Comments Add Comment

कांग्रेसको प्रस्तावमा छलफल नभएपछि कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

५ असार, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाइएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

कांग्रेस संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो । प्रस्तावलाई प्रदेशसभामा प्रवेश नदिएपछि कांग्रेसले वैठक अवरुद्ध पारेको हो ।

‘हामीले प्रदेशसभामा १७ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छौं । यो स्वीकृत नभए सम्मा संसद चल्न सक्दैन’ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने ।

कांग्रेसले संसदमा दर्ता गरेको सो प्रस्ताव सभामुख राजबहादुर शाहीले कार्यव्यवस्था परामर्श समितिको बहुमत सदस्यको सुझावको आधारमा अस्वीकृत गरेको जनाएका छन् ।

सभामुख शाहीले प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले छलफल ल्याउन नचाहेको नभएर केही बुँदा पुनर्लेखनको आवश्यकता रहेको संसदलाई जानकारी गराएका थिए ।

तर कांग्रेस नेता शाहीले महामारी सामान्य नहुँदासम्म प्रदेशसभाका पदाधिकारी, सदस्य र सरकारका पदाधिकारीले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरी महामारी नियन्त्रण गर्न गरिएको संकल्प प्रस्ताव पनि अस्वीकृत गरेको र अहिले पनि सार्वजनिक महत्व प्रस्ताव अस्वीकृत भएका कारणले संसद चल्न नदिने सभामुखलाई जानकारी गराए ।

कांग्रेसका प्रमुख सचेतक हिमबहादुर शाहीले संकल्प प्रस्ताव पुनर्लेखनको व्यवस्था प्रदेशसभा नियमावलीमा नै नभएको बताए । उनले कोरोनाका कारण जनता थिलोथिलो परेको बेला सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु अपराध हो ? भन्दै प्रश्न समेत गरे ।

सभामुख शाहीको पटकपटको आग्रहपछि पनि प्रतिपक्ष कांग्रेसले सदन अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक शनिबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment