) भन्दा करिब डेढसय मिटर नेपालतर्फ छ । घटनास्थलमा रगतका टाटाहरु देखिन्थे । घाइते र मृतकलाई घिसारेर भारततर्फ लगिएको निसानी त्यहाँ देखिन्थ्यो ।

त्यहाँ भारतीय सुरक्षा अधिकारीहरुले नेपाली सुरक्षाकर्मीलाई सोधेका थिए, यहाँबाट गाउँ (नेपाली वस्ती) कति टाढा छ ? नेपाली सुरक्षाकर्मीले ‘निकै ढाढा रहेको’ बताएपछि भारतीय सुरक्षा अधिकारीको थप प्रश्न थियो, ‘गाउँ नै नभएको यो ठाउँमा यति धेरै ( करिब डेढ सय) मानिसहरु किन आए त ?’

किनभने, भारतीयको खेत नेपालमा छ !

भारतीय सुरक्षा अधिकारीले सोधेको प्रश्नको जवाफ नेपाली सुरक्षाकर्मीले तत्कालै दिएनन् । तर, भारतीय पत्रिका प्रभात खबरले यसको जवाफ दिएको छ ।

सो पत्रिकाको सीतामडी डेटलाइनको रिपोर्टमा भारतीयहरुको सैयौं विघा जग्गाजमीन र बगैंचा नेपाली भूमिमा रहेको र सशस्त्र प्रहरी परिचालन भएपछि उनीहरु आफ्नो खेत (नेपाली भूमि) मा जान नपाएको उल्लेख छ ।

भारतीय पत्रिकामा भनिएको छ कि सीमाक्षेत्रका भारतीयहरुको बगैंचा नेपाली भूमिमा छ । उनीहरुले नेपालको भूमिमा बाँस र आँप रोपेका छन् । हाल नेपाल सशस्त्र प्रहरीले बीओपी विस्तार गरेपछि भारतीयहरु खेतीमा आउन सकिरहेका छैनन् ।

सो पत्रिकाका अनुसार भारतको जानकी नगर टोला निवासी कृष्णदेव राय भन्छन्, नेपालको नारायणपुरमा उनको डेढ एकड (साढे सात बिघा) जमीन छ, सीमा सील भएपछि उनी त्यहाँ जान सकेका छैनन् ।

सर्लाहीको नारायणपुर एरियामा नेपाली भूमिमा रहेको सैयौं बिघा जमीनको मालिक भारतीयहरु रहेको पत्रिकाको दाबी छ । पत्रिकाले यो पनि दाबी गरेको छ कि सीमाक्षेत्रमा नेपालीहरुको पनि जमिन भारततर्फ छ ।

शुक्रबारको झडपको भित्री कथा

सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग भएको झडपका क्रममा भारतीयले ढुंगामुढा गर्नुका साथै एक जवानको बन्दूक खोसेपछि प्रहरीका तर्फबाट फायरिङ भएको सशस्त्र प्रहरीको भनाइ छ ।

सर्लाही जिल्लाको पर्सा गाउँपालिका–३ स्थित नारायणपुरमा यो घटना भएको हो । घटनास्थल नेपाल–भारतको दशगजा क्षेत्रबाट करिब १०० किलोमिटरभित्र रहेको छ । यहाँ वरिपरि घरहरु छैनन् । खेत मात्रै छ । पारीपट्टि भारतको जानकीनगर गाउँ बरु त्यहाँबाट नजिकै पर्छ ।

सुनसान ठाउँ भएकाले विगतदेखि नै यहाँबाट भारतीयहरुले गतिविधि गर्ने गरेका थिए । त्यहाँको नेपाली भूमिमा समेत भारतीयले नै खेती गर्दै आएका थिए ।

साथै बिहारका मानिसहरु रक्सी खानका लागि मात्रै पनि नेपाल आउने गर्थे । तर, कोरोनाको महामारीका कारण सरकारले बोर्डर सिल गरेर यस क्षेत्रमा थप सुरक्षा बल परिचालन गरेपछि भारतीयहरुमा छटपटी सुरु भयो ।

सर्लाहीको संग्रामपुरमा इन्सपेक्टरको कमाण्डमा सशस्त्र प्रहरीको बोेर्डर आउट प्वाइन्ट (बीओपी) रहेको छ भने त्यसकै शाखाका रुपमा नारायणपुरमा फरवार्ड बेस स्थापना गरिएको छ । टेन्ट गाडेर बनाइएको फरवार्ड बेसमा अहिले २३ जनाको दरबन्दी छ, जसको कमाण्ड सहायक निरीक्षक सञ्जीव खत्रीले गरेका छन् ।

यसरी नेपालतर्फ सुरक्षा बढाइएपछि भारतीयहरुको धन्दा बन्द भयो । यही आक्रोशमा पारिबाट योजनावद्धरुपमा आएर आक्रमण गरिएको प्रहरीको विश्लेषण छ ।

गत शुक्रबार बिहान ९ बजे सशस्त्र प्रहरीको ९ जनाको टोली गस्ती सकेर टेन्टमा फर्केको थियो । भारतबाट ५–६ जनाको समुह बोर्डर क्रस गरेर त्यहाँ आए । प्रहरीले उनीहरुलाई रोक्यो । उनीहरुले नेपालमा आफन्त भेट्न आएको बताए । तर, प्रहरीले बोर्डर बन्द रहेको र नेपालतर्फ पनि लकडाउन भएको भनेर उनीहरुलाई अगाडि जान दिएनन् । कमाण्डरले सम्झाई बुझाई गरेर फर्काए ।

सो समूह त्यहाँबाट फर्कियो । तर, त्यसको केहीबेरमै उनीहरुसँगै सयौंको संख्यामा भारतीयहरु एकत्रित भएर त्यहाँ आए । उनीहरु प्रहरीसँग जोरजुलुम गर्न थाले । आफूहरुलाई जान दिनैपर्ने अड्डी लिए । तर, प्रहरी पछि हटेन ।

केही नलागेपछि भारतीयहरुले प्रहरीमाथि हुलहुज्जत र आक्रमण गरे । उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरी अलिकति ब्याक भयो । यसले आक्रमणकारीको मनोबल झन् बढ्यो ।

नेपाली सुरक्षाकर्मी

भारतीयहरुको ढुंगामुढाबाट केही प्रहरी घाइते भए सशस्त्रको टेन्टमा पनि क्षति भयो । स्थिति अनियन्त्रित भएपछि असईको आदेशमा १० राउन्ड हवाई फायर भयो । तर, भारतीयहरु डराएनन् । बरु थप उत्तेजित भए ।

यही क्रममा एक भारतीय बत्तिँदै आए र एक प्रहरी जवानको बन्दुक एसएलआर खोसेर भागे । प्रहरीको हतियार खोसिएपछि कमाण्डरले गोली चलाउने आदेश दिए । तत्काल प्रहरीका तर्फबाट सुतेर फायरिङ भयो । (पहिलो चरणमा घुँडाभन्दा मुनि निशाना लगाउन सुतेर गोली हान्नुपर्ने प्रहरीको नियम छ ।)

प्रहरीले एसएलआरबाट गोली चलायो । बन्दुक खोस्नेलाई लक्षित गरी हानिएको गोली अर्को व्यक्तिलाई लाग्यो । पेटमा गोली लागेका उनी त्यहीँ ढले ।

फायरिङ भएसँगै प्रहरी जवान आक्रमणकारीतर्फ झम्टिएर आफ्नो बन्दूक खोस्ने व्यक्तिलाई नियन्त्रणमा लिए । यसक्रममा केहीबेर लछार–पछार भयो । सशस्त्रका जवानले भारतीयलाई भूईंमा लडाए । भारतीयहरु उनीमाथि जाइलागे तर, उनले छोड्दै छोडेनन् । त्यसपछि प्रहरीबाट थप फायरिङ भयो । अनि बल्ल आक्रमणकारी भाग्न थाले ।

समे घटनामा नेपाली सुरक्षामा कर्मीका तर्फबाट १० राउण्ड हवाइ फायर र ५ राउण्ड ल्याङ्ग पोजिसनबाट फायर भएको थियो ।

भाग्ने क्रममा भारतीयहरुले घाइते भएर लडेका व्यक्तिलाई केहीबेर घिसारेर र त्यसपछि बोकेर सीमापारि लिएर गएका थिए ।

नेपाली सुरक्षाकर्मीको कब्जामा रहेका भारतीयलाई भने उनीहरुले छुटाउन सकेनन् । गोली लागेका उनलाई प्रहरीले नै मोटरसाइलमा हालेर अस्पताल पुर्‍याए ।

गोली लागेका अन्य दुई भारतीयहरु उमेश राम र उदय ठाकुर हुन् । भारतीय सञ्चार माध्यमका अनुसार प्रहरीको गोली लागी मृत्यु हुने व्यक्ति सीतामढी जिल्लाका २२ वर्षीय विकेस यादव हुन् । उनलाई गम्भीर घाइते अवस्थामा एउटा निजी अस्पताल पुर्‍याइएको थियो, जुन पटनाबाट ८५ किलोमिटर टाढा पर्छ । अस्पताल पुर्‍याउनासाथ डाक्टरहरुले मृत घोषित गरेका थिए ।

नेपाली सुरक्षाकर्मीको नियणन्त्रणमा रहेका ती व्यक्ति लगनकिशोर राय हुन् । उनलाई शनिबार बिहान भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । भारतीय प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको छ । र, उनले आफूलाई नेपाली सुरक्षाकर्मीहरुले निर्घात कुटेको बताएका छन् ।

यो घटनापछि दुवै पक्षका प्रहरी अधिकारीहरुबीच वातावरण थप तनावपूर्ण हुन नदिने समझदारी भएको छ ।

तर, यही घटनालाई लिएर बिहारमा भारतीयहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन भ्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment