Comments Add Comment

सुत्केरीमा कोरोना देखिएपछि गुल्मीका ३ गाउँ सिल

फाइल तस्वीर

७ असार, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका वडा नं. ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो।

गुल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबारै सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरूलाई पनि प्रवेश गर्न नदिन आह्वान गरेका छन् ।

ती महिलालाई आरडीटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रेफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

उनका श्रीमान् भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वारेन्टिनमा बसेपछि जेठ २७ गते आरडीटी नेगेटिभ आएकाले उनलाई घर पठाइएको थियो । त्यसको ११ दिनपछि उनकी श्रीमतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । अब कन्ट्याक्ट ट्रेसिङका आधारमा परिवारका अन्य सदस्यहरूको पनि कोरोना परीक्षण गरिने अर्यालले बताए ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिबार मात्रै गुल्मीको रेसुङ्गा नगरपालिकामा १८ जना, गुल्मी दरबार गाउँपालिकामा एक जना र छत्रकोट गाउँपालिकामा एक जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गुल्मी जिल्लामा हाल कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट एक हजार २६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा चार सय २९ जनाको रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment